शिक्षा

पढ्दै कमाउँदै कार्यक्रमबाट कमाउँदै विद्यार्थी

फाइल तस्वीर

विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौं’। त्यही ज्ञानलाई मूर्त रूप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरू लागिपरेका छन्।

विद्यालयले तीन वर्षअघि समयको माग र अभिभावककै चाहना अनुसार कृषि विषय पढाइको थालनी गर्‍यो। त्यही कृषि विषयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमसँग विद्यालयले जोड्ने काम गर्‍यो।

बिहानी शत्रको सैद्धान्तिक कक्षामा विद्यार्थीहरू एकाग्र भएर किताबमा भएका कुराहरूलाई कापीका पानामा भरिरहेका हुन्छन्। विद्यालयको त्यही सैद्धान्तिक ज्ञानलाई लिएर विद्यार्थी निकै आत्मविश्वासका साथ अभ्यासका लागि खेतबारीमा पुग्छन्।

घोराही उपमहानगरपालिका-१० मा रहेको सिद्धरत्ननाथ मावि नारायणपुरका ६५ विद्यार्थी बिहान कक्षाकोठामा भेटिन्छन् भने दिनभर खेतबारीमा भेटिन्छन्। बिहान पढेको कुरा व्यवहारमा उतार्न उनीहरू दिउँसो खेतबारीमा भेटिने गरेका हुन्। विद्यार्थीहरूले कक्षामा सैद्धान्तिक ज्ञान र बारीमा सीप मात्रै सिकेका छैनन्, सीपलाई श्रम र उत्पादनसँग जोडेर आम्दानी पनि गर्ने गरेका छन्।

विद्यालयको हातादेखि दुई किलोमिटर पर रहेको विद्यालयको आफ्नै चार बिगाहा जग्गा विद्यार्थीलाई पर्खिरहेको हुन्छ। विद्यालयको अटो रिक्सा चढेर विद्यार्थीहरु खेतमा पुग्छन् र सुरु हुन्छ प्रयोगात्मक अभ्यास। कामको बाँडफाँड गर्दै उनीहरू कोही ससाना बिरुवाको स्याहारसुसारमा लाग्छन्, कोही फुल्दै गरेको सिमीमा डोरी लगाउन थाल्छन् त कोही तयारी अवस्थाको बोडी टिप्न थाल्छन्। विद्यार्थीहरूका लागि खेतबारीमा आवश्यक पर्ने बीउ, मल, औजार उपकरण सबैको व्यवस्था विद्यालयले नै गरेको छ।

तरकारी खेतीका लागि उपलब्ध गराएको स्थानमा तरकारी खेती, बिरुवा रोप्ने, गोडमेल गर्नेदेखि तयार भएका तरकारी टिप्न व्यस्त हुने गरेको विद्यार्थी रेणु डिसीले बताइन्। विद्यालयमा पढेका कुरा खेतबारीमै व्यावहारिक रूपमा सिक्दै आम्दानी गर्न थालेपछि विद्यार्थीहरू उत्साही भएको अर्का विद्यार्थी सविना बुढा क्षेत्रीको भनाइ छ।

विद्यालयमा पढाइसँगै खेतबारीमा काम गरेर आम्दानी गर्न थालेपछि उनीहरू बेमौसमी तरकारी फलाउने काममा पनि खटिएका छन्। मौसम अनुसार भिन्डी, बोडी, खुर्सानी, काउली, काक्रासँगै च्याउ लगायत अरू तरकारी उत्पादन गर्ने गरेको विद्यार्थी सम्झना पन्तले बताइन्।

उत्पादन भएको तरकारी बजारीकरणसँगै कृषि व्यवसायका लागि आवश्यक सामग्री जुटाउन विद्यालयले विद्यार्थीहरूका लागि अटोको व्यवस्था गरिदिएको छ। त्यही अटोका माध्यमबाट उत्पादन गरेको तरकारी बेच्ने गरेको विद्यार्थी रोमिङ चौधरीले बताए।

विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमले कृषि विषयका  विद्यार्थीलाई प्रयोगात्मक अभ्याससँगै आम्दानी गर्ने स्रोत बनेको कृषि प्रशिक्षक पर्याप्त चौधरीले बताए।

तरकारी खेती गरेबापत विद्यालयमा २०, विद्यार्थीले ५० र विद्यार्थीलाई सघाउने कर्मचारीले ३० प्रतिशत पाउने र सो रकम बैंक खातामा जम्मा हुने गरेको छ। उनीहरूले अहिलेसम्म दुई लाख ५० हजार रुपैयाँ बराबरको तरकारी बिक्री गरिसकेको जनाएका छन्।

प्रकाशित: ६ भाद्र २०८० १०:२५ बुधबार

तरकारी खेती विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौं