शिक्षा

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ। गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुवात गरिएको हो।

बुढानीलकण्ठमा रहेको इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर मंगलबार उद्घाटन गरिएको छ। प्रमुख अतिथि विज्ञान प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरेकी हुन्।

म्याथ पार्कमा विद्यार्थीले म्याथ प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन्। गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ। साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीले आफैं म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन्; जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ।

विज्ञान प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन्। उनले साइन्स र म्याथप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको बताउँदै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा राखिन्।

मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरिएको समेत उनले जानकारी दिइन्।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन्। म्याथका बारेमा किताब र कक्षा कोठामा मात्रै पढाइनेभन्दा पनि यसरी विद्यार्थीले प्रयोग नै गरेर पढ्न पाउँदा यसले शिक्षामा गुणस्तर कायम गर्न सहयोग पुन्ने उनको भनाइ थियो।

अंग्रेजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए। उनले भने, ‘अंग्रजी नजाने पनि बोल्ने प्रचलन छ, तर गणित आउँदैन भन्ने र यसलाई महत्व नदिने गरिएको पाइन्छ।’

पन्तले गणितविना कुनै पनि अध्ययन पूरा नहुने र साइन्स, फिजिक्स, कम्प्युटर साइन्सलगायतलाई अनिवार्य रहेकाले गणितको महत्व रहेको धारणा राखे। साथै विद्यार्थीलाई गणित सिकाइ कक्षा कोठामा मात्र नभई पार्कसँगै लगेर जोड्नुपर्नेमा जोड दिए।

विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको म्याथ विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको बताइन्। गणित विषय सबैका लागि कठिन हुने बताउँदै रमाइलो तरिकाले गणित पढ्नका लागि सहज होस् भन्ने उद्देश्यले यसको सुरु गरिएको बताइन्। कार्कीले आफ्ना विद्यार्थीले मात्रै नभएर निजी, सार्वजनिक जुनसुकै विद्यालयका विद्यार्थीले पनि पार्कको अवलोकन गरेर गणित पढ्न सक्ने जानकारी दिइन्।

प्रकाशित: १ चैत्र २०७९ ०२:०९ बुधबार

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्य पहिलोपटक म्याथ पार्कको सुरुवात