शिक्षा

सिमकोट साक्षर घोषणा हुँदै

फाइल तस्वीर

हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्न थालिएको हो।

१८ वर्षभन्दा माथि र ६० वर्षभन्दा मुनिका सर्वसाधारण सामान्य पढ्न सक्ने, लेख्न सक्ने, मोबाइल चलाउन सक्ने र घडी हेर्न सक्ने भएपछि पालिकालाई साक्षर घोषणा गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जनाए। ‘९५ प्रतिशत सूचक पूरा भएको छ’, उनले भने, ‘सूचक पूरा भएपछि पालिकालाई साक्षर घोषणा गर्न लागेका हौं।’ पालिकालाई साक्षर घोषणाका लागि तीन वर्षभन्दा पहिलादेखि साक्षर कक्षा सञ्चालन गरिएको थियो। वडावडामा दैनिक साँझबिहान दुई घन्टा कक्षा सञ्चालनसँगै प्रौढ शिक्षालाई जोड दिइएको थियो।

साक्षर घोषणाको तयारीभन्दा पहिला पालिकाका सबै वडामा सूचकहरूको अवस्थाका विषयमा अनुगमन गरिएको थियो। ‘हामीले सबै वडामा गएर अनुगमन गरेका छौं’,निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले भने, ‘सूचक पूरा भएपछि साक्षर घोषणाको तयारी गरेका हौं।’ ९० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न सक्ने सरकारको नीति छ। अहिले पालिकाभित्र रहेका १८ वर्षभन्दा माथि र ६० वर्षमुनिका सबैले सामान्य लेख्न, पढ्न, मोबाइल चलाउन र घडी हेर्न सक्ने भएका सिमकोट गाउँपालिकाले जनाएको छ। यसभन्दा पहिला खार्पुनाथ गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ। सिमकोट दोस्रो साक्षर पालिका हुने छ।

यससँगै सिमकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न थालिएको छ। पालिकाका सबैलाई खोप उपलब्ध गराइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित गर्न थालिएको उनको भनाइ छ। ‘पालिकाका सबैजनाले खोप पाइसक्नु भयो’,उनी भन्छन्, ‘सबैलाई खोप दिइसकेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणाको अन्तिम तयारी गरेका हौं।’ यसअघि आर्थिक वर्ष २०७५÷७६ मा सिमकोटलाई पूर्ण खोप पालिका घोषणा गरिएको थियो।

प्रकाशित: २३ वैशाख २०८० ०१:३१ शनिबार

सिमकोट साक्षर घोषणा हुँदै पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा