सम्पादकीय

आठ अर्बको विश्व

विश्व जनसंख्या १५ नोभेम्बर २०२२ (२९ कात्तिक २०७९)लाई आधार मानेर आठ अर्ब पुगेको घोषणा संयुक्त राष्ट्रसंघले गरेको छ। विश्व जनसंख्या एक अर्ब बढ्न ११ वर्ष व्यतीत भएको छ। २०औँ शताव्दीमा जनसंख्या जुन गतिमा अगाडि बढिरहेको थियो, त्यसमा केही कमी आएको छ। जनसंख्या वृद्धिको प्रक्षेपणका आधारमा आगामी १५ वर्षमा नौ अर्ब मानिस विश्वमा बसोबास गर्न थाल्नेछन्। तर, सन् १९८० मै यो संख्या बढेर १० अर्ब पुगिहाल्छ भन्ने छैन।

सन् १९८७ मा नेपाललगायत विश्वले पाँच अर्बको संसार पुग्दा ठूलो चर्चा परिचर्चा गरेका थिए। योबेला नेपालको जनसंख्या पौने दुई करोडको मात्र थियो। नेपालले त्यो बेला नारा नै बनाएको थियो– पाँच अर्बको विश्व पौने दुई करोडको नेपाल। विश्व जनसंख्या आठ अर्ब पुग्दा स्वाभाविकरूपमा जनसंख्याको प्रवृत्ति, त्यसका निम्ति चाहिने सेवा सुविधा आदिको चर्चा हुनु स्वाभाविक हो। पृथ्वीमा जति धेरै मानिस हुन्छन्, तिनका निम्ति आवश्यक पानी र अन्य स्रोतको उत्तिकै आवश्यकता हुन्छ। त्यसले अन्ततः कार्बन फुटप्रिन्ट (पदचिह्न) बढ्ता सिर्जना गर्ने हो।

विश्वको बढ्दो जनसंख्या आफैँमा चुनौती हो। तर विश्वमा १० अर्ब जनसंख्या पुग्न समय लाग्ने आकलन पनि भइरहेका छन्। एकातिर, विश्वमा विज्ञान र प्रविधिले मानव जीवनलाई लम्ब्याइदिएको छ। अर्कोतिर, विगत शताब्दीमा जस्तो जनसंख्या बढाउन भन्दा पनि सन्तुलितरूपमा जन्म दरलाई राख्न मानिस सफल भएका छन्। हाम्रै मुलुकमा अहिले प्रौढावस्थामा पुगेको जनसंख्याले हिजो दर्जनौँ सन्तानका बीचमा हुर्किनुपरेको थियो भने आजको पुस्तामा परिवारमा एक वा दुई बालबालिका मात्र जन्मन्छन्। विगत शताव्दीमा एकै परिवारमा १०–१२ सन्तान जन्माउनु अनौठो थिएन। अचेल यसरी सन्तान जन्माउने परिवार देखिए भने अनौठो मान्ने अवस्था छ।

२०औँ शताब्दीको मध्यसम्म जनसंख्या वृद्धि व्यापक थियो भने त्यसपछि यो सुस्त हुँदै आएको छ। तैपनि थपिएको जनसंख्यालाई ख्वाउन र सेवा सुविधा पुर्‍याउन स्रोतको व्यापक प्रयोग गर्नुपर्ने हुन्छ। जनसंख्या वृद्धि हुँदै जानुमा पोषण, व्यक्तिगत सरसफाइ, औषधोपचार सेवामा आएको सुधार आदि हो। यसले मानव आयु बढ्दै गएको छ। विगत शताब्दीमा नेपालमै ७० वर्ष काट्ने मानिस कम हुन्थे। अहिले नेपालीको सरदर आयु ७१ वर्ष पुगिसकेको छ। मानिस लामो समय बाँच्ने भएपछि एकातिर जनसंख्या थपिँदै जान्छ भने अर्कोतिर युवा भन्दा ज्येष्ठ नागरिकको संख्या बढ्छ। यसले आय आर्जनमा कम सक्रिय व्यक्ति बढ्ने बित्तिकै अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्न थाल्छ।

