शिक्षा

सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको बताएका छन्।

पूर्वाञ्चाल विश्वविद्यालयको ११ औं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको बताएका हुन्।

सरकारले शिक्षामन्त्रीको नेतृत्वमा शिक्षा क्षेत्रको सुधारका विभिन्न योजना अगाडि बढाएको दाहालले जानकारी दिए। विश्वविद्यालयहरुले राष्ट्रिय आवश्यकता एवम् अन्तर्राष्ट्रिय श्रम बजारलाई समेत ध्यानमा राखेर हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने दाहालले बताए।

जनताको संघर्षबाट निर्मित संविधानको सफल कार्यान्वयन गर्दै देशको समुन्नति, समृद्धि एवंम् विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउन आइपर्ने हरेक प्रकारका कठिनाइ र बेवदानहरुको सामना गर्दै अगाडि बढ्ने चुनौतीहरु रहेको उनको धारणा छ।

विश्वविद्यालयहरुले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्ने अवस्था रहेको दाहालको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रको स्वर्णिम विकास र समुन्नतिका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यसहित करिब ३ दशक अगाडि स्थापित यस विश्वविद्यालयले ३ दशकको अवधिमा उल्लेखिय उपलब्धि हासिल गरेको छ।’

विश्वविद्यालयहरुले आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानको दायरलाई अझ व्यापक बनाउन जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘मानव जाति र सम्पूर्ण प्राणी जगतको सुरक्षा र सम्वद्र्धन गर्दै दीगो विकासका मोडलहरुको खोजी गर्नु आवश्यक छ।’

अहिले पृथ्वीको ग्लोबलवार्मिन र वातावरणीय उथलपुथलबाट हिमालय र यस क्षेत्रमा उत्पन्न चुनौतीहरुको समस्या र समाधनमा विशेष ध्यान दिनुपर्ने उनले बताए। विश्वविद्यालयहरुले आफ्नो पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षणलाई गहन अनुसन्धानलाई उच्च प्राथमितामा राख्दै व्यवहारिक, जीवन उपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने दाहालले बताए।

विश्वविद्यालयले सैदान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरुलाई जीवन उपयोगी, व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर व्यवसायिक तथा उद्यमशील हुन सक्ने गरी तयार पार्नुपर्ने उनले बताए। गोठगाउँ चाँडो मेडिकल कलेज सञ्चालन गरेर गुणस्तरीय स्वास्थ्य सेवाका निमत्ति पूर्वाञ्चल विश्वविद्यालय अघि बढी सकेको छ। मेडिकल कलेज सञ्चालनको कानुनी जटिलतालाई हटाएर प्रक्रिया अगाडि बढाइ सकेको दाहालले बताए।

एमबिबिएसतर्फ शैक्षिक कार्यक्रमको पठनपाठन सुरु गर्न सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने र मेडिकल कलेज सञ्चालनपछि यस क्षेत्रका जनताले सर्वसुलभका साथै गुणस्तरीय स्वास्थ्य उपचार पाउने दाहालको भनाइ छ।  

पूर्वाचल विश्वविद्यालयले ६ हजार ५ सय १३ जना विद्यार्थीलाई दीक्षित गरेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैँचा नगरपालिको–३ स्थित गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १ सय ३५, कानुन संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने ३ सय ०६, शिक्षाशास्त्रतर्फका स्नातक र स्नातकोत्तर गर्ने ५ सय २, व्यवस्थापन संकायतर्फका स्नातक, स्नातकोत्तर र एम.फिल. गर्ने १ हजार ८ सय ६२, चिकित्साशास्त्रतर्फ स्नातक र स्नातकोत्तर गर्ने २ हजार ३ सय २४ र विज्ञान तथा प्रविधि संकायतर्फ स्नातक र स्नातकोत्तर गर्ने १ हजार ३ सय ८४ जना विद्यार्थीलाई दीक्षित भएका हुन्। विभिन्न संकायमा स्वर्ण पदक प्राप्त गरेका विद्यार्थीहरुलाई प्रधानमन्त्री दाहालले पदक वितरण गरे।

प्रकाशित: १९ चैत्र २०७९ १३:१२ आइतबार