शिक्षा

‘खस’ भाषा पढ्दै जुम्ली बालबालिका

जुम्ला खस भाषाको उद्गम थलोका रूपले चिनिन्छ। खस भाषाको उत्पत्ति जुम्लाको सिंजाबाट सुरु भएको जानकारहरु बताउँछन्। तर,अहिलेसम्म आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम उतिकै बढिरहेको देखिन्छ।

यही कुरालाई ख्याल गरेर जुम्लाका ३ वटा स्थानीय तहले विद्यालयमा खस भाषाको पाठ्यक्रम लागू गरेका छन्। जुम्लाको चन्दनाथ नगरपालिका, तातोपानी गाउँपालिका र सिँजा गाउँपालिकाले खस भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरी ‘हाम्मो स्थानीय विषय’ पढाउन थालेका हुन्।

यसले खस भाषाको संरक्षण र प्रचारप्रसारमा टेवा पुग्ने स्थानीयको विश्वास छ। तातोपानी गाउँपालिका–६ का ६ कक्षामा अध्ययनरत चेतन कामीलाई खस भाषा कण्ठै छ। उनी खस भाषामै लेख्न अनि संवाद गर्न सक्छन्। छोराले खस भाषामा पढेको सुन्दा उनका अभिभावक पनि दंग छन्।

‘हाम्रो भाषा हामीले नै बिर्सँदै थियौँ, अब पालिकाले सबै विद्यालयमा खस भाषा पढाउने व्यवस्था गरेपछि खुसी लागेको छ।’, चेतनका बुवा शिव सुनारले भने।

वसन्त आधारभूत विद्यालय रावतबाडामा अध्ययनरत चेतन शिक्षकहरुसँग पनि खस भाषामै संवाद गर्छन्। ‘सर पनि हाम्मै भाषामा बोल्दाछन्। पहिला सरम लाग्दोछियो, अब त खुसी लाग्छ।’ उनले भने।

सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया उषा कामी विद्यालय जान थालेको पहिलो वर्षमै खस भाषामा अध्ययन गर्न पाउँदा मख्ख छिन्। घरमा बोल्ने भाषा शैली पुस्तकमा भेटाउँदा उनलाई सहज पनि भएको छ। ‘किताबमा हाम्मै गाउँ ठाउँका चित्र छन्। सजिलो पनि छ।’ ,उनले भनिन्।

जुम्लाका ३ स्थानीयतहहरुले खस भाषाको पाठ्यक्रम लागू गरेसँगै चेतन र उषाजस्ता अन्य बालबालिकाहरु विद्यालय जान थालेको पहिलो वर्षमै आफ्नो मातृ भाषासँग घुलमिल हुने थालेका छन्। हिजो केन्द्रबाट आउने पाठ्यक्रममा मात्र पढ्न बाध्य बालबालिकाहरु अहिले आफ्नै मातृभाषामा पढ्न पाउँदा उत्साहित पनि छन्।

उनीहरुले आफ्नो घर छेउछाउमा रहेका धारा, पधेंरा, मठमन्दिर, पुरातात्त्विक सम्पदाहरुका बारेमा अध्ययन गर्ने मौका पाएका छन्।

जुम्लाको तातोपानी गाउँपालिकाले खस भाषाको संरक्षण गर्न र आफ्नो क्षेत्रभित्रको कला, संस्कृतिको प्रचारप्रसारका लागि ‘हाम्मो स्थानीय’ विषय नामक पाठ्यपुस्तक प्रकाशित गरिएको बतायो। गाउँपालिकाभित्रका ३० विद्यालयमा अध्ययनरत २ हजार ६ सय १८ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक पढिरहेका गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले बताउँछन्।

उनका अनुसार २०७६ सालमा स्थानीय पाठ्यक्रम बनेर पुस्तक प्रकाशन भएपछि खस भाषाको पठनपाठन थालिएको हो। पाठ्यपुस्तक बन्नुअघि सबै शिक्षकहरुलाई तालिम दिइएको उनले जानकारी दिए। पुस्तकमा तातोपानीमा रहेका धार्मिकस्थलहरु, भूगोल, व्यक्ति–व्यक्तित्व, जडिबुटी, कृषिजन्य रैथाने बालीको परिचयसमेत समेटिएका छन्।

‘तातोपानी गाउँपालिकामा अहिले कक्षा ३ सम्म खस भाषाको पाठ्यपुस्तक बनेको छ। चालू शैक्षिकसत्रदेखि लागू गर्ने गरी ४ र ५ कक्षाको पुस्तक प्रकाशित भइसकेको छ। कक्षा ३ सम्मको पुस्तकमा पालिकाभित्र रहेका विषयबस्तुहरु पढाइन्छ। कक्षा ४ र ५ मा साविकको कर्णाली अञ्चलबारे समावेश गरिएको छ।’ उनले भने।

तातोपानी गाउँपालिकाले ४ लाख रुपैयाँ लगानीमा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेको हो। हरेक ३ वर्षमा नयाँ पाठ्यपुस्तक छपाइने गाउँपालिकाले जनाएको छ। कक्षा ४ र ५ को पाठ्यपुस्तक छाप्न साढे ४ लाख रुपैयाँ छुट्याइएको शिक्षा शाखा प्रमुख शाहीले बताए।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बालबालिकाहरुमा सानैदेखि कला–संस्कृतिको रक्षा, पर्यटन क्षेत्रको प्रचार–प्रसार, कृषिको महत्त्व बोध गराउन खस भाषाको स्थानीय पाठ्यपुस्तक बहु उपयोगी भएको बताए।

प्रकाशित: ६ आश्विन २०८० १०:०८ शनिबार