शिक्षा

विश्व बजारमा नेपाली इन्जिनियरको खपत

साढे चार दशकअघिसम्म इन्जिनियरिङ अध्ययन गर्ने एक मात्र शैक्षिक निकाय थियो पुल्चोक इन्जिनियरिङ कलेज। दरबार हाइस्कुल इन्जिनियरिङ स्कुल भनी स्थापना भएको उक्त स्कुलमा तत्कालीन समयमा सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा मात्र हुन्थ्यो।  

पछि देश विकास निर्माणको कार्यतर्फ लम्कँदै अघि बढ्दै गयो। देशमा विभिन्न क्षेत्रमा दक्ष इन्जिनियर जनशक्तिको खाँचो महसुस भयो। २०३० सालसम्म तीन वर्षे डिप्लोमा कोर्ष थियो। पछि यो खारेजी भयो र २०४१ सालदेखि मात्र पुल्चोक इन्जिनियरिङ कलेजले स्नातकमा चार वर्षे इन्जिनियिरिङको पठनपाठन सुरु गरेको हो। त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधरराम जोशीका अनुसार तत्कालीन समयमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिकल र आर्किटेक्चर गरी पाँच विषयबाट सुरु भएको स्नातक कोर्समा हाल १२ वटा विषयमा स्नातक तहमा इन्जिनियरिङ सञ्चालन भइरहेको छ।  

‘महाभूकम्पपछि त देशमा विकास निर्माण कार्य अघि बढेसाथै इन्जिनियरिङ शिक्षाको विशेष महŒव बढ्दै गएको हो,’ डिन जोशीले नागरिकसँग भने, ‘जति दक्ष इन्जिनियर उत्पादन हुन्छन्, देशले उति प्रगति गर्छ। हाल पुल्चोक इन्जिनियरिङ कलेज स्नातकमा पाँच विषयबाट १२ विषयमा विस्तार भएको छ। कम्प्युटर, इनडस्ट्रियल, एग्रिकल्चर, जियोमेटिक्स, अटोमोबाइल र समयको मागअनुसार एरोस्पेस इन्जिनियरिङ विषय पठनपाठन भइरहेको छ। स्नातकोत्तर तहमा भने ३४ विषयमा अध्ययन हुन्छ।’ उनले थपे, ‘स्नातकको चार वर्षको एक शैक्षिक सत्र पूरा हुनासाथ पाठ्यक्रम परिमार्जन हुन्छ। हाम्रा पाठ्यक्रमलाई नयाँ प्रविधिसँग जोड्दै जाने भएकाले नेपालमा उत्पादित जनशक्ति विश्व बजारमा नै डिमान्डिङ छ।’

नेपालमा पनि बिई तहको इन्जिनियरिङमा सरकारी मात्र नभई निजी क्षेत्रले पनि पठनपाठन गराउने भएकाले प्रतिस्पर्धा बढेको छ। साढेचार दशकअघि त्रिविविका पुल्चोक इन्जिनियरिङ कलेजले मात्र इन्जिनियरिङ विषय पठनपाठन गराउँथ्यो भने अहिले थुप्रै निजी कलेज खुलिसकेका छन्।  

हाल देशमा त्रिविवि, पोखरा, काठमाडौं, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चललगायतका विश्वविद्यालयहरूले विभिन्न विषयमा इन्जिनियरिङ पठनपाठन गराउँदै आएका छन्। नेपालमा अझै विकासनिर्माण कार्यमा दक्ष जनशक्तिको अभाव पूर्ति हुन नसकेकाले प्राविधिक शिक्षाको अवसर रहेको काउन्सिलका पूर्व अध्यक्ष एवं पुल्चोक इन्जिनियरिङ कलेजका स्रोत व्यक्ति ई. सत्यनारायण साह बताउँछन्। उनले सामाजिक प्रतिष्ठा र आयआर्जनको हिसाबले पनि विद्यार्थीको पहिलो रोजाइ सिभिल बनिरहेको जनाए।  

