सम्पादकीय

शताब्दीका साक्षी

शताब्दी पुरुष सत्यमोहन जोशी अब आफ्ना कीर्तिहरूमा हामीबीच बाँचिरहने छन्। सक्रिय र सार्थक जीवनका पर्याय बनेका उनको आइतबार बिहान ७ः०९ बजे निधन भएको हो। डेंगीका कारण किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका १ सय ३ वर्षीय जोशीलाई हामीले गुमाउनुपरेको छ। जन्मपछि मृत्यु अवश्यम्भाव हो। तैपनि जोशी जस्ता जीवन र जगत्लाई योगदान गर्ने व्यक्ति गुमाउनुपर्दाको पीडा देशलाई हुन्छ। त्यही भएर सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। राष्ट्रसेवी अथक स्रष्टा जोशीलाई देशले दिएको यो सम्मानमा प्रत्येक नेपालीको साथ छ।  

जोशीको सक्रिय जीवनलाई निकटबाट अनुभव गर्नेका निम्ति त्यो यथार्थ थियो। अरूका निम्ति त्यो भविष्यमा स्वैर कल्पना जस्तो हुन सक्छ। आफ्नो जीवनलाई शताब्दीमा पुग्दासमेत सक्रिय तुल्याइरहने उनको ऊर्जा सदैव प्रेरणा स्रोत बनिरहने छ। सादा जीवन उच्च विचारका यी व्यक्तित्वलाई यत्तिकै बिर्सन सकिँदैन। उनी जति दिन बाँचे, सक्रिय रहे। आफ्नो जीवनको अन्त्यपछि समेत आफ्नो पार्थिव शरीर अनुसन्धानका निम्ति अस्पताललाई हस्तान्तरण गरेर उनले ठूलो पुण्यको काम गरेका छन्। मानव जीवनकै हितका निम्ति उनले आफूलाई समर्पित गरेको योभन्दा अर्को दृष्टान्त केही हुन सक्दैन।  

शताब्दी पुरुष जोशीको जन्म ललितपुरको बखुम्बहालमा १९७७ वैशाख ३० गते भएको थियो। राणाकालीन समयमा जन्मिएर मुलुकमा प्रजातन्त्र स्थापना, त्यसको अपहरण, पुनः प्राप्ति हुँदै गणतन्त्रसम्मको सिंगो शताब्दीका उनी द्रष्टा थिए। १९९० सालको भूकम्पमा किशोरावस्थामा रहेका जोशी २०७२ सालको भूकम्पका बेला शताब्दी भोगिसकेका थिए। बितेको शताब्दीमा उनले बिफर, औलो, हैजा र कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको अनुभव गरे। कोभिड–१९ मा आफूलाई सुरक्षित राखेका उनलाई काठमाडौँमा आइपुगेको डेंगीले क्षीण बनाएको थियो।  

उनको स्मृतिमा राजनीति, सांस्कृतिक घटनाक्रम जहिल्यै ताजा थियो। त्यसलाई साहित्यिक, सांस्कृतिक र अन्य कार्यक्रममा रोचक ढंगले प्रस्तुत गर्थे। उनलाई सुन्नु जहिल्यै रोचक थियो। कुनै पनि विषयको गहिरो अध्ययन र अवलोकन मात्र होइन, त्यसबारे बोल्नसमेत उनलाई सहज थियो। उनी यति धाराप्रवाह बोल्थे कि स्रोता मन्त्रमुग्ध हुन्थे। उनले अरनिकोमाथि पनि आफ्नो अध्ययन प्रस्तुत गरेका थिए। नाट्य लेखनमा पनि उनको दक्षता थियो।  

आफ्नो जीवनकालमा तीनपटक मदन पुरस्कार पाउने स्रष्टा छैनन्। जोशीले दुईपटक एक्लै र एकपटक सामूहिक रूपमा यो पुरस्कार पाएका थिए। नेपालका विभिन्न गाउँमा गएर विरही गीत संकलन गर्ने क्रममा ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए। यही पुस्तकले उनलाई २०१३ सालमा मदन पुरस्कार दिलाएको थियो। लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्रा खोजी गरेर लेखेका ‘नेपाल राष्ट्रिय मुद्रा’ ले उनलाई २०१७ सालमा दोस्रो मदन पुरस्कार जुराएको थियो।  

नेवार परिवारमा जन्मिएका उनले स्कुल जीवनमा नेपाली भाषामा पकड नहुँदा असजिलो अवस्था भोग्नुपरेको थियो। कालान्तरमा उनी त्यही भाषाको उद्गमस्थलको खोजी गर्न अन्वेषक टोलीसहित २०२७ सालमा त्यहाँ पुगे। मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ, भूगोलविद् स्थिरजङ्गबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु र संस्कृतिविद् प्रदीप रिमालसहितको उक्त टोलीले गरेको अध्ययनकै आधारमा २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ ले सामूहिकरूपमा मदन पुरस्कार प्राप्त गरेको हो। त्यो पुरस्कार उनका निम्ति भने तेस्रो हुन पुग्यो।  

उनको निरन्तर लगत र परिश्रमले राष्ट्रियस्तरको स्रष्टाका रूपमा उभ्याएको हो। उनलाई संस्कृतिविद्का रूपमा पनि उत्तिकै सम्मान र आदरका साथ लिइने गरेको छ। आउने नेपाली पुस्ताले समेत उनका अध्ययन, खोज र चिन्तनका आधारमा यो शताब्दीका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन्। त्यति मात्र होइन, जोशी जस्ता धरोहर यो शताब्दीमा बाँचेका थिए भन्ने थाहा पाएर तिनीहरू धन्य हुनेछन्।

२०१५ सालमा उनी पुरातŒव विभाग (नेपाल) को पहिलो निर्देशक बने। कालान्तरमा यिनै स्रष्टाको तस्बिर अंकित चाँदीको सिक्कासमेत नेपाल राष्ट्र बैंकले जारी गरेको थियो। जोशीले आफ्नो जीवनकालमा पाएका सम्मान धेरै छन्। जीवनको उत्तराद्र्धमा ललितपुर महानगरपालिकाले उनलाई सम्मान गर्दै केही सुविधा प्रदान गर्‍यो। उनी सय वर्ष पुगेको वर्ष २०७६ सालमा उनको वर्षैभरि जन्मोत्सवको कार्यक्रमसमेत महानगरपालिकाले आयोजना गरेको थियो।

त्यसै वर्ष नागरिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले आफ्नो वाषिकोत्सवका अवसरमा उनलाई नागरिक नायक सम्मान प्रदान गरेको थियो। पाटन कृष्णमन्दिर प्रांगणमा जोशीले उक्त सम्मान ग्रहण गर्दा र अन्तरक्रिया गर्दा स्थानीय बासिन्दा र उपस्थित व्यक्तिले मन्त्रमुग्ध भएर उनको प्रशंसा गरेका थिए। चिन्ता होइन, चिन्तन गर्न उनले दिएको प्रेरणा सबैका निम्ति मननयोग्य थियो।

२०७८ फागुनमा पत्रकार गिरीश गिरीले उनको जीवनी प्रकाशन गरेका थिए। उनलाई आफू सय वर्ष पुगेपछि आफ्ना बारेमा लेखियोस् भन्ने लागेको थियो। गिरीले लेखेको ‘सत्यमोहन’ ले पुरस्कारसमेत दिलाएको थियो। जोशीको जीवन दर्शन बनेको जुरेली चरीलाई पुस्तकमा पनि चित्रण गरिएको छ। युवावस्थामै एकपटक गम्भीर बिरामी परेका उनले यही जुरेली चिन्तनलाई जीवनभरि पछ्याइरहे। सन्तोषी भएर बाँच्न उनले त्यहीँबाट सिकेका थिए। त्यही सन्तोषी बानीले शतायुसम्म बाँच्न सक्षम बनाएको हो।

जोशीको जीवन सधैँ जिज्ञासाले भरिएको थियो। उनी जिज्ञासुले घेरिइरहेका पनि हुन्थे। अध्ययन, चिन्तन, लेखनको अविराम यात्रा हो– सत्यमोहन जोशी। त्यो यात्रामा अब पूर्णविराम लागेको छ। उनले थालेका कामलाई निरन्तरता दिन नयाँ पुस्ता सक्रिय भयो भने त्यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। हामी इतिहासका साक्षी शताब्दी पुरुष जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छौं। 

प्रकाशित: ३१ आश्विन २०७९ ००:२४ सोमबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी