सरकारले विद्यालयीय शिक्षण सिकाइ प्रक्रियामा ग्रेडिङ प्रणालीबाट मूल्यांकन सुरु गर्न निर्देशन दिएको ८ वर्ष भयो तर अझै पनि शिक्षकमै सोे मूल्यांकन प्रक्रियाप्रति अन्योल देखिएको छ। अधिकांश विद्यालयका शिक्षकलाई विद्यार्थीको सिकाइ उपलब्धि मापनबारे तालिम नदिइएकाले पनि मूल्यांकन गर्न कठिनाइ हुने गरेको खुलेको छ।
म्याग्दी धौलागिरी गाउँपालिकास्थित हेम माध्यमिक विद्यालयकी शिक्षिका उमा कँडेलका अनुसार लेटर ग्रेडिङ मूल्यांकनको कार्यान्वयन नै विद्यालयमा कार्यरत शिक्षकले गर्ने हो तर धेरै शिक्षकले यसबारे राम्ररी ज्ञान वा तालिम नपाउँदा मूल्यांकनमा देखिने गरेको छ। उनले कार्यान्वयन भएका नयाँ पाठ्यक्रमअनुसार जाने हो भने पेपरमा लेखेर लेटर ग्रेडिङको मूल्यांकन गर्न नसकिने स्पष्ट पारिन्। ‘नयाँ पाठ्यक्रम कार्यान्वयन मात्र गरेर हुँदैन, यसको उम्दा मूल्यांकन आवश्यक मुख्य विषय हो,’ शिक्षिका कँडेलले भनिन्, ‘२५ नम्बरको आन्तरिक र ७५ नम्बरको बाह्य मूल्यांकनबारे शिक्षकलाई तालिम नै छैन।’
उनले थपिन्, ‘काठमाडौंका केही स्कुललाई हेरेर हँुदैन। उपत्यकाबाहिरका सरकारी विद्यालयका शिक्षकले तालिम नपाएकै कारण सिकाइ उपलब्धि स्तरीय हुन नसकेको हो ।’उनका अनुसार सरकारले पाठ्यक्रमको जटिलता चिर्ने गरी शिक्षकलाई तालिम दिनुपर्ने व्यवस्था गर्नुपर्छ। हाल पाठ्यक्रमले गणितबाहेक भाषाका विषयमा बोलाइ र सिकाइ, विज्ञानमा प्रयोगात्मक र अन्य विषयमा परियोजनात्मक कार्य तोकेको छ। ‘तर शिक्षकको बुझाइमा पुरानै तरिकाको प्राक्टिकल भन्ने छ, जुन गलत हो,’ उनले सुझाइन्, ‘प्राक्टिकल नयाँ पाठ्यक्रममा छैन। यस्ता जटिलता नयाँ पाठ्यक्रममा छन्। तालिम नयाँ पाठ्यक्रमअनुसार नभएसम्म शिक्षकको शिक्षण सिकाइ र विद्यार्थीको सिकाइ उपलब्धि स्तरीय हुँदैन।’
यसको गतिलो उदाहरण कोरोना कालमा शिक्षकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा गरेका त्रुटिहरूबाटै स्पष्ट हुन आएको थियो। कोरोना कालमा सरकारले कक्षा १० को मूल्यांकनको जिम्मेवारी स्कुललाई नै
दिएको थियो।
त्यस बखत धेरै स्कुलले आफ्ना नानीहरूलाई पूर्णांकभन्दा बढी नम्मरसमेत दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तो त्रुटि सामुदायिक र निजी दुवै प्रकृतिका विद्यालयबाट भएको थियो।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार सरकारले शिक्षक तालिमकै लागि वर्षेनि ७ करोड खर्च पनि गर्दै आएको छ। तर तालिमको प्रकृति पुरानै भएकाले पनि शिक्षकले मूल्यांकन गर्न नसकेको बौद्धस्थित जनकल्याण माविकी प्रअ कमला कुमारी राईको अनुभव छ।
यति मात्र होइन, सरकारले विद्यालय शिक्षामा सुधार ल्याउने उद्देश्यले २०७६ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्यायो तर शिक्षकलाई नयाँ पाठ्यक्रमअनुसार तामिल उपलब्ध गराउन नसकेकाले कक्षाकोठाको सिकाइ उपलब्धि प्रभावकारी हुन नसकेको प्रअ राईको ठहर छ। विद्यार्थीको सिकाइ उपलब्धि स्तरीय बनाउन पाठ्यक्रम र परीक्षामा जोडिनुपर्ने र सोही अनुसार नयाँ तरिकाले कक्षाकोठामा आधारित शिक्षक तालिमको व्यवस्था हुनुपर्ने उनको अनुभव छ। ‘२५ नम्बरको आन्तरिक र ७५ नम्बरको बाह्य मूल्यांकन गरिन्छ। आन्तरिक मूल्यांकन रुब्रिक विधिबाट गरिनुपर्छ,’ प्रअ राईले भनिन्, ‘तर हाम्रा शिक्षकलाई यो विधि नै थाहा छैन। अनि भएभरको नम्बर विद्यार्थीलाई खन्याइदिनुहुन्छ। अनि कसरी भयो स्तरीय मूल्यांकन ?’ उनले औंल्याइन्, ‘प्रयोगात्मक र परियोजनात्मक सिकाइ राम्रो हो तर हामीकहाँ यस्तो सम्बन्धित तालिम अभाव छ। ग्रेडिङअनुसारको मूल्यांकन विधि शिक्षकलाई थाहा छैन। हामीकहाँ विद्यार्थीको मूल्यांकन कसरी हुन्छ यसबारे बृहत् छलफल गरिनुपर्छ। पाठ्यक्रममा हेभी विषयवस्तु समेटिएको छ। शिक्षकले पाठ्यक्रम पनि राम्ररी बुझेका छैनन्।’
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाका शिक्षा विभाग प्रमुख चिरञ्जीवी पौडेलले शिक्षकले आन्तरिक मूल्यांकन गर्न नजान्नु नयाँ पाठ्यक्रमअनुसार तालिम अभाव भएको जिकिर गरे। ‘कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार विषयवस्तु समेटिएका छन् तर हाम्रा शिक्षकले पाठ्यक्रमबारे बुझेकै छैनन्,’प्रमुख पौडेलले यथार्थ सुनाए, ‘सेमिनार र तालिम केन्द्रमा दिएको विगतको तालिम अब काम गर्दैन। अब कक्षाकोठामै गएर पाठ्यक्रमको कन्टेन्ट र कन्टेस्टमा आधारित शिक्षकसँग सहकार्य गरी तालिम दिनुपर्ने आवश्यक भयो।’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार ग्रेडिङ प्रणाली कार्यान्वयन भएको ८ वर्षपछि पनि शिक्षकले मूल्यांकन गर्न जानेका छैनन् भन्न पाइँदैन। उनले नयाँ पाठ्यक्रमअनुसार प्रबोधीकरण नभएकाले पनि गाउँगाउँका स्कुलमा पाठ्यक्रमबारे समस्या आएको औंल्याए।
‘पाठ्यक्रम र परीक्षा एकअर्कासँग जोडिएकै हुन्छ। यसकारण शिक्षा मन्त्रालयले गाउँपालिका महासंघ र नगरपालिका महासंघसँग समवन्य गरेर प्रश्नपत्र निर्माणसम्बन्धी तालिम दिइने तयारी गरेको छ,’अध्यक्ष शर्माले भने, ‘पाठ्यक्रम, लेटर ग्रेडिङबारे आन्तरिक र बाह्य मूल्यांकनबारे तालिम दिनुपर्ने देखियो। तयारी भइरहेको छ। परीक्षाको नतिजा कक्षाकोठाको सिकाइसँग जोडिएको हुन्छ। यससँग शिक्षक जोडिएको हुन्छ। यसकारण पनि नयाँ पाठ्यक्रमअनुसार शिक्षक तालिम आवश्यक छ।’
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले विद्यार्थीको सिकाइ उपलब्धिको स्तरवृद्धि गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीमा सुधार गर्दै जानुपर्ने स्विकारे। उनले ७० प्रतिशत पुस्तक लेखाइ र पाठ्यक्रम निर्माणका कार्यमा शिक्षकहरू नै सहभागी रहेको बताउँदै केही मात्र विश्वविद्यालयका विषयविज्ञलाई सहभागिता गराएको स्पष्ट पारे। ‘पाठ्यपुस्तक छपाइ गर्न समस्या उत्पन्न हुने बखत मात्र रोस्टरबाहिरका विज्ञ राखिने गरिएको छ,’ महानिर्देशक अर्यालले भने, ‘पाठ्यक्रमले अब आन्तरिक मूल्यांकन कार्यविधि बनाएर अघि बढेको छ। कुन विषयमा कति नम्बर र कसरी आन्तरिक मूल्यांकन गर्ने तयारी पाठ्यक्रमको भइसकेको छ। प्रशिक्षकको तालिमको पाठ्यक्रमसमेत यस वर्ष तयार गरिएको छ। जिल्ला र स्कुलमा पठाउने सरकारी तयारी छ।’
प्रकाशित: २६ असार २०८० ०१:४७ मंगलबार