शिक्षा

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो: शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताएका छन्।

राष्ट्रियसभामा  नेपाल  विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताएका हुन्।

मन्त्री खनालले भने, 'एक लाख २२ हजार नेपाली विद्यार्थी विश्वका एक सय ६ भन्दा बढी मुलुकमा नेपाली विद्यार्थी अध्ययनका लागि गएको तथ्यांक छ, ती युवालाई रोक्न सकिन्छ कि भन्ने हेतुले यो विश्वविद्यालय विधेयक अघि बढाइएको हो।'

मुलुकको विकास र अर्थतन्त्रलाई चलायमान बनाउन तथा विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने होस् भन्ने उद्देश्य रहेको बताउँदै उनले गुणस्तरीय शिक्षा मात्र नभई संघीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्ट गरे।  

प्रकाशित: १० माघ २०७९ १०:४० मंगलबार

शिशिर खनाल