शिक्षा

पर्वतारोही पुर्जाले गरे जन्मगाउँको विद्यालयलाई ४० लाख सहयोग

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्। सोमबार जन्मगाउँ पुगेका पुर्जाले शिक्षा, स्वास्थ्यसहित गाउँको साझा समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयले शिक्षण र सिकाइ उपलब्धिमा सुधानमा सघाउने गरी ४० लाखको कोष बनाएको ज्ञानप्रकाश माविका प्लस टु संयोजक बाबुराम पौडेलले बताए।

पर्वतारोही पुर्जाले एकमुष्ट जम्मा गरेको ४० लाख रूपैयाँबाट प्राप्त ब्याजस्वरूप आउने रकमले ज्ञानप्रकाश माविमा अध्ययनरत कक्षा ८, एसइई र कक्षा १२ मा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई नगद ५० हजार, ८० हजार र १ लाख पुरस्कारले सम्मान गरिने छ भने बाँकी दानाका अन्य विद्यालयमा निजी स्रोतका शिक्षकको तलब सुविधामा सहयोग गरिने ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताए। ‘यो सहयोग शैक्षिक सुधारका लागि कोसेढुंगा सावित हुने छ, ‘शैक्षिक क्षेत्रमा थप सहयोगको प्रतिबद्धतासमेत प्राप्त भएको छ’, प्रधानाध्यापक नेपालीले भने।

पर्वतारोहण क्षेत्रमा कुनै पनि बेला जे पनि हुन सक्ने भएकाले उक्त सहयोग परिचालनका लागि आरोही पुर्जाले आफ्ना सहोदर दाइ गंगाबहादुर र कमलबहादुरलाई समन्वयकर्ताको जिम्मेवारीसमेत दिएका छन्।

आरोही पुर्जाले शिक्षा, स्वास्थ्यसहित सामाजिक कार्यमा आफ्नो सहयोग निरन्तर रहने बताए। ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानीको टोलीलाई लिएर आएका पुर्जा इलाइट ट्रेकिङ कम्पनीमार्फत मंगलबार अन्नपूर्ण हिमालतर्फ जाने योजना छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्डसहित अन्य विभिन्न कीर्तिमानीपछि पहिलोपटक जन्मभूमि दानामा पुग्दा स्थानीयले पुर्जाको भव्य स्वागत गरेका थिए। 

प्रकाशित: २४ फाल्गुन २०७९ ०२:१५ बुधबार

पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम निर्मल पुर्जा ‘निम्स’ (एमबिई)