शिक्षा

इन्जिनियरिङ काउन्सिल परीक्षामा ७१.५ प्रतिशत असफल

खस्किंदै नतिजा

शैक्षिक स्तर खस्केको नतिजा इन्जिनियरिङको परीक्षामा पनि देखियो। नेपाल इन्जिनियरिङ काउन्सिलले पेसामा स्तर कायम गर्ने उद्देश्यले काउन्सिल स्थापनाको २३ वर्षकै इतिहासमा पहिलोपटक काउन्सिलमा नाम दार्ताका लागि सञ्चालन गरेको परीक्षामा ७१.५ प्रतिशत विद्यार्थी फेल भएका छन्।

काउन्सिलका रजिष्ट्रार इ. शिवमंगल गिरीका अनुसार फेल हुने विद्यार्थीमा सबैभन्दा बढी विदेशी विश्वविद्यालयका छन्। काउन्सिलले चैत १२ र १३ गतेको परीक्षामा कुल ६९ विधाका १ हजार ९ सय ८१ परीक्षार्थी सहभागी थिए। तीमध्ये ५ सय ६५ मात्र उत्तीर्ण भएका छन्। अर्थात् २८.५ प्रतिशत विद्यार्थी मात्र इन्जिनियर व्यवसायसम्बन्धी नाम दर्ता गराई यस क्षेत्रमा काम गर्न योग्य रहेको रजिष्ट्रार गिरीले जनाए।

उनले देशको भौतिक पूर्वाधार विकास तथा निर्माणमा इन्जिनियरको मुख्य भूमिका रहने भएकाले आवश्यकता अनुसार काउन्सिलले नाम दर्ताको परीक्षा लिने व्यवस्था गरेको उनले बताए। उनका अनुसार इन्जिनियरिङ पेसालाई हेर्ने दृष्टिकोण उच्च भए पनि यस क्षेत्रमा गुणस्तर कायम गर्न नसकेको नतिजाले उजागर गरिदिएको छ।

सहभागी विद्यार्थीमध्ये ३ सय ७८ भारतीय विश्वविद्यालयका थिए। जसमध्ये ५८ जना मात्र पास भए अर्थात १० प्रतिशत मात्र उत्तीर्ण भए भने पोखरा विश्वविद्यालय ( १०१३) , पूर्वाञ्चल विश्वविद्यालय (४७१), काठमाडौं विश्वविद्यालय (२), मध्यपश्चिमाञ्चल विश्वविद्यालय (४१), सुदूरपश्चिम विश्वविद्यालय (१) र त्रिभुवन विश्वविद्यालय (१००) गरी नेपाली विश्वविद्यालयका कुल १ हजार ६ सय को सहभागिता रहेको थियो। यसमध्ये ५ सय ७ पास भएका छन्।

तथ्यांक विश्लेषण गर्दा नेपाली विश्वविद्यालयको ९० प्रतिशत पास भएको देखिएको उनले जनाए। उनका अनुसार काउन्सिलले लिएको २० वटा विधामा सबै भन्दा बढी विद्यार्थी सिभिलका थिए। यसतर्फ १ हजार एक सय ५३ सहभागिता जनाएका थिए। फेल हुने विद्यार्थीले नेपालभर इन्जिनियर पेसामा काम गर्न नपाइने व्यवस्था काउन्सिलले गरेको उनले बताए।

‘गुणस्तरको अभिबृद्धि गर्ने उद्देश्यले काउन्सिलले यसपटक काउन्सिल ऐन संशोधन गरी पहिलोपटक परीक्षा संचालन गरेको हो,’ रजिष्ट्रार गिरीले भने, ‘तर नतिजामा ७१ .५ प्रतिशत विद्याार्थी फेल हुनुले हाम्रो शैक्षिक स्तर खस्केको संकेत गरेको छ। विद्यार्थीलाई परीक्षा सहज हुनेगरी नै पश्नपत्र तयार थियो। नेगेटिभ मार्किङको व्यवस्था पनि थिएन। तर पनि धेरै विद्यार्थी फेल हुनुले विश्वविद्यालय र विद्यार्थी दुवैको स्तर घटेको देखाउँछ। पहिलोपटक परीक्षा भएकोले पनि विद्याार्थीमा अन्योल भएको देखियो भने कोरोनाका कारण विदेशी विश्वविद्यालयले अनलाइन पढाएकोले पनि परीक्षाको नतिजा निराषाजनक आयो।’

उनले काउसिन्ल ऐनले परीक्षासम्बन्धी गरेको व्यवस्थामा नाम दर्ताका लागि विद्यार्थीले ६/६ महिनामा वर्षको दुई पटक परीक्षा दिने व्यवस्था गरेको छ।’ एक सय पूर्णाकंको वस्तुगत परीक्षामा ६० वटा प्रश्न एक नम्बर को र २० वटा प्रश्न दुई नम्बरको सोधिएको थियो। पास हुन ५० अंक ल्याउनुपर्ने प्रावधान रहेको छ।

‘यसअघि काउन्सिलले विद्यार्थी पास भएको विश्वविद्यालयहरूको शैक्षिक प्रमाणपत्रकै आधारमा नामदर्ता गर्दै आएको थियो,’ उनले भने, ‘हालसम्म काउन्सिलमा दर्ता भएका कुल ६९ विद्यामा ७७ हजार नेपालमा इन्जिनियर छन्।

प्रकाशित: १५ चैत्र २०७९ ०१:५५ बुधबार

नेपाल इन्जिनियरिङ काउन्सिल खस्किंदै नतिजा