शिक्षा

अचाक्ली गर्मी बढेपछि उदयपुरका विद्यालयलाई बिदा

केही दिनयता बढेको प्रचण्ड गर्मी कम नभएपछि उदयपुरका विद्यालयहरुलाई केही दिन बिदा दिइएको छ। 

साता दिनयता अत्यधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने स्थिति सिर्जना भएको भन्दै जिल्ला सदरमुकाम त्रियुगालगायत ३ स्थानीयतहका विद्यालयलाई बिदा दिइएको हो।

अत्यधिक गर्मी बढेपछि बालबालिकाहरू कक्षा कोठामा बसेर पढ्नै नसक्ने अवस्था भएको भन्दै त्रियुगा नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय गरेको छ।

नगरपालिका शिक्षा शाखा अधिकृत शिवकुमारी राउतद्वारा जारी सूचनामा अत्यधिक गर्मीले बालबालिकालाई पठनपाठन गर्न र शिक्षक शिक्षिकालाई पढाउन कठिनाई भएको कुरालाई मध्येनजर राख्दै २ दिन गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ। आगामी साउन भदौमा दिइने गर्मी बिदासँग समायोजन गर्ने गरी अहिले बिदा दिने निर्णय गरेको राउतले जारी गरेको सूचनामा उल्लेख छ।

त्यसैगरी जिल्लाका चौदण्डीगढी र बेलका नगरपालिकाले पनि २ दिन गर्मी बिदा दिने सूचना जारी गरेका छन्। तर, ती २ स्थानीयतहमा भने निजी तथा आवासीय विद्यालय (संस्थागत) हरू मात्र बिदा दिइएको छ। चौदण्डीगढी नगर निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) ले केही दिनअघिदेखि चर्केको गर्मी मौसममा तत्काल सुधार आउने नदेखिएकाले २१ देखि २३ गतेसम्म २ दिन बिदा दिन निर्देशन दिएको जनाएको छ।

नगर समिति अध्यक्ष सुनिल प्रधानले शुक्रबार जारी गरेको सूचना अनुसार पछिको बिदासँग मिलान गर्ने गरी आइतबार र सोमबार बिदा दिन निजी तथा आवासीय विद्यालयलाई आग्रह गरेको उल्लेख छ।

बेलका नगर संस्थागत विद्यालय संघ रामपुरले पनि २ दिन बिदा दिन आग्रह गर्दै शुक्रबार सूचना जारी गरेको छ। संघका अध्यक्ष रविन कार्कीले जारी गरेको सूचनामा केही दिनयता अत्यधिक बढेको गर्मीले पठनपाठन गर्न गराउन नसक्ने भएकाले २ दिन विद्यालय बन्द गर्न अनुरोध गरिएको छ। जिल्लाका अन्य स्थानीयतहमा भने गर्मी बिदा कतै दिइएको छैन।

खास गरी भित्री मधेस र तराई भेगमा अत्यधिक गर्मी बढेर विद्यालयहरू प्रभावित भएका छन्। उदयपुरको त्रियुगा नगरपालिकाका १४, १५ र १६ वडाबाहेक बाँकी भूभाग तराई र भित्री मधेस क्षेत्र पर्छ भने चौदण्डीगढी र बेलका नगरका पनि पहाडी वडाबाहेकमा गर्मी अचाक्ली बढेको छ। तराई र बजार क्षेत्रमा अधिकतर विद्यालय भवनहरू जस्तापाताको छानो हुने भएकाले गर्मी छल्न बालबालिकालाई कठिनाई हुने गरेको छ।

सदरमुकाम गाईघाटमा गएको ४ दिनयता ३८ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । गुगल मौसमी एपले आउँदो शुक्रबारसम्म ४० देखि ४१ डिग्री तापक्रम हुने प्रक्षेपण गरेको छ। गुगलले ३ दिनदेखि १ नं. प्रदेशमा वर्षा हुने प्रक्षेपण गरेको भए पनि पानी भने परेको छैन, चर्कँदो घामले तापक्रम भने बढाउँदै लगेको छ।

जिल्लाका पहाडी स्थानीयतहहरु भने उच्च ठाउँका भएकाले गर्मीको प्रभावबाट मुक्त छन्। कटारी नगरपालिकाका केही वडाहरुबाहेक सबै पहाडी भेगमा छन् भने ताप्ली, रौतामाई, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिका पहाडमै भएकाले गर्मीको महसुस नहुने स्थानीय बताउँछन्। तर, बेँसी र नदी किनार नजिकका विद्यालयहरूमा भने तराईमा जत्तिकै गर्मी बढेको स्थानीयको भनाई छ।

प्रकाशित: २० जेष्ठ २०८० ०९:४९ शनिबार