शिक्षा

कक्षा १२ को सिकाई कमजोर, अंग्रेजीमा विद्यार्थी धेरै फेल

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विगत झैँ यस वर्ष पनि पूरक परीक्षाको नतिजा ७५ प्रतिशत रहयो। जबकि नतिजा ० प्रतिशत माथि आउनु पर्ने बोर्डकै भनाइ छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कक्षा १२ को नतिजा कमजोर हुनुमा कक्षा कोठामा हुने शिक्षण सिकाई नै कमजोर देखिएको छ।

वास्तवमै कक्षा १२ को नियमित परीक्षामै नन ग्रेडको अवस्था नआउनु पर्नेमा यस पटक धेरै विद्यार्थी अर्थात नियमित परीक्षामा नन ग्रेडका विद्यार्थी धेरै रहयो। पूरक परीक्षा यस पटक कुल एक लाख १७ हजार ८ सय २ ले परीक्षा दिएकामध्ये ८८ हजार ९ सय ४७ पास भएका छन्। परीक्षामा सहभागिता जनाएकामध्ये सबै भन्दा बढी अंग्रेजी अर्थात ५४ हजार ६ सय ७२ ले परीक्षा दिएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ १७ गते प्रकाशित गरेको कक्षा १२ को नियमित नतिजामा ५२ प्रतिशत विद्यार्थी असफल भए। अर्थात परीक्षामा सहभागिता जनाएकामध्ये एक लाख ८८ हजार ४ सय १० विद्यार्थी स्नातक तहमा प्रवेश पाउने अवस्था थिएन।

प्रकाशित नतिजामा ग्रेडिङ भन्दा नन ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको संख्या बढी थियो। यस पटक बोर्डले ग्रेडिङ प्रणाली ०७ अनुसार नतिजा प्रकाशित गरेको थियो। यसले सैद्धान्तिक विषयमा ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडङमा वर्गीकृत गरेको थियो। बोर्डका कक्षा १२ को उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार यस पटक सञ्चालित परीक्षामा नियमित तर्फ कुल ३ लाख ६३ हजार ८ सयले परीक्षा दिएका थिए। जसमध्ये ३५ प्रतिशत र त्यो भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुको सख्या एक लाख ७५ हजार ३ सय ९० रहेको थियो। अर्थात यो वर्षको नतिजामा कुल परीक्षार्थीमध्ये ४.१० प्रतिशत मात्र कुनै न कुनै ग्रेडिङ प्राप्त गर्न सफल भएका थिए भने ५१.९० प्रतिशत अर्थात एक लाख ८८ हजार ४ सय १० विद्यार्थीहरू नन ग्रेडिङमा परेका छन्।

बोर्डले पहिलो पटक नयाँ ग्रेडिङ प्रणाली अनुसार ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडिङ समूहमा राखेर नतिजा प्रकाशित गरेको अध्यक्ष शर्माले जनाए। ‘वास्तवमा ग्रेड वृद्धि परीक्षा नहुँदै सुरुमै बढी विद्यार्थी पास हुनु पर्थ्यो। विद्यार्थीको एक वर्ष खेर नजाने अवस्था हुनुपर्छ,’ अध्यक्ष शर्माले पूरक नतिजा सार्वजनिक लगत्तै नागरिकसँग भने, ‘विभिन्न विषयमा विद्यार्थीले ग्रेड प्राप्त गर्न नसकेकै कारण ग्रेड वृद्धि अर्थात पूरक परीक्षा गर्नुपरेको हो।’ उनले सुझाए ‘विद्यालय र मावि तहका शिक्षकले कक्षाकोठामा सिकाई उपलब्धिको स्तर वृद्धि गर्न धेरै मिहिनेत गर्नु पर्छ। यसको लागि केन्द्र सरकार, स्थानीय पालिका तथा विद्यालयहरूले शिक्षण सिकाइको सकरात्मक वातावरण बनाउनु पर्छ ’