अल्पविकसित देशले दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सके मात्र विकासको मार्ग खुल्ने उनको बुझाइ छ। सिभिल पूर्वाधार विकास निर्माण क्षेत्रमा स्वदेश तथा विदेश दुवैमा नेपालकै इन्जिनियरहरू खपत भइरहेका छन् भने तुलनात्मक रूपमा विदेशतिर सिभिलको भन्दा इलेक्ट्रोकल, इलेक्ट्रोनिक्स, मेकानिकल, माइन, एरोनोटिकल, कम्प्युटरलगायतका विषयका इन्जियरहरू बढी खपत भइरहेका छन्। ‘हामीकहाँ अझै पनि बढी जसो पूर्वाधार विकासकै निर्माण कामहरू भइरहेका छन्,’ ई. साहले नागरिकसँग भने, ‘तर विदेशतिर तुलनात्मक रूपमा विकासका काम कम र हवाई विस्तार, आइटीलगायतका काममा बढी विकास निर्माण भइरहेकाले अन्य क्षेत्रका इन्जिनियरहरू बढी खपत भइरहेको छ।’ उनले थपे, ‘जापान, क्यानडा, युके, अमेरिका, अस्ट्रेलियालगायतका थुप्रै देशहरूमा नेपाली इन्जिनियरहरूको एसोसिएसन नै छ। यसले पनि हाम्रा इन्जिनियरहरू दक्ष र विश्व बजारमा बिक्ने प्रमाण दिन्छ।’ तर विद्यार्थीले विषय छनौट गर्दा आफ्नो क्षमता र रुचिअनुसार उपयुक्त विषय छनोट गरेर मात्र पढ्नुपर्ने उनको सुझाव छ। एडभान्स इन्जिनियरिङ कलेजका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको पहिलो रोजाइ मेडिसन र दोस्रो आकर्षण भनेको इन्जिनियरिङका विषय नै भएको बताए। प्लसटुमा विज्ञान विषयमा राम्रो ग्रेड ल्याउनासाथ विद्यार्थी र अभिभावकको बढीजसो इन्जिनियरिङका विषय नै रोजाइमा पर्ने गरेको छ। मेडिकलभन्दा सर्वसुलभ, रोजगारीसमेत पाउने राम्रो अवसर भएकाले इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढिरहेको छ। सिलवालका अनुसार इन्जिनियरिङमा पनि पहिलो प्राथमिकतामा सिभिल, दोस्रोमा कम्प्युटर, तेस्रोमा मेकानिकल पर्ने गरेको छ। ‘हाम्रो एडभान्स इन्जिनियरिङ कलेजमा भर्ना हुन आउने विद्यार्थीको पहिलो रोजाइ नै सिभिल हुने गरेको छ,’ अध्यक्ष सिलवालले भने, ‘त्यसपछि मात्र आर्किटेक्चर, इलेक्ट्रिकल र एग्रिकल्चर पर्छन्।’

उनका अनुसार इन्जिनियरिङ शिक्षाको भविष्य उज्यालो छ। समाजले इन्जिनियरिङलाई प्रतिष्ठित पेसाका रूपमा अँगाल्नु, कोर्स पूरा गरेपछि बेरोजगार बस्नु नपर्नेजस्ता कारणले विद्यार्थीको प्रतिस्पर्धामा वृद्धि भएको उनले बताए। नेपालमा त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका कोर्सहरू सञ्चालन भए पनि यसमध्ये विद्यार्थीको पहिलो रोजाइ त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेज बन्ने गरेका छन्। त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा इन्जियिरिङमा भर्ना हुने विद्यार्थीले भौतिक शास्त्र अनिवार्य अध्ययन गरेको हुनुपर्छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले समेत भर्ना पाउने व्यवस्था छ।

प्रकाशित: २७ मंसिर २०७९ ०१:५५ मंगलबार