शिक्षा

संस्कृति बुझाउन विद्यालयमा भोज !

सधैं पढाई हुने स्कुलमा पनि भोजको कार्यक्रम गरियो भन्दा धेरैलाई पत्याउन गाह्रो पर्ला तर भक्तपुरको एक स्कुलमा भने नेवार समुदायले गर्ने भोज संस्कृतिबारे विद्यार्थीलाई बुझाउन भोज खुवाउने कार्यक्रम गरिएको छ।

नेवार समुदायले हरेक चाडपर्व, बिहे, व्रतबन्ध, जात्रामा खाने खुवाइने भोज संस्कृतिबारे विद्यार्थीलाई अनुभव गराउन नेवा: झ्वः भ्वय (नेवार भोज) कार्यक्रम गरिएको हो।

परम्परा अनुसार भोजका लागि कक्षा ८ का दुई सय ५० जना विद्यार्थीलाई स्कुलको खुला ठाउँमा लहरै राखिएको थियो। परम्परा अनुसार सुकुल ओछ्याएर उनीहरुलाई लप्ते (पात) मा राखेर भोज खुवाइएको थियो।

भक्तपुर नगरपालिकाद्वारा लागु गरिएको कक्षा ८ को ‘ख्वपको पहिचान’ पाठ्यक्रममा भक्तपुरकै विशिष्ट पहिचान भएको झ्व भ्वय्को बारेमा उल्लेख छ। यस कारण कार्यक्रम स्कुलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीको आयोजनमा भएको थियो र कार्यक्रममा कक्षा ८ का विद्यार्थीलाई मात्रै सहभागी गराइएको थियो।

विद्यार्थीको प्रयोगात्मक परीक्षा अन्तर्गत भोज संस्कृतिबारे अनुभव गराउन कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल कृष्णप्रसाद धन्छाले बताए। विद्यार्थीहरूको आयोजनामा कमल विनायक परिसरमा ‘झ्व भ्वय्’ कार्यक्रम सम्पन्न भएको उनले बताए।

कार्यक्रम कक्षा ८ का छात्र आशिष् प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो। यो क्रममा एक औपचारिक कार्यक्रम पनि भएको थियो। कार्यक्रममा वागीश्वरी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भनपा ९ नं वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वःले स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने अधिकार भए अनुसार तयार पारेर  ख्वपको पहिचान नामक विषय क्रमैसँग कक्षा १ र ६ देखि लागू गरेर हालसम्ममा कक्षा ८ सम्म नै लागू गरिसकेको र यस्तो कार्यक्रम गर्ने वागीश्वरी मावि वाग्मती प्रदेशकै नमुना विद्यालय भएको बताए।

नेपालकै विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरू स्कुलमा आइरहेकाले यसरी नेवा झ्वःभ्वय् कार्यक्रमको आयोजना भएर एउटा उदाहरणीय र अनुकरणीय कार्य हुन गएको उनको भनाई थियो। 

भोज सुरु गर्नुअघि विद्यार्थी र शिक्षकबाटै धिमे बाजा सहित र शिक्षिकाहरूका समूह ’हाकुपातासी’ (स्थानीय कालो फरिया) पहिरनमा विद्यालय परिसरबाट भोज स्थलसम्म पुगेको दृश्यले वातावरण नै थप रोमाञ्चित बनाएको थियो।

परम्परा अनुसार वाउँलप्ते (हरियो सालको पात गाँसेर बनाइएको आठ वटा पात गाँसेर बनाइएको प्लेट) मा राखेर भोज खुवाइएको थियो। यसको बिचमा ’तुयूबजी’ (सेतोच्यूरा) र सोमाथि’ स्याबजी’ (च्यूरा भुटेर बनाइएको एक खाद्य) र ’हाकुमुस्या’ (कालो भटमास) अनि यसको वरपर, दायाँ र बायाँ क्रमैसँग शाकाहारी र मांसाहारी परिकारहरू पस्केर भोज खुवाइएको  थियो।

भोजमा शिक्षक, विद्यार्थीले परिकारहरू राखिदिएका थिए। बिचबिचमा च्यूरा थप्न गइरहन्छन्। परिकार पकाउने र पस्किने काम भने पुरुषहरूकै हुन्छ। झ्वः भ्वय् भनेको लहरै बसेर खाने भोज भन्ने बुझिन्छ भने सुकुलमा लहरै बसेर खाने भोज भएकोले अचेल उसलाई सुकुभ्वय् (सुकुलभोज) पनि भन्न थालिएको छ।

भक्तपुर नगरपालिकाले स्थानीय तहको शिक्षा ऐन, २०७४ जारी गरेको थियो। सँगसँगै स्थानीय पाठ्यक्रम पनि जारी गर्न सक्ने भएपछि पहिलो वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरूमा कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम जारी गरी सो अन्तर्गत “ख्वपको पहिचान“ विषय सार्वजनिक गरेको थियो।

यसलाई क्रमैसित माथिल्ला कक्षाहरूमा लागू गर्दै गएर हाल आएर कक्षा १ देखि ८ सम्म नै सो विषय अध्यापनका लागि दैनिक एक घण्टी छुट्याउनु पर्नै भइसकेको छ। यसमा जम्मा ११ क्षेत्रहरू समेटिएका छन्। तीमध्ये आठौँ क्षेत्र रहेको छ– स्थानीय व्यवसाय, सीप र प्रविधि पेसा। यही क्षेत्रको एक प्रमुख विषय रहेको छ– नेवार खाद्य परिकार। कक्षा १ देखि ८ सम्म नै कुनै न कुनै नेवार परिकारका विषयमा कक्षा र तह अनुसार सिकाइ समावेश गरिएको छ। यहाँ कक्षा ८ को ख्वपको पहिचान अन्तर्गत नेवार खाद्य परिकारमा नेवारहरूको “नेवा: झ्वः भ्वय्“ बारे चर्चा गरिएको छ। यही अनुसार त्यहाँ भोज कार्यक्रम गरिएको हो।

प्रकाशित: २० पुस २०७९ १२:५९ बुधबार