शिक्षा

परम्परागत सीप र पढाइ सँगसँगै

फाइल तस्वीर

तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीय स्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ।

दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ। विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यवादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाको डोरी बाट्ने लगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो।

झन्डै एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावक समेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले बताए।

घोकन्ते शिक्षाको तुलनामा व्यावहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लागेको उनले बताए।

कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई आफ्नो रुचिको विषय क्षेत्र छुट्टाएर सिक्न लगाइएको प्रधानाध्यापक प्रेमबहादुर दरैले बताए। विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।

स्थानीय स्तरका सीप विस्थापित बन्दै गएको अवस्थामा यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आफ्ना छोराछोरीलाई अभिभावकले सिकाउनुपर्ने दायित्व भए पनि त्यो हुन नसक्दा विद्यालयले पहलकदमी थालेको हो।

स्थानीय स्तरका सीप लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताए। शिक्षक पुरन गुरुङले विद्यार्थीलाई प्रशिक्षण दिंदै आएका छन्।  

प्रकाशित: २१ भाद्र २०८० ०५:०८ बिहीबार

तनहुँको व्यास नगरपालिका परम्परागत सीप र पढाइ सँगसँगै