शिक्षा

शिक्षक आन्दोलनले उदयपुरको पठनपाठन ठप्प,झन्डै ६८ हजार विद्यार्थी प्रभावित

शिक्षक आन्दोलनका कारण बन्द भएको सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित लक्ष्मीपुर उमावि। तस्विरः महेश्वर

सरकारले प्रतिनिधिसभामा पेश गरेको प्रस्तावित ‘शिक्षा विधेयक २०८०’मा समेटिएका कतिपय दफाप्रति गम्भीर असहमति जनाउँदै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरेर शिक्षकहरू सङ्घर्षमा उत्रिएपछि उदयपुरको पठनपाठन ठप्प भएको छ।

शिक्षक महासंघको आव्हानमा जारी ३ दिनयताको आन्दोलनले निकास नपाउँदा जिल्लाका ४ सय ४९ विद्यालयका झन्डै ६८ हजार बालबालिका पठनपाठनबाट वञ्चित हुन पुगेका हुन्।  

बिभिन्न १७ बुँदे मागसहित देशभरका शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा भाग लिन काठमाडौ गएकाले पठनपाठन ठप्प भएको हो। अभिभावकहरूका अनुसार शिक्षक कर्मचारी आन्दोलनमा सरिक हुन गएपछि सबै सरकारी सामुदायिक विद्यालयमा ताला लागेको छ।

देशव्यापी विद्यालय बन्द भएसँगै गाउँदेखि सहरसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका स्कुल जान पाएका छैनन्।शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका अनुसार जिल्लामा सरकारी सामुदायिक तथा निजी विद्यालयमा गरी ९५ हजार ६  सय ४२ बालबालिका अध्ययनरत छन्। जसमध्ये शिशु कक्षा (बाल विकास केन्द्र)मा १४ हजार १६ बालबालिका पढ्छन् भने १–५ कक्षा प्राथमिक तहमा ४० हजार ३ सय ६०, कक्षा ६–८ मा २२ हजार ८ सय ९७ अध्ययनरत छन्। त्यस्तै ९–१० माध्यमिक तहमा १२ हजार ८ सय ६४ र माविकै ११–१२ कक्षा पढ्ने विद्यार्थीको संख्या ५ हजार ५ सय ५ जना रहेको समन्वय इकाईका अधिकृत अर्जुन कार्कीले बताए। कुल सङ्ख्यामध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालकालकाको संख्या ६७ हजार ९ सय ३२ जना रहेको छ।

जिल्लामा कक्षा १–५ साबिक प्राथमिक तहका आधारभूत विद्यालय २ सय ३१ वटा रहेका छन्। त्यस्तै आधारभूततकै कक्षा ६–८ सम्म पढाई हुने निम्न माध्यमिक विद्यालय १ सय ३ वटा, कक्षा ९–१० सम्म पठनपाठन हुने माध्यमिक विद्यालय ६९ वटा छन् भने ११–१२ सम्म पढाई हुने साबिक उच्च मावि तह ४६ वटा रहेका छन्।

इकाईका कर्मचारी ज्ञानेन्द्र कार्कीका अनुसार ४ नगरपालिका र ४ गाउँपालिका रहेको उदयपुरमा २ हजार १ सय ४२ शिक्षक कार्यरत छन्। जसमा प्राथमिक तहमा १ हजार ३ सय ५९, निमाविमा ४ सय २४, माविमा २ सय ५७ र उच्च माविमा ८४ शिक्षक कार्यरत रहेको कार्कीले बताए। यो सङ्ख्याभित्र सबै तहमा कार्यरत राहत तथा उमावि (११–१२)मा अनुदानतर्फ दरबन्दीमा कार्यरत ९ सय २ शिक्षक पनि समेटिएका छन्। स्थानीय तहबाट करार, निजी, बाल विकासमा कार्यरत सहजकर्ता तथा लेखापाल र कार्यालय सहयोगीजस्ता विद्यालय कर्मचारीको गणना भने यसमा गरिएको छैन।

लगातार ३ दिनदेखि विद्यालय बन्द भइरहे पनि आन्दोलरतपक्ष र सरकारबिच कुनै सहमति भईरहेको छैन। वार्ताद्वारा सहमति गरी निकास निकालेर विद्यालय सुचारु गर्नुपर्ने अभिभावक र विद्यार्थीहरूले माग गर्न थालेका छन्। स्थानीय सरकारहरूले पनि वार्ताद्वारा आन्दोलनकारीको माग तत्काल सम्बोधन गरी विद्यालय सुचारु गरी बालबालिकाको पढ्ने अधिकार सुरक्षित गर्न माग गरेका छन्।  

उदयपुरको रौतामाई गाउँपालिकाकाले बुधवार नै एक विज्ञप्ति प्रकाशित गरी तत्काल वार्ताद्वारा निकास निकालेर विद्यालय सुचारु गर्न माग गरेको छ। अध्यक्ष वीरेन्द्र मगर र उपाध्यक्ष भूपेन्द्र थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकहरूको उचित मागको संवोधन गर्ने गरी वार्ता गरी सहमति निकालेर बालबालिकालाई विद्यालय पढ्ने वातावरण बनाउन माग गरिएको छ। त्यस्तै सदरमुकाम त्रियुगा नगरपालिकाले पनि शुक्रवार विज्ञप्ति प्रकाशित गरी आन्दोलनको व्यवस्थापन गरी विद्यालय सुचारु गर्न माग गरेको छ। नगरप्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईद्वारा जारी विज्ञप्तिमा सरकारले तत्काल वार्तामा बोलाएर आन्दोलनको निकास निकाली विद्यालयहरू सुचारु गर्न माग गरिएको छ।

 

 

 

प्रकाशित: ५ आश्विन २०८० ११:४५ शुक्रबार