शिक्षा

इन्जिनियर लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण

इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन्।

मंगलवार नेपाल इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो। काउन्सिलका अध्यक्ष पदम साहीले २८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको जानकारी दिएका हुन। 

उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भएको बताए। उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको बताए।

इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको हो। उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।

उनले भने,‘हाम्रोे ऐन अनुसारले हामीले नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ काम गर्नको लागि इन्जिनियरहरुले दर्ता गर्नुपर्ने सिस्टमको लागि दर्ता गर्नुपर्ने इक्जाम जुन थियो, त्यो हामीले यही १२ र १३ गते लिएका थियौँ। २० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा ११५३ जना हुनुहुन्थ्यो। यो नतिजा लगभग साढे २८ प्रतिशत मात्रै उत्तिर्ण भएका छन्। उत्तिर्णाङ्क ५० प्रतिशत हो।’

इन्जिनियर लाइसेन्स परिक्षा उत्तिर्ण गरेका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष साहीले बताए।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए।

तर अब इन्जिनियरिङसम्बन्धी कुनैपनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तिर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

प्रकाशित: १४ चैत्र २०७९ ०९:२१ मंगलबार

इन्जिनियर लाइसेन्स परीक्षा काउन्सिलका अध्यक्ष पदम साही