सम्पादकीय

गण्डकीपछिको खेल गन्तव्य

नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रतिस्पर्धा बृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा भर्खरै सम्पन्न भएको छ। प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लामा १२ दिनसम्म खेल चलेर बिहीबार सकियो। यसबीच ५०औँ हजार मानिस गण्डकी पुग्दा पोखरा खेलकुदमय बन्न पाएको छ। तीन विभाग, सात प्रदेश र एक एनआरएनएका गरी करिब ७ हजार खेलाडीले यस राष्ट्रिय खेलकुदमा प्रत्यक्ष प्रतिस्पर्धा गरे। विभिन्न कारणले देशबाट पलायन भएका नेपालीलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) को माध्यमबाट पनि खेल आयोजनामा जोड्नुले उनीहरूमा राष्ट्रियताप्रति लगाव बढाउने काम भएको छ। खेलकुद एकताको सन्देश दिने माध्यम पनि हो। विश्वमाझ राष्ट्रको पहिचान दिलाउने सबैभन्दा बलियो आधार पनि हो, खेलकुद। त्यसैले यो आयोजनाकै माध्यमबाट एकताको सन्देश पनि फैलियो र विदेशमा रहेका नेपालीमा आफ्ना कला संस्कृतिबारे पुनर्ताजगी गर्ने अवसरसमेत यसले दिलाएको छ। एनआरएनएले विदेशमा सिकेका ज्ञान देशका खेलाडीले प्राप्त गर्नेछ भने उनीहरूले भविष्यमा देशमै लगानी गर्ने वातावरण पनि सिर्जना गराउनेछ।

उपराष्ट्रपति नन्दबहादुर पुन, देशको कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, मन्त्रीहरू, प्रधानसेनापति प्रभुराम शर्मा र अन्य सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीले राष्ट्रिय खेलकुदमा प्रत्यक्ष अवलोकन गरे। उनीहरूले चासोपूर्वक ती खेलप्रति जानकारी पनि राखे। उपराष्ट्रपतिले पनि नेपाली खेलकुदले देशलाई नै एकताको सूत्रमा बाँधिरहेका धारणा राखेका थिए। यस क्रममा प्रधानमन्त्री देउवाले खेलकुदमा लगानी बढाउन सरकार सदैव सकरात्मक रहँदै आएको उल्लेख गरे। प्रधानमन्त्री देउवाले भनेजस्तै सरकार राष्ट्रिय खेलकुदका लागि सकारात्मक देखिएको थियो। देशमा तीन तहका चुनावका बाबजुद सरकारले राष्ट्रिय खेलकुद आयोजनाका लागि ६० करोड बजेट विनियोजन गरेर सकरात्मक सन्देश दिएको छ। यता निर्वाचन आयोगले पनि सहजपूर्वक खेल आयोजनाको अनुमति दियो। अन्य सुरक्षा विभाग, व्यवसायी र स्थानीय निकायले पनि चासो देखाउनुले खेलप्रति सकारात्मक सन्देश जाने आशा गर्न सकिन्छ।

सरकारका उच्चपदस्थ पदाधिकारीको आगमनले उनीहरूलाई पनि खेलप्रति केही सकारात्मक बनाउने आशा गर्न सकिन्छ। यसै नवौँ संस्करणबाट पहिलोपटक राष्ट्रिय खेलकुदले प्रायोजक पनि प्राप्त गर्‍यो। यसले गर्दा कर्पोरेट क्षेत्रको पनि खेलप्रति धारणा विस्तारै परिवर्तन हुँदै आएको मान्न सकिन्छ। यसबाहेक खेलाडीले खेल्नु र पदक जित्नुमा मात्र यो आयोजना सीमित भएको छैन। यो आयोजनाले खेलकुदका लागि मात्र नभएर आन्तरिक पर्यटन विकासमा पनि ठूलो टेवा पुगेको छ। खेल आयोजनाका कारण करिब ८० हजार भन्दा बढी मानिस गण्डकी प्रदेश भित्रिए। त्यसकारण यहाँका होटेल, पर्यटकीय स्थल र संस्कृति प्रवद्र्धनका हिसाबले पनि राष्ट्रिय खेलकुद गण्डकीका लागि राहत प्याकेज बन्यो। किनकि कोरोनाका कारण अझै राम्रोसँग यहाँका व्यवसाय माथि उठ्न सकिरहेका थिएनन्। समस्यामा रहेका व्यवसायीहरूलाई आन्तरिक पर्यटनले भए पनि केही सघाउ पुगेको छ।

पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद फर्किएको हो। त्यसअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) का केही प्रतिस्पर्धा यहाँ भएको थियो। त्यस क्रममा अन्य प्रदेशको तुलनामा खेल संरचना पनि बनेका छन्। त्यसैले काठमाडौँपछि खेलकुदको दोस्रो सहरका रूपमा पोखरा विकास भइरहेको हो। केही खेल संरचना निर्माण र स्तरोन्नतिका काम भयो। खेल आयोजनाकै लागि करिब दुई करोड बराबरी पूर्वाधारमा लगानी हुनुले गण्डकीको खेल विकासमा थप सहयोग पुग्ने मान्न सकिन्छ। यसले समग्रमा राष्ट्रकै खेलकुद विकासमा काम गर्नेछ। यति ठूलो आयोजनाको खेल हुँदा स्थानीय सरकारलाई पनि खेलप्रति लगानी गर्नुपर्ने रहेछ भन्ने भावना पनि जगाएको छ। यसको ज्वलन्त उदाहरण हो, स्याङ्जाको वालिङ नगरपालिका। वालिङले महिला फुटबल मैदान निर्माणका लागि मात्र ५० लाख खर्च गरेको छ। वालिङले जस्तै तनहुँ र बाग्लुङका स्थानीय तहले पनि खेल संरचना निर्माणमा लगानी गरे। राष्ट्रिय खेलकुदप्रति उनीहरूले अपनत्व लिनु भनेको स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सकारात्मक बन्नु हो।

२०३८ सालमा तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले राष्ट्रिय खेलकुद सुरु गरेका हुन्। खेल आयोजना गर्दा खेल संरचना पनि विभिन्न क्षेत्रमा बनोस् भन्ने उनले चाहेका थिए। सोही अनुरूप उनले हरेक २/२ वर्ष राष्ट्रिय खेलकुद आयोजना गर्ने व्यवस्था लागु गरे। उनी सागका पनि जन्मदाता हुन्। उनकै पहलमा नेपालबाटै दक्षिण एसियाली खेलकुदको ठूलो खेल प्रतिस्पर्धा सुरु भएको थियो। राष्ट्रिय खेलकुद सुरु गर्नुमा शाहको मुख्य उद्देश्य देशका हरेक कुनाबाट खेलाडी उत्पादन गर्नु थियो। राष्ट्रिय खेलकुदको पहिलो तीन संस्करण दुुई वर्षको अन्तरमा आयोजना भयो। त्यसपछि भने उनको योजनाले सार्थकता पाएन। देशमा व्यवस्था परिवर्तनका आन्दोलन भइरहँदा त्यसको प्रभाव खेलकुदमा पनि पर्‍यो। त्यस कारण पनि ४१ वर्षको इतिहासमा बिहीबार नवौँ संस्करणको समापन भयो। नियमितरूपमा आयोजना हुँदो हो त अहिले २१औँ संस्करणको तयारीमा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) जुटेको हुन्थ्यो। जे होस्, शरदचन्द्र शाहले थालनी गरेका राष्ट्रिय खेलकुदले निरन्तरता पाएको छ। कम्तीमा दुई वर्षमा भए पनि देशका निर्वाचन क्षेत्रदेखि खेलाडीको छनोट हुन पाएको छ। यसले गर्दा खेलकुदप्रति आममानिसको पनि लगाब बढ्न थालेको देखिन्छ।

आशा गरौँ, विभिन्न कारणले राष्ट्रिय खेलकुद प्रभावित नबनोस्। साँच्चै राष्ट्रको पहिचान बोक्ने खेलाडी मारमा नपरुन्। एकताको सन्देश बोक्ने खेलकुद निर्विवाद रूपमा आयोजना हुन्छ भन्ने आशा गरौँ। खेलकुद विश्वलाई नै एकता सूत्रमा बाँध्ने सबै भन्दा बलियो माध्यम हो। तर अहिले विश्वका ठूला राष्ट्रले युद्धबिना नै आफूलाई शक्तिशाली देशका रूपमा उभ्याउनका लागि पनि खेललाई रोजिरहेका छन्। त्यसैले विश्व खेलकुदका ठूला प्रतिस्पर्धाका लागि उनीहरूको लगानी दिनानुदिनु बढिरहेको छ। विश्वकै सबैभन्दा ठूलो खेल महोत्सव हो, ओलम्पिक। यसको इतिहास १ सय वर्ष पुरानो हो। अमेरिकाले एउटा ओलम्पिकको तयारीका लागि ५५ बिलियन डलरसम्म खर्च गरेको इतिहास छ। बेलायत, अमेरिका, जापान, चीन र रसिया लगायत राष्ट्रले एउटा ओलम्पिकका लागि एक दशकदेखि तयारी गरेका हुन्छन्। यी शक्ति राष्ट्रले जस्तै हामीले पनि घरेलु प्रतियोगिता व्यवस्थित बनाउँदै ओलम्पिकमा पहिलो पदक जित्ने अवसर छिट्टै मिलोस् भन्ने आशमा खेलाडी छन्। खेल प्रशासकले राज्यले गरेका लगानीलाई सही ठाउँमा प्रयोग गरुन् र कर्मकाण्डी पारामा खेल आयोजना नभएमा मात्र नेपालले ओलम्पिकमा पदक जित्न सम्भव हुनेछ। शरदचन्द्र जस्ता खेलकुदका दूरगामी योजनाकारको लक्ष्यले पूर्णता पाउनेछ।

प्रकाशित: ६ कार्तिक २०७९ ००:१५ आइतबार

गण्डकीपछिको खेल गन्तव्य बृहत् राष्ट्रिय खेलकुदको नवौं संस्करण