अनुदानको दुई शिक्षकको भरमा कक्षा १२ को पठनपाठन गुणस्तरीय हुँदैन

अध्यक्ष शर्माका अनुसार सरकारले १२ कक्षासम्मको तहलाई विद्यालय संरचना बनायो। तर शिक्षक दरबन्दी भने अझै पनि प्राथमिक – कक्षा १–५ , निम्न माध्यमिक – कक्षा ६–८ र माध्यमिक –कक्षा ९–१०) सम्म मात्र कायम गरेको छ। कक्षा ११ र १२ मा हालसम्म कुनै दरबन्दी नै छैन। दुई वटा शिक्षक कक्षा ११ र १२मा अनुदानमा छन्। यसले कसरी हुन्छ कक्षा १२ को गुणस्तर कायम? यस कारण पनि कक्षा १२ को सिकाई उपलब्धि कमजोर भएको उनको तर्क छ।

‘सरकारले कक्षा १२ सम्म विद्यालय संरचना बनायो तर कक्षा १० पछिको सिकाइको निरन्तरता दिन सकेन,’ अध्यक्ष शर्माले औँल्याए ‘सरकारले पनि कक्षा ११ र १२लाई अझै प्लस टु र विद्यालयले पनि प्लस टुकै व्यवहारमा सिकाइ गरिरहेको छ। दुई शिक्षक अनुदानको भरमा कक्षा ११ र १२ को विद्यार्थीको शिक्षण सिकाई राम्रो हुँदैन।’ उनले थपे ‘ग्रेडिङ हुँदैमा सबै पास हुने गलत सोचाइबाट शिक्षक र विद्यार्थी दुबै मुक्त हुनु पर्छ।’

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार नतिजामा सुधार ल्याउन शिक्षक व्यवस्थापन नै महत्त्वपूर्ण हो। विषयगत शिक्षाको अभावमा विद्यार्थीले वर्ष दिन बिताउनु दुःखको विषय बनेको उनको ठहर छ। ‘पूरक परीक्षामा ५४ हजार भन्दा बढी विद्यार्थी अंग्रेजी विषयकै छन्,’ प्रवक्ता अर्यालले नतिजाबारे बताए ‘यसको अर्थ हामीसँग मावि तहमा अझै पनि अंग्रेजी शिक्षकको अभावमै वर्ष बिताउनु पर्छ।’ पूरक पक्षिामा दोस्रोमा एकाउन्ट विषयका विद्यार्थी सहभागिता थिए। अर्थात २२ हजार विद्यार्थी एकाउन्टमा सहभागिता जनाएका थिए।

विषयगत हिसाबले सबै भन्दा बढी अंग्रेजीमा असफल

उपनियन्त्रक कृष्ण घिमिरेले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस पटक सबै भन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा असफल भएका छन्। अंग्रेजीमा कुल सहभागी विद्यार्थीमध्ये एक लाख एक हजार एक सय १३ विद्यार्थी नट ग्रेडिङ अर्थात असफल रहेका थिए। ए प्लस ल्याउने एक हजार ५ सय ६७ मात्र थिए।

नेपालीमा ३२ हजार ४ सय ९५ असफल थिए। भने ए प्लस ल्याउने एक हजार ६ सय २४ मात्र थिए। यी दुबै अनिवार्य विषय हुन्। भने ऐच्छिक विषयहरूमा सबै भन्दा बढी विद्यार्थी भएको विषय एकाउन्ट, इकोनोमी, भौतिक शास्त्र गणित र समाजक अध्ययन हुन्।

यसै गरी १२को नियमित परीक्षामा एकाउन्टमा कुल एक लाख ७१ हजार परीक्षार्थीमध्ये ६६ हजार एक सय ७१ नट ग्रेडिङमा थिए। ए प्लस ल्याउने २ हजार ६ सय १२ थिए। सामाजिक अध्ययनमा तीन लाख १२ हजार विद्यार्थी सहभागिता जनाएकामध्ये ५४ हजार एक सय १३ असफल रहे। ए प्लस ल्याउने एक सय ९ मात्र थिए। गणितमा कुल ५२ हजारले परीक्षा दिएकोमध्ये ८ हजार ८२ असफल थिए।

प्रकाशित: २३ कार्तिक २०८० ०९:०८ बिहीबार

राष्ट्रिय परीक्षा बोर्ड