शिक्षा

सामुदायिक स्कुलमा भर्ना हुन चार गुना बढी आवेदन

सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ। तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ।  

विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउनुपर्ने हुन्छ। पोखरिया माध्यमिक विद्यालयले निश्चित कोटा तोकेर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशित गर्छ। तर तोकिएको कोटाभन्दा धेरै विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि विद्यालयले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्दै आएको छ। नयाँ शैक्षिक सत्रका लागि पनि पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी छनोटको प्रक्रिया सुरू गरेको छ। विद्यालयले शनिबार भर्नाका लागि विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा लियो। नयाँ शैक्षिक सत्रका लागि विद्यालयले कक्षा ६ देखि ९ सम्म ४ सयजना विद्यार्थी भर्ना गर्ने निर्णय गरेको छ। तर भर्ना हुनका लागि १ हजार ८ सय ५३ विद्यार्थीले आवेदन दिएको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार विद्यालयले तोकेको कोटाभन्दा ४ गुणा बढी विद्यार्थीले आवेदन भरेपछि प्रवेश परीक्षा लिनु परेको हो। ‘हामीले कक्षा ६ देखि ९ सम्मका लागि ४ सयजना विद्यार्थी भर्ना कोटा निर्धारण गरेका थियौं’, प्रधानाध्यापक भट्टराईले भने, ‘तर साँढे १८ सय विद्यार्थीको आवेदन परेकाले प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्न लागेका हौं।’  

 

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म हरेक कक्षामा १ सयजनाका दरले विद्यार्थी छनोट गरिने प्रधानाध्यापक भट्टराईले जानकारी दिए। प्रवेश परीक्षामा कक्षा ६ का लागि ४ सय ७, कक्षा ७ का लागि ४ सय ५५, कक्षा ८ का लागि ५ सय ५१ र कक्षा ९ का लागि ४ सय ४० जना सहभागी भएका छन्।  

यस विद्यालयमा माथिल्ला कक्षामा मात्रै हैन आधारभूत तहका कक्षामा पनि विद्यार्थीको आकर्षण उत्तिकै देखिएको छ। आधारभूत तहमासमेत प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गर्न लागिएको प्रधानानध्यापक भट्टराईले बताए। उनका अनुसार आधारभूत तहका लागि आइतबार प्रवेश परीक्षा लिने तयारी विद्यालयको छ। विद्यालयले कक्षा २ मा ५०, कक्षा ३ मा ५०, कक्षा ४ मा ५० र कक्षा ५ मा १ सय जना विद्यार्थी भर्ना कोटा तोकेको छ। तर कक्षा २ मा १ सय ५, कक्षा ३ मा १ सय ५०, कक्ष ४ मा १ सय ६२ र कक्षा ५ मा २ सय ५२ जनाले भर्नाका लागि आवेदन गरेका छन्। कक्षा १ मा भने भर्नाका लागि कोटा नतोकिएको प्रधानानध्यापक भट्टराईले बताए। उनका अनुसार कक्षा १ मा भर्नाका लागि हालसम्म ४० जना विद्यार्थीले फारम भरेका छन्।  

यस विद्यालयले प्राविधिक विषयमा पनि पठनपाठन गराउँदै आएको छ। कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयमा विद्यालयले पठनपाठन गराउँदै आएको प्रधानाध्यापक भट्टराईले बताए। प्राविधिक विषयमा पनि विद्यार्थीको आकर्षण धेरै देखिएको विद्यालयले जनाएको छ। कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ विषयमा ४८ जनाको कोटा रहेकोमा १ सय १८ जनाले भर्नाका लागि फारम भरेका छन्। कम्प्युटर इन्जिनियरिङ विषयमा पनि प्रतिस्पर्धाबाटै विद्यार्थी भर्ना गरिने उनले बताए।

यसरी सम्भव भयो शैक्षिक सुधार

दस वर्षअघिसम्म पोखरिया माध्यमिक विद्यालयको अवस्था अन्य सामुदायिक विद्यालयको जस्तै कमजोर थियो। विद्यालयले विद्यार्थी अभावको सामना गरिरहेको थियो। विद्यालयमा भर्ना हुन आउने नयाँ विद्यार्थीभन्दा विद्यालय छाडेर जाने बढी हुन्थे। हरेक वर्ष विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपछि शिक्षक, व्यवस्थापन समिति र अभिभावकसमेतको सल्लाहमा निजी स्कुलमा जस्तै अंग्रेजी माध्ययमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइयो। अंग्रेजी माध्ययमबाट पठनपाठन गर्न जनशक्ति, कक्षाकोठा व्यवस्थापनलगायतमा अभिभावकहरूले पनि आर्थिक सहयोग गर्ने भए।  

यस विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गर्न प्रोत्साहन मिल्यो। २०७० सालदेखि पोखरिया माविले अंग्रेजी माध्यमबाट पनि पढाउन थाल्यो। त्यसको परिणामा विभिन्न तहका परीक्षामा पोखरिया माविका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन थाल्यो र विद्यार्थीको चाप क्रमशः बढ्न थाल्यो। २०७० सालमा ५ सय विद्यार्थी पठनपाठन गर्ने पोखरियामा हाल ३ हजार २ सय विद्यार्थी रहेको विद्यालयले जनाएको छ। एसइईमा मात्रै नभई उच्च शिक्षामा पनि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन थालेपछि पोखरिया माविप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो।  

पोखरिया माविले शैक्षिक गुणस्तरमा सुधार गरेपछि निजी विद्यालयमा चर्को शुल्क तिरेर छोराछोरी पढाउन बाध्य विराटनगरका अभिभावकलाई राहत मिल्यो। अभिभावकले निजी विद्यालयबाट छोराछोरी झिकेर पोखरिया माविमा भर्ना गर्न थाले। पोखरिया माविविद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र बन्न थालेपछि विराटनगरका अन्य सामुदायिक विद्यालयले पनि गुणस्तर सुधार अभियान चलाउन थाले। विराटनगरका आदर्श माध्यमिक विद्यालय, सत्यनारायण माध्यमिक विद्यालय पनि विद्यार्थीको रोजाइमा पर्न थालेका छन्।  

प्रकाशित: २६ चैत्र २०७९ ००:४६ आइतबार