शिक्षा

क्रिसमसको मुखमा विद्यालयलाई महानगरको परिपत्र: अतिरिक्त पोसाक खरिद गराए कारबाही गर्छौं

काठमाडौं महानगरपालिका शिक्षा विभागले चाडपर्वको बहानामा अभिभावकलाई अतिरिक्त भार हुने गरी विद्यार्थीलाई पोसाक खरिद गर्न बाध्य बनाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ। क्रिसमसको पूर्व सन्ध्यामा महानगर शिक्षा विभागले  पर्वका नाममा अतिरिक्त पोसाक खरिद गर्न बाध्य नपार्न आग्रह गरेको हो।

विभिन्न विद्यालयका अभिभावकहरूबाट गुनासो आएको भन्दै महानगर शिक्षा विभागकाका अधिकृत मोती भट्टराई त्यस्तो पाइयो भने विद्यालयहरूलाई कारबाही गर्ने बताएका हुन्। ‘निजी कन्दै गरेको क्रिसमसको अवसर पारेर निजी विद्यालयहरूले अभिभावकहरूलाई अतिरिक्त पोसाक खरिद गर्न बाध्य पारेको गुनासा आयो,’ अधिकृत भट्टराईले भने, ‘हाल आर्थिक मन्दिरमा अभिभावकहरू आफै मारमा छन्। विद्यालय भित्र पनि पोसाक खरिद नगर्ने र पोसाक खरिद गर्ने बालबालिकाबिच पनि विभेद हुने गरेको समेत गुनासा आए। यो त शिक्षाको आडामा विद्यालयभित्र विकृति पो फैलिँदै गएको देखियो।’ उनका अनुसार त्यसलाई रोक्न महानगरले सबै विद्यालयहरूलाई त्यसो नगर्न नगराउन परिपत्र नै जारी गरेको छ । महानगरपालिका शिक्षा ऐन ०७५संशोधनसहित र अन्य प्रचलित कानुन बमोजिम दण्ड र सजाय हुन्छ।

हाल काठमाडौं महानगरपालिकाभित्र ८७ सार्वजनिक र ५ सय ४ निजी विद्यालय सञ्चालित छन्। यति मात्र होइन महानगरभित्रका विद्यालयहरूले अभिभावकहरूलाई अनावश्यक रूपमा खेलकुद ट्याक, दिनै पिच्चे हाउस ड्रेस र पाठ्यक्रम विकास केन्द्रले ताकेको भन्दा अतिरिक्त पुस्तक खरिद गराएमा समेत कारबाही गर्ने सूचना विद्यालयलाई पठाइसकेको उनले जनाए। ‘अब विद्यालयहरूमा महानगरले अनुगमन बढाएको छ। निर्देशन नमान्ने विद्यालयहरूलाई स्पष्टीकरण सोधिने छ,’ उनले भने ‘अटेर गर्ने विद्यालयहरूको हकमा महानगरीय प्रहरी खटाए विद्यालय बन्द सम्म गराइने गरी कारबाही गरिने महानगरको निर्णय भएको हो।’

निजी तथा अवासिय विद्यालय अर्गनाइजेशन प्यावसनका काठमाडौं जिल्ला अध्यक्ष प्रेम राईका अनुसार प्यावसनले कुनै पनि विद्यालयलाई अतिरिक्त पोसाक वा पाठ्यपुस्तक खरिद गराउनै पर्ने बाध्य पार्ने खालको कुनै निर्णय कहिल्यै नगरेको र नगर्ने बताए।  ‘विद्यालयहरूले धर्म संस्कृतिबारे बालबालिकालाई व्यवहारिक ज्ञान दिने विषय सकारात्मक हो तर अभिभावकलाई आर्थिक भार हुने गरी अतिरिक्त पोसाक खरिद गराउनु हुँदैन,’ अध्यक्ष राईले भने ‘महानगरपालिकाले अनुगमन गरी नियमन गर्नु ठिक हो।’ राईका अनुसार विभिन्न धर्म, संस्कृति चाडपर्वबारे विद्यालयले पनि व्यवहारिक ज्ञान दिने काम गर्छ। तर अभिभावकमाथि आर्थिक भार पर्ने गरी कुनै काम गर्नु हुँदैन।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले महानगरको निर्णय सह्रानीय रहेको बताए। उनले विद्यालयहरूले धर्म संस्कृति चिनाउने नाममा अतिरिक्त पोसाक किनाउने व्यापार गरी विकृति फैलाएको उनको ठहर छ। ‘काठमाडौं महानगरले आँट गरेर विकृति रोक्न सक्नु प्रशंसनीय कार्य हो,’अध्यक्ष भण्डारीले नागरिकसँग भने ‘अचेल विद्यालयहरूले शिक्षाको आडमा मौलिक संस्कृति मास्ने र फरक पोसाक खरिद गर्न बाध्य पारिरहेका छन्। यो शिक्षामा देखिएको विकृति नै हो,’ उनले थपे ‘काठमाडौं मात्र होइन देशभरिका सबै विद्यालयमा यस्ता विकृति बन्द गर्न सरकारले निर्देशनै जारी गर्नु पर्छ । विद्यालयले धर्म संस्कृति चिनाउन पाइन्छ र त्यसको बहानामा किनाउने व्यापार गर्न छुट हुँदैन।’

प्रकाशित: ६ पुस २०८० ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App