अझै पनि केही देशमा प्रजनन दर उच्च छ। मध्यमस्तरको आय भएका एसियाली मुलुकमा जनसंख्या वृद्धि धेरै छ। यस्ता मुलुकका निम्ति युवा जनसंख्या थपिनु आर्थिक वृद्धिका हिसाबले ठीक हो। तर, जनसंख्यालाई त्यो मुलुकले कसरी व्यवस्थापन गर्छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ। युवा जनशक्तिलाई देशभित्रै प्रयोग गरेर उत्पादकत्व बढाउन सकियो भने त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। तर हाम्रो मुलुकमा उद्योगधन्दाको विकास हुन सकेको छैन। विगतमा अपनाउँदै आएको कृषि पेसा पनि छायामा परेको छ। यस्तो बेलामा युवालाई वैदेशिक रोजगारीमा पठाएर देशले विप्रेषणबाट आफूलाई बचाइरहेको छ। यसरी रकम पठाउने जनसंख्या बूढो हुँदै जाने र देशभित्र क्रियाशील हुन नसक्ने अवस्था आउन सक्छ। यसको सामाजिक मूल्य अझ बढी छ। परिवारबाट लामो समय छुट्टिएर बसेको जनसंख्यालाई समाजमा घुलमिल गराउन पनि चुनौती छ। जनसंख्याको सही व्यवस्थापन गर्न सके त्यही आर्थिक विकासका निम्ति स्रोत बन्न पुग्छ। सही व्यवस्थापन नगर्दा चुनौतीको विषय बन्न पुग्छ। हाम्रो मुलुकमा अहिले देखिएको अति असन्तुष्टिको परिणाम त्यो पनि हो। निर्वाचनका बेला झनै यस्तो असन्तुष्टि छताछुल्ल भइरहेको छ।  

नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको सुधारले जीवन लम्बिएको छ। यसले वृद्धको संख्या पनि बढेको छ। सक्रिय उमेर समूह १५ देखि ६४ वर्षका युवालाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको अवस्था अहिले छ। त्यसैकारण देशभित्र केही हुँदैन भनी विदेश जान खोज्ने युवाहरूको पंक्ति तयार छ। 

जनसंख्या उत्पादनका साधनमध्ये सबै भन्दा महत्वपूर्ण हुन्छ। यसलाई सदुपयोग गर्ने हो भने देशभित्रै उत्पादकत्व बढाएर वस्तु वा सेवा निर्यात गर्न सकिन्छ। त्यसले मुलुकको व्यापार घाटा कम गर्नसमेत मद्दत पुग्छ।

जनसंख्या वृद्धि आफैँमा रोचक पक्ष हो। सन् १९८७ मा विश्व जनसंख्या पाँच अर्ब हुँदा नेपालको जनसंख्या १ करोड ७६ लाख २४ हजार थियो। ३५ वर्षमा विश्वमा तीन अर्ब मानिस थपिएका छन्। आगामी ३५ वर्षमा बरु दुई अर्ब मात्र मानिस थपिने प्रक्षेपण भएको छ। व्यक्तिले धेरै सन्तान नजन्माउने प्रवृत्ति विकसित समाजमा रहेका कारण यस्तो भएको हो। हाम्रो मुलुकको अहिलेको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ। हाम्रो देशको जनसंख्या वृद्धि ऋणात्मक अर्थात् १.४६ प्रतिशत रहेको छ। नेपालको जनसंख्या वृद्धि दर कम हुनुमा जन्म दर घट्नु हो। जनसंख्या वृद्धिलाई सन्तुलित अवस्थामा राख्नु र विश्व जनसंख्या वृद्धिको गतिलाई बुझेर तद्नुकूलको नीति बनाउनु बुद्धिमत्तापूर्ण हुन्छ। विश्वको बढ्दो जनसंख्याले नेपाललाई पार्न सक्ने असरप्रति पनि सचेत हुनुपर्छ।

प्रकाशित: १ मंसिर २०७९ ००:२३ बिहीबार

संयुक्त राष्ट्रसंघ