शिक्षा

निःशुल्क ट्युसन सेन्टरलाई महानगरको सहयोग

विराटनगर– १४ मा सञ्चालित निःशुल्क ट्युसन सेन्टरका विद्यार्थीलाई विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ। विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार ट्युसन सेन्टरलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेकी हुन्।

शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीका लागि निःशुल्क ट्युसन पढाउने व्यवस्था मिलाइएको छ। मण्डलले वडा नं ८ र १४ का विद्यार्थीलाई लक्षित गरेर सञ्चालन गरेको ट्युसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्। महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले धर्मप्रकाश मण्डलको नेतृत्वमा स्थानीय विद्यार्थीलाई निःशुल्क ट्युसन पढाइरहेको थाहा पाएपछि महानगरका तर्फबाट विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको बताइन्। महानगरका तर्फबाट शैक्षिक सामग्रीसँगै विपन्न विद्यार्थीका लागि चप्पलका साथै डस्बिनसमेत प्रदान गरिएको थियो।

सातजना विद्यार्थीबाट सुरु गरेको ट्युसन सेन्टरमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको अभियन्ता मण्डलले बताए। कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई ११ जना शिक्षकले निःशुल्क ट्युसन पढाइरहेको मण्डलले जानकारी दिए। गत वैशाख १७ देखि सञ्चालित सेन्टरमा दिनप्रतिदिन विद्यार्थीको संख्यासमेत बढ्दै छ। महानगरका १९ वटै वडामा निःशुल्क ट्युसन सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको अभियन्ता मण्डलले बताए।

प्रकाशित: ३० जेष्ठ २०८० ०२:२७ मंगलबार

निःशुल्क ट्युसन सेन्टरलाई महानगरको सहयोग