शिक्षा

पढाइसाथै अवसरका लागि अमेरिका

विदेशी विश्वविद्यालयहरूले प्रयोगात्मक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने भएका कारण नेपालबाट बर्सेनि लाखौंको संख्यामा विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न बाहिरी मुलुक जाने गर्छन्। यसैक्रममा धेरै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सबैभन्दा मन पर्ने गन्तव्यमध्ये अमेरिका एक मानिन्छ।

विश्वका धेरै राष्ट्रमा नेपाली विद्यार्थी शैक्षिक अवसर खोज्दै पुगेका छन्। तीमध्ये अष्ट्रेलिया, जापान, क्यानडा, युके र अमेरिकाजस्ता विकसित राष्ट्रप्रति विद्यार्थी विशेष आकर्षित हुँदै आएका छन्। गुणस्तरीय शिक्षा प्रदान गर्ने र पार्टटाइम काम गरेर पनि अन्तर्राष्ट्रिय शैक्षिक उपलब्धी हासिल गर्ने भएका कारण विद्यार्थीले विदेशी विश्वविद्यालयहरूको अवसर खोज्छन्।

हाल अमेरिकाको युनिभर्सिटी अफ नेभाडामा पिएचडी गरिरहेकी इलामकी अन्जु बस्नेतले अमेरिकाका विश्वविद्यालयसँग उन्नत प्रविधि र उत्कृष्ट अनुसन्धान सुविधा भएको बताइन्। यसबाहेक, विश्वविद्यालयहरूले विद्यार्थीलाई शिक्षण वा अनुसन्धान सहायक भएर काम गर्ने मौका दिने उल्लेख गर्दै उनले भनिन्, ‘यहाँ विद्यार्थीहरूलाई पढ्न सजिलो छ। क्यानडा र अस्ट्रेलियामा जस्तो यहाँ अध्ययन महँगो पनि छैन। फेरि यहाँ हामीलाई विश्वविद्यालयमै शिक्षण वा अनुसन्धान सहायक भएर काम गर्ने सुविधा दिएकाले विद्यार्थीहरूलाई ट्युसन शुल्क तिर्न र अतिरिक्त काम गर्नेबारे चिन्ता लिइराख्नु पर्ने अवस्था छैन। अरू राष्ट्रको तुलनामा यहाँ हामीले हाम्रो अध्ययन र अनुसन्धानमा पूरा समय र ध्यान दिन सक्छौं।’

यसका साथै अमेरिकामा अध्ययन र कामका लागि समय व्यवस्थापन गर्न सहज भएको बस्नेतले बताइन्। विद्यार्थीले नियमित रूपमा अध्ययन गर्ने तथा समयमै असाइनमेन्ट पेस गरेको खण्डमा राम्रो अंक ल्याउन त्यति गाह्रो नभएको बताउँदै उनले थपिन्, ‘गुणस्तरीय र प्रयोगात्मक शिक्षण पद्धति भएकाले नियमित कक्षा लिएको खण्डमा उत्कृष्ट अंक ल्याउन सकिन्छ। यहाँको प्रमाणपत्र विश्वभरका सबै देशमा गणना हुन्छ भने विश्वको कुनै पनि राष्ट्रमा प्रयाप्त अवसर पाइन्छ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गत ५ महिनाको तथ्याङ्कअनुसार ३८ हजार ६१ विद्यार्थीहरूले अन्तर्राष्ट्रिय उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्।

मन्त्रालयको साउनदेखि मंसिरसम्मको तथ्याङ्कअनुसार कुल ३९ हजार ६ सय १९ विद्यार्थीले एनओसीका लागि आवेदन दिएकोमा १ हजार ५ सय ५८ आवेदन रद्ध भई बाँकीको आवेदन मन्त्रालयले स्वीकृत गरेको हो।

यसै क्रममा मन्त्रालयले साउनदेखि मंसिरसम्ममा अमेरिका उच्च शिक्षाका लागि १ हजार ५ सय ५९ विद्यार्थीको एनओसी आवेदन स्वीकृत गरेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार कुल १ हजार ५ सय ७२ एनओसी आवेदनमध्ये १३ आवेदन रद्ध भई बाँकी १ हजार ५ सय ५९ को आवेदन मन्त्रालयले स्वीकृत गरेको हो।

साथै मन्त्रालयले सार्वजनिक गरेको एनओसी प्रगति विवरणका आधारमा धेरै विद्यार्थी जाने गन्तव्यमा अमेरिका पाँचौं स्थानमा रहेको छ। जम्मा ५९ राष्ट्रको सूचीमा अमेरिका पाँचौं स्थानमा परेको हो।

फोर नेसन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक दिलीप शर्माले पछिल्ला केही वर्षदेखि अमेरिका पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको बताएका छन्। हाल अमेरिका पढ्नका लागि आफ्नो कन्सल्टेन्सीमा धेरै विद्यार्थी सोध्न आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अन्य मुलुकमा भन्दा अमेरिकाको शिक्षाको गुणस्तर राम्रो भएको र पछिल्ला केही वर्षयता भिसा लाग्ने दर बढेकाले पनि अहिले अमेरिका जाने विद्यार्थीको संख्या बढेको हो।’

आफ्नो कन्सल्टेन्सीमा उच्च शिक्षाका लागि जिज्ञासा लिन आउनेमा लगभग १५ प्रतिशत विद्यार्थीले अमेरिकाका लागि जिज्ञासा राख्ने गरेको उनले बताए। अमेरिकाले राम्रो शैक्षिक प्रगति विवरण भएका मेहनती तथा जेहेन्दार विद्यार्थीलाई भिसा दिन त्यति कडाइ नगर्ने बताउँदै उनले भने, ‘शिक्षाको गुणस्तरको सवालमा अमेरिका विश्वकै उत्कृष्ट राष्ट्र हो र त्यहाँ जाने विद्यार्थीहरू नितान्त पढ्नका लागि जान्छन्। राम्रो शैक्षिक प्रगति विवरण भएका विद्यार्थीहरूले अहिले सजिलै भिसा पाउने गरेका छन्।’

यस्तै ओहायो स्टेट अफ युनिभर्सिटीमा इन्जिनियरिङ गरिरहेका मोरङका बाखाहाङ राईले अमेरिकाको शिक्षण प्रणाली एकदमै प्रयोगात्मक भएकाले पनि विद्यार्थीको रोजाइ अमेरिका भएको बताएका छन्।

यसबाहेक धेरै जसो विद्यार्थीले भिसा पाउँदै गर्दा छात्रावृत्ति पाउने उल्लेख गर्दै उनले भने, ‘यहाँ पढ्न आउने प्रायः विद्यार्थीले छात्रवृत्ति पाएका हुन्छन्। जसले गर्दा विद्यार्थीलाई अन्य राष्ट्रको तुलनामा पढ्न सजिलो छ।’ उनी थप्छन्, ‘हामीलाई कलेजले नै शिक्षण सहायक हुने सुविधा दिन्छ, काम खोजिराख्नु पर्दैन र त्यो कामले हामीलाई लगभग पढ्न पुग्छ। अन्य मुलुकमा यस्तो व्यवस्था छैन।’ विश्वका उत्कृष्ट विश्वविद्यालयहरू पनि अमेरिकामै पर्ने भएकाले पनि विद्यार्थीहरू प्रायः अमेरिका नै रोज्ने गरेका छन् ।

प्रकाशित: १७ फाल्गुन २०७९ ०२:४० बुधबार

उन्नत प्रविधि र उत्कृष्ट अनुसन्धान सुविधा