शिक्षा

संस्कार सिकाउने अभियान: ‘गेटमा बसेर विद्यार्थीलाई नमस्कार’

विद्यालयको गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै व्यवस्थापन समितिका अध्यक्ष र सदस्य। तस्बिर: नरहरि/नागरिक

हिमालय मावि बारपाक कक्षा ८ मा पढ्ने अमृता सुनारलाई विद्यालय प्रवेश गर्दै गर्दा गेटमा उभिएका आफ्ना बाबुले नमस्कार गर्छन्। उनी पनि नमस्कार फर्काउँदै विद्यालय भित्र प्रवेश गर्छिन्। सुरुका एक दुई दिन अमृतालाई बाबुले पहिले नमस्कार गर्दा आफूलाई लाज लागेको थियो तर अहिले सहज भएको छ। उनका बाबु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। उनले छोरीलाई मात्र होइन विद्यालय प्रवेश गर्ने सबै विद्यार्थीलाई हात जोडेर नमस्कार गर्दै भन्छन् ‘गुड मर्निङ बाबु, गुड-मर्निङ नानी, सर गुड मर्निङ!

कक्षा ७ मा पढ्ने अजय घले र ६ मा पढ्ने प्रनय घलेलाई आमा लालकुमारी घलेले मङ्गलवार विद्यालय प्रवेश गर्दै गर्दा नमस्कार गरिन्। छोराहरू आमालाई नमस्कार फर्काउँदै विद्यालय प्रवेश गरे। आमाले नमस्कार गर्दा छोराहरू असजिलो मान्दैनन्? भन्ने जिज्ञासामा घलेले भनिन् ‘खुसी नै हुन्छन्, किन झ्याउ मान्नु।’ उनी विद्यालय व्यवस्थापन समिति सदस्य हुन्। विद्यालय खुलेको दिन गेटमा बसेर प्रवेश गर्ने विद्यार्थीलाई नमस्कार गर्दै गुड मर्निङ भन्ने आलोपालो हुन्छ। समितिका अध्यक्ष देखि सदस्यहरू पाँच जना पालैसँग खटिन्छन्। ‘आफ्नो छोराछोरी पढ्ने विद्यालयमा आउन पाउनु, उनीहरूको सेवा गर्न पाउनु खुसीको कुरा हो’ सदस्य लालकुमारी घलेले भनिन्।

बाल कक्षादेखि १२ सम्म संचालित यस विद्यालयमा चार सय ८७ विद्यार्थी छन्। गत माघ २८ गते गठन भएको नयाँ व्यवस्थापन समितिले यो अभियान सुरु गरेको हो।

 शिक्षक, विद्यार्थी बिच सम्बन्ध सुमधुर होस्, विद्यार्थीले गुरुको सम्मान गर्न सिकुन् भनेर हामीले यो सुरु गरेका हौँ’ व्यवस्थापन समितिका अध्यक्ष विकले भने। 

गुरुहरू, आफूभन्दा ठुला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना हराउँदै गएकाले सिकाईकालागि नयाँ समितिले गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरेको उनले बताए।

अहिले विद्यार्थी आफैँ टाढैबाट गुड मर्निङ भन्दै दुई हात जोडेर नमस्कार गर्दै विद्यालय प्रवेश गर्छन्। विद्यालयमा विद्यार्थी पोशाकमा आए नआएको, कुन विद्यार्थीले विद्यालय छाडेको, नियमित हाँजिर भए नभएको बारेमा गेटमा बस्ने अभिभावकलेपनि ख्याल गर्छन्।

गेटमा अभिभावक छन् भनेपछि विद्यार्थी पनि समयमै विद्यालय आउने, विद्यालय पोशाक लगाउने गर्छन्। ‘यो संस्कार सिकाउने एउटा अभियान हो, हामीले विद्यालयको शैक्षिक गुणस्तरसँगै विद्यार्थीमा अनुशासन सिकाउन नयाँ योजना बनाउँदै जाने सोच बनाएका छौँ’ व्यवस्थापन समितिका अध्यक्ष विकले भने।

२०७२ सालको भूकम्पले ध्वस्त विद्यालय अहिले पक्की भवनमा चिटिक्क छ। बाक्लो बस्ती भएको बारपाक सुलिकोट १ र २ वडाका अधिकांश बालबालिका यहाँ पढ्छन्। अभिभावकले गेटमा उभिएर नमस्कार सुरु गरेयता विद्यार्थी बिहान १० बजे अगाडी नै आउने गरेको प्रधानाध्यापक जनिबहादुर घलेले बताए।

‘विद्यार्थी मात्र होइन शिक्षक पनि समयमै आउन थाल्नुभएको छ, समयमै नआउने शिक्षकलाई दुई सय जरिवाना र पो शाक नलगाउने शिक्षकलाई पाँच सय जरिवाना गर्ने निर्णय गरेका छौँ’ उनले भने। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई अनुशासन पालना गराउन केही जरिवाना गर्ने योजना बनाएको उनले बताए।

‘गेटमा अभिभावक उभिएर नमस्कार गर्न थालेपछि केही न केही बालबालिकामा अनुशासन कायम हुँदै गएको देखिएको छ’ प्रअ घलेले भने ‘अनुशासन भित्र रहनुपर्छ भन्ने ज्ञान उनीहरूलाई मिलेको छ।’

कक्षा १० पछि भने विद्यार्थी भर्ना हुने दर कम छ। गत शैक्षिक सत्रमा ८३ जनाले कक्षा १० पास गरेका थिए। ती मध्ये ३३ जना मात्रै भर्ना भए भने बाँकी अन्यत्रका विद्यालय पढ्न गए। मावि तहमा दरबन्दी अपुग रहेको प्रअ घलेले बताए। अहिले विद्यालयमा २४ जना शिक्षक कार्यरत छन्। ‘आधुनिक प्रविधि अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक भयो भने सहज हुने थियो’ उनले भने

विद्यालयको गुणस्तर बढाउन शिक्षक र व्यवस्थापन समिति टोल टोलमा घर भेट गर्ने, अभिभावकको बैठक विद्यालयमा राख्ने र बालबालिकाको अवस्था बारे बताउने, गृहकार्य अनिवार्य गराउने, मासिक विद्यालयमा परीक्षा संचालन गर्ने योजना रहेको प्रधानाध्यापक जनिबहादुर घलेले बताए। उनले भने ‘अहिलेको नयाँ समितिले शिक्षक, अभिभावकमा पनि उत्साह थपेको छ।’

प्रकाशित: २३ फाल्गुन २०७९ १०:२६ मंगलबार