शिक्षा

छात्रालाई दुर्व्यवहार गर्नेमाथि कारबाही माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई) लाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

निजी शैक्षिक संस्थामा डिआई (डिसिप्लिन इन्चार्ज) नामका गुन्डा राखी विद्यार्थी कुट्ने, दुर्व्यवहार गर्ने, छात्रामाथि लैंगिक हिंसा गर्नेलगायत क्रियाकलाप भइरहेको भन्दै अखिल क्रान्तिकारीले बुधबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो।

अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक मिमबहादुर ऐडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निजी शैक्षिक संस्थाका सञ्चालकले आफ्ना कलेजहरुलाई विद्यार्थी तथा अभिभावक लुट्न सजिलो होस् भनेर जेल र ब्यारेक बनाएका छन्। विद्यार्थीलाई तह लगाउन गेटमै बाउन्सरजस्ता गुन्डाहरूलाई ‘डिआई’ नाममा राखेका छन्। ती ‘डिआई’ ले विद्यार्थी कुट्ने, दुर्व्यवहार गर्ने, छात्रामाथि लैंगिक हिंसासमेत गर्ने गरेका छन्।’

कोटेश्वरस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका डिआई कृष्ण न्यौपानेले छात्रालाई दुर्व्यवहार गरेको र सो घटनाविरुद्ध विद्यार्थीले आवाज उठाउँदा कलेज प्रशासनले प्रहरी लगाएर दमन गरेको विज्ञप्तिमा उल्लेख छ। कलेजका साइन्स डिपार्टका संयोजकले समेत विद्यार्थीलाई धम्की दिएको संयोजक ऐडीले बताए।

क्रान्तिकारी विद्यार्थी संगठनले कलेजले विद्यार्थीमाथि गरेको दमनप्रति निन्दा र भत्र्सना गरेको छ। साथै  डिआई न्यौपाने र साइन्स डिपार्टका संयोजकलाई कडाभन्दा कडा कारबाही गरी घाइते विद्यार्थीलाई उपचारसहित क्षतिपूर्ति व्यवस्था गर्न र विद्यार्थीले उठाएका जायज मागलाई पूरा गर्न माग गरेको छ।

प्रकाशित: ६ पुस २०८० ०६:५४ शुक्रबार

अखिल क्रान्तिकारी डिसिप्लिन इन्चार्ज छात्रामाथि दुर्व्यवहार कारबाही गर्न सरकारसँग माग