शिक्षा

कक्षा १२ मा दुईभन्दा बढी विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ को परीक्षा प्रणालीलाई खुकुलो बनाउन लागेको छ। केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा संशोधनका लागि पठाएको लेटर ग्रेडिङ निर्देशिकाको ग्रेडवृद्धिसम्बन्धी प्रावधानमा अब कक्षा १२ मा दुईभन्दा बढी विषयमा फेल हुने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागिता जनाउने प्रस्ताव गरेको केन्द्रका निर्देशका डा. बाबुराम ढुंगानाले बताए।

हाल कक्षा १२ मा दुई विषयमा ननग्रेड (फेल) भएका विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षामा सहभागिता जनाउने व्यवस्थाले बर्सेनि धेरै विद्यार्थी उच्च शिक्षा हासिल गर्न अवसरबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न यस्तो व्यवस्था गर्न लागेको उनले बताए।

‘तीन घन्टे परीक्षाले विद्यार्थीलाई असफलको लेबल लगाउनु उचित नहुने विज्ञहरूको राय आयो,’ निर्देशक ढुंगानाले नागरिकसँग भने ‘दुईभन्दा बढी विषय फेल हुनेले फेरि सबै विषय विद्यालयमा अध्ययन गरी परीक्षा दिनुपर्ने व्यवस्थाले विद्यार्थीको समय नै खेर जाने देखियो।’

उनले थपे, ‘अगामी वैशाख २६ गते सुरु हुने परीक्षामा सहभागिता जनाउने परीक्षार्थीलाई नै लक्षित गरि मौका परीक्षामा सबै विषय फेल भए पनि सोही वर्ष सबै विषयमा सहभागिता गर्ने अवसर दिने गरी निर्देशिका संशोधन गराउने तयारी केन्द्रको हो।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार हाल कक्षा १२ मा दुईभन्दा बढी विषय फेल हुने विद्यार्थीको संख्या गत साल ५८ हजार छ।

बर्सेनि ६० हजारका हाराहारीमा विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन्छन्। यसले विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न पनि वञ्चित बनाउँदै आएको छ। मन्त्रालयले संसोधन गरेपछि धेरै विद्यार्थीले उच्च शिक्षा हासिल गर्न अवसर सोही वर्ष पाउने र उनीहरूको समय समेत खेर नजाने भएपछि विद्यार्थीमा अध्ययन गर्ने उत्साह समेत जाग्ने बोर्डको विश्वास छ।

‘यस्ता विद्यार्थीले सबै विषयमा तीन वर्षभित्र तोकिएको ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था संशोधन हुने निर्देशिकामा राखिएको छ,’ अध्यक्ष शर्माले भने, ‘पुराना व्यवस्थाले दुई विषयमा फेल भएका मात्र विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागिता हुने व्यवस्था थियो। जसका कारण बर्सेनि धेरै विद्यार्थी अर्को वर्षको सबै विषयको परीक्षामा सहभागिता जनाउनुपर्ने बाध्यताका कारण धेरै विद्यार्थीले पढाइ छाडेर अन्यत्र पलायन हुने अवस्थाको अन्त्य हुने विश्वास छ।’

उनले थपे ‘ नयाँ संशोधन गर्न लागिएको व्यवस्थाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार जतिसुकै विषयमा फेल भए पनि ग्रेडवृद्धि परीक्षामा सहभागिता जनाउने अवसर दिन्छ।’ नयाँ व्यवस्थाले कक्षा १२ पास हुन नसकेकै कारण बिचैमा हरेस खाई पढाइ छाड्ने विद्यार्थीको संख्यामा कमी आउने केन्द्रको विश्वास छ।

प्रकाशित: २२ वैशाख २०८० ०१:२८ शुक्रबार

पाठ्यक्रम विकास केन्द्र कक्षा १२ को परीक्षा प्रणाली