शिक्षा

नागरिककर्मी रौनियारलाई लोयल्टी शैक्षिक पुरस्कार

नागरिक दैनिककी वरिष्ठ संवाददाता रूबी रौनियारलाई लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त भएको छ।

काठमाडौंको धुम्बराहीमा रहेको लोयल्टी एकेडमीले आफनो १७ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक स्थापना गरेको लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार रौनियारालाई एकडेमीका संस्थापक अध्यक्ष बिजयसम्हाम्फे र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले प्रदान गरेका थिए।

पत्रकार रौनियारले स्थापनाकालदेखिनै नेपाल रिपब्लिक मिडियामा नागरिक दैनिकमा तथा अन्य संचार क्षेत्र गरी करिब दुई दशक लामो सय यात्रा तय गरेकी छिन्। समाज परिवर्तनको निर्विकल्प कडी शिक्षा नै भएको महसुस गरी उक्त पत्रिकामा शिक्षा सम्बन्धी लेख, रचना, तथा विचारहरूको माध्यमबाट पत्रकार रौनियारले लगातार समाजलाई सुसूचित गरेको भन्दै लोयल्टी एकेडमीले पत्रकार रौनियारालाई शनिबार आफनो वार्षिकोत्सवमा २१ हजार एक सय ५ रुपियाँ नगदसहित सम्मामन पत्र प्रदान गरेको थियो।

मधेश प्रदेशको ऐतिहासिक नगरी विरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा जन्मिएर हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहचल निवासी पत्रकार रौनियारले आफनो उर्जनसिल समयलाई नेपाली समाज र राष्ट्रको शैक्षिक उन्नयनकालागि अनवरत कलम चलाउँदै पत्रकारिताको माध्यमबाट शिक्षाको कार्यक्रम, विचार र बहसलाई मुलुकको कुना कन्दरासम्म उजार गरी नागरिक सचेतना फैलाउन कार्यमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पुरस्कार प्रदान गरेको सम्मान पत्रमा उल्लेख छ।

कार्यक्रममा स्कुलका विद्यार्थीहरूले अभिभावक, विद्यार्थी र विद्यालयलाई सचेत गराउने गरी पश्चताप नाटक प्रस्तुत गरी उपस्थित सबैलाई भावुक बनाएका थिए। भने पुस्तकमा पढ्दै आएका राष्ट्रिय  विभूतिहरू भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, सत्यमोहन जोशी, डा. सन्दुक रुइत , नारायण गोपाल, पारिजात, पृथ्वीनारायण शाहको छवि झल्किने गरी अभिनय प्रस्तुत गरी शिक्षणसिकाईको व्यवहारिक ज्ञानको पाटो स्पष्ट रूपमाले प्रस्तुत गरेका थिए।

एकेडेमीका माध्यमिक शिक्षा इन्चार्ज इन्द्रप्रसाद गौतमले पत्रकार रौनियारको कामको प्रशंसा गर्दै कविता वाचन गरेका थिए भने स्कुलका संस्थापक अध्यक्ष विजय सम्हाम्फेले आफनो सामाजिक दायित्व अन्तर्गत समाजका विभिन्न क्षेत्रमा रहेका कठिन समुदायका बालबालिका माझ सहज रूपमा शिक्षाको पहुँच पुर्‍याउने उदेश्ले मोरङ, पर्साको ठोरी र तेह्रथुममा लोयल्टी एकेडेमीको शाखाहरू सञ्चालन गरी सर्वसुलभ रूपमा शिक्षा उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको बताए।

‘आफनो सामाजिक दायित्व अन्तर्गत नै मैले आज पहिलो पटक लोयल्टी राष्ट्रिय शिक्षा पत्रकारिता सम्मानको सुरुवात गरेको हुँ। पहिलो पुरस्कार नै शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएका पत्रकार रौनियारलाई सम्मान गर्न पाउँदा निकै खुसी मिलेको छ,’ संस्थापक अध्यक्ष सम्हाम्फेले प्रतिबद्धता जनाए ‘अगामी वर्षहरूमा पनि हाम्रो विद्यालयले प्रत्येक वर्ष विविध विद्यामा लोयल्टी शैक्षिक राष्ट्रिय कलाकार सम्मान, लोयल्टी राष्ट्रिय पत्रकारिता सम्मान, लोयल्टी शैक्षिक राष्ट्रिय खेलाडी सम्मानद्वारा प्रोत्साहन गर्दै एउटा दिगो सामाजिक दायित्व बहन गर्ने काम गर्ने छ।’

स्कुलका प्रिन्सिपल वीरेन्द्र सुब्बाले एकेडेमीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुल १७ औं वार्षिकोत्सव मनाइरहँदा स्कुलले हालसम्म १९ वर्षको दौरानमा एसएलसी र एसइई गरी कुल १४ औं ब्याच उत्तीर्ण गराउँदा ८ सय विद्यार्थी दीक्षित भइसकेको जनाए।

उनले ०७१ सालमा काठमाडों उपत्यकाका सातौँ र मुलुककै २३ औं स्थानमा उत्कृष्ट स्थान हासिल गर्न सफल यस विद्यालयमा हाल एक हजार विद्यार्थी अध्ययनरत छन्। यसकासाथै निजी विद्यालयमा पनि सरकारी सरह शिक्षक कर्मचारीहरूलाई विद्यालयले नियुक्ति पत्र दिने, स्थायी गर्दै पेन्सन सम्मको व्यवस्थाले शिक्षक कर्मचारी निकै सन्तुष्ट बनेका छन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले मुलुकको शिक्षा अब लोयल्टी एकेडमीेले उपलब्ध गराएझैँ व्यवहारिक शिक्षा हुनु पर्नेमा जोड दिए। उनले विद्यार्थीलाई रटाएर घोकाएर पढाउने दिन बितिसेको र अब विद्यालयमा हसाई रमाई शिक्षण सिकाई गरिनु पर्ने समय आएको अवगत गराए।

‘अब हामीलाई बालबालिकासँगै हिँड्ने शिक्षा ऐन नीति आवश्यक छ,’ अध्यक्ष शर्माले भने ‘अभिभावक र स्कुलले आ आफनो दायित्व पुरा गर्न सके नेतृत्वदायी रदक्ष विद्यार्थी उत्पादन गर्न सकिन्छ।’

प्रकाशित: २१ फाल्गुन २०७९ ००:०५ आइतबार

लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार रौनियारको सञ्चार क्षेत्रमा दुई दशक लामो अनुभव