शिक्षा

पछिल्लो एक महिनामा एनओसी लिने साढे पाँच हजार बढी!

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत एनओसी शाखाले असोज महिनामा ५ हजार ६ सय २६ जनाले एनओसी लिएको जनाएको छ। एनओसी शाखा प्रमुख वासुदेव वस्तीका अनुसार ४१ देशका लागि ६ हजार ६ सय २६ जनाले नोअबजेक्सन लेटर (एनओसी) लिएका हुन्।

नेपालमै पढाइ हुने विषयको अध्ययनका लागि पनि एनओसी लिने विद्यार्थी बढी रहेको सो शाखाले जनाएको छ। विदेशमा पढाइसँगै आर्थिक आयआर्जन हुने भएकाले पनि अवसरको खोजीमा नेपाली विद्यार्थी बिदेसिने गरेका छन्। ‘हामीकहाँ भएका विश्वविद्यालयमै पढाइ हुने एकाउन्टिङ, डेन्टल, मेडिकल, इन्जिनियरिङ, इकोनोमिक्स, सामाजिक, स्वास्थ्य शिक्षा, जीवविज्ञान, रसायनशास्त्र, एनिमल साइन्स, फाइनान्स, हस्पिटालिटी लगायत थुप्रै विषयमा पनि विद्यार्थीले एनओसी लिइरहेको अवस्था छ,’ शाखाप्रमुख वस्तीले नागरिकसँग भने, ‘विदेशमा पढाइका साथै कमाइ पनि हुने भएकाले युवाको आकर्षण बढेको छ।’उनका अनुसार हामीकहाँ दिनहुँ हुने शैक्षिक हडताल, विश्वविद्यालय बन्दलगायत कारण विद्यार्थीमा निराशा बढेको हुनसक्छ।

नेपालकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विगत तीन वर्षमा तीन सय दिन तालाबन्दीमा रह्यो। अझै पनि तालाबन्दीकै अवस्थामा छ। यसले विश्वविद्यालयप्रति नेपाली विद्यार्थीमा नकारात्मक सोच बढ्दै गएको छ। यसकारण पनि धेरै विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न जान बाध्य बनेको विद्यार्थीकै गुनासो छ।

असोज महिनामा मात्र मन्त्रालयले एनओसीबाट १ करोड १६ लाख ९८ हजार राजस्व उठाएको छ। पछिलो ११ महिनाभित्र विदेशमा उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयमा नोअबजेक्सन लेटर (एनओसी) लिनेहरू १ लाख २ हजार ८ सय ७३ पुगेका छन्।

दुई वर्षदेखि कोरोनाका कारण विभिन्न देशहरूले विदेशी विद्यार्थीलाई बन्देज लगाएका थिए। तर हाल कोरोना कहर सामान्य बन्दै गएको र अर्कोतर्फ स्वदेशी विश्वविद्यालयमा दिनहुँ हुने बन्द हडतालका कारण विद्यार्थीमा बढ्दै गएको निराशाले पनि नेपाली विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिनुपर्ने अवस्था बनेको भक्तपुरकी जिना श्रेष्ठले सुनाउँछिन्।

यता कोरोना कहर सामान्य बनेपछि विभिन्न देशहरूले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया समेत खुकुलो पारेका छन्। जसले गर्दा नेपाली विद्यार्थीको आकर्षण विदेशी विश्वविद्यालयमा बढेको छ। साथै विदेशमा पढाइका साथै रोजगारीको राम्रो अवसर र आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पनि विश्व बजारमा सजिलै बिक्ने भएकाले नेपाली विद्यार्थी बिदेसिने गरेका हुन्।

प्रमुख वस्तीका अनुसार हाल विद्यार्थीको उच्च रोजाइमा पर्ने देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत र कोरिया रहेका छन्। सबैभन्दा बढी अस्ट्रेलिया जाने गरेका छन्। तर,असोज महिनामा भने क्यानडा जानेको संख्या ह्वात्तै बढेको छ। असोजमा मात्र क्यानडा जाने विद्यार्थीको संख्या १४ सय ५८ छ।

त्यस्तै सो अवधिमा अस्ट्रेलियाका लागि ८ सय ५३, अमेरिकाका लागि ५२, डेनमार्कका लागि ३ सय ६३ र जापानका लागि ४ सय ७८ ले एनओसी स्वीकृत गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०२:१३ आइतबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय एनओसी शाखा नोअबजेक्सन लेटर (एनओसी)