सम्पादकीय

ख्यालख्याल होइन खेल

गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले सबैको ध्यान तानेको छ। अबका पाँच सातामा मुलुकले भावी प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्दैछ। त्यसअघि भइरहेको खेल महाकुम्भले पनि राजनीतिक क्षेत्रलाई धेरथोर प्रभावित गर्नेछ। निर्वाचनमा विजय हासिल गर्न चाहने राजनीतिक व्यक्तिका निम्ति पनि खेलाडीले प्रदर्शन गरेको अनुशासन र लगनशीलता ध्यानयोग्य हुन्छ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको आफ्नै गौरवमय इतिहास छ। पञ्चायतकालमै सुरु भएको यो प्रतियोगिताको विशेषता भन्नु नै देशका कुनाकाप्चाबाट खेलाडी भेला पारी राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने हो। २०३८ सालमा पहिलोपटक काठमाडौँमा बृहत् राष्ट्रिय खेलकुद आयोजना भएको हो। यस हिसाबले देशमा अहिले २१ औँ राष्ट्रिय खेल आयोजना हुनुपर्ने हो। यो शृंखला बल्ल नवौँ पुगेको छ।

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन नसक्नुबाट पनि हामीकहाँ कुनै पनि काम नियमित रूपमा नहुने दृष्टान्त मिल्छ। अन्यथा, यसलाई जस्तोसुकै अवस्थामा नियमित गर्न केहीले छेक्ने थिएन। विशेषगरी राजनीतिले राम्ररी बाटो नसमातेको मुलुकमा खेल क्षेत्रको यही हविगत हुन्छ। खेल क्षेत्रले मुलुकलाई जोड्छ। खेलाडी मात्र होइन, आमनागरिकमा राष्ट्रियताको भावना जागृत हुन्छ। अन्तर्राष्ट्रिय खेल मैदानमा नेपाली चन्द्र-सूर्य अंकित झण्डा बोकेर खेलाडीले मार्चपास गरेका बेला कसको छाती गर्वले ढक्क फुल्दैन र?

जमिनको क्षेत्रफलका आधारमा नेपाल विश्वका ठूला मुलुकमध्ये ९३औँ स्थानमा पर्छ। यो दक्षिण एसियाको सबैभन्दा जेठो स्वतन्त्र मुलुक हो। नेपाल बनेको कैयन् वर्षपछि अस्तित्वमा आएका देशहरूले यतिबेला आफूलाई गर्वलायक स्थानमा पुर्‍याइसकेका छन्। खेल क्षेत्रमा नेपालभन्दा साना मुलुकले समेत विश्व मानचित्रमा आफ्नो स्थान बनाएका छन्। हामीकहाँ खेल क्षेत्र अझै पनि परित्यक्त जस्तो छ। यसलाई प्रोत्साहित गर्न र अगाडि बढाउने काम हुन सकेको छैन। बंगलादेशले आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेपछि घर बनाइदिएका उदाहरण छन्। भारतमा खेलाडीका निम्ति सुरक्षा क्षेत्रदेखि ठुल्ठूला कम्पनीमा इज्जतदार रोजगारी दिने गरिएको छ। हामीकहाँ दिइहाले पनि भान्छे वा सरसफाइ कर्मचारीको हैसियत भन्दा माथि खेलाडीलाई उकास्न ध्यान दिएको पाइँदैन।

नेपालमा हुने ठूला प्रतियोगितामध्ये सबैभन्दा महत्त्वको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना नियमित रूपमा गर्ने प्रतिबद्धता हुनुपर्छ। यसका निम्ति राज्यले आवश्यक बजेट व्यवस्थादेखि यस क्षेत्रको संरचनात्मक सुधारका निम्ति काम गर्नुपर्छ। राजनीतिक क्षेत्रले चाहेमा जस्तोसुकै खर्च जुटाउन सक्छ। नेपालमा स्रोत/साधनको अभाव छैन। समस्या भनेको व्यवस्थापनको हो। खेल क्षेत्रको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद्मा हुने राजनीतीकरणको प्रभावले पनि यस क्षेत्रलाई जहिल्यै खुम्च्याएको छ। खेल क्षेत्रलाई राजनीतिको प्रभाव मैदान बनाउनु भन्दा पनि योग्य खेलाडी र प्रशिक्षकलाई प्रोत्साहित गर्न योग्य बनाउनु अहिलेको आवश्यकता हो।

खेल क्षेत्र अनुत्पादक होइन। युवा पुस्तामा यसको ठूलो आकर्षण रहेको छ। क्रिकेट, फुटबल वा अन्य यस्तै खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक हिसाबले पनि ठूलो प्रगति गर्छन्। हामीकहाँ खेल क्षेत्रमै लागेर जीवनस्तर सुधार गर्न सकिने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो। खेलाडीलाई ढुक्क भएर अभ्यास गर्न, जीवनयापन गर्न र न्यूनतम आवश्यकता पूरा गर्न सक्ने अवस्थामा पुर्‍याउने हो भने त्यसको प्रतिफल मुलुकका निम्ति गर्वलाग्दो हुनेछ। अनेकन समस्या हुँदाहुँदै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलताले यस क्षेत्रमा आशाका किरण फैलाएको छ। तर राज्यस्तरबाट यसका निम्ति आवश्यक काम हुन सकेको छैन।

त्यसैले खेल क्षेत्रका निम्ति छाती ठूलो बनाएर खर्च गर्न र संरचनागत सुधारमा लाग्न यो प्रतियोगिताले सरकारलाई प्रेरित गर्न सक्नुपर्छ। चना र अण्डा खाएका भरमा मात्र खेलाडीले उत्कृष्टता प्रदर्शन गर्न सक्दैनन्। तिनलाई यथोचित तालिमको व्यवस्था गर्न सक्नुपर्छ। खेल क्षेत्रलाई राजनीतिबाट सकेसम्म टाढा राख्न सक्नुपर्छ। व्यावसायिक खेलाडीको नेतृत्वमा यसलाई अगाडि बढाउने हो भने सफलता सम्भव छ।

खेल संस्थामा जहिल्यै राजनीतिक दलले आफ्नो प्रभाव विस्तार गर्न चाहेको देखिन्छ। आफ्ना नेता तथा कार्यकर्तालाई पद दिने नाममा राष्ट्रिय खेलकुद परिषद्लाई निकम्मा बनाइएको छ। बेलाबेलामा त्यहाँ देखिने राजनीतिक खिचातानीले सबैलाई दिक्क पार्छ। यसकारण पनि खेल क्षेत्रको विकासमा लाग्न सक्ने योग्य व्यक्ति त्यसमा पुग्नु आवश्यक हुन्छ। हामीकहाँ यदाकदा कुनै प्रधानमन्त्रीलाई मन लाग्यो भने खेलाडीलाई बोलाएर बालुवाटारमा भेट्ने वा पुरस्कार घोषणा गर्ने चलन छ। यसरी घोषणा गरेको पुरस्कार समेत कैयन् वर्षसम्म नदिइएका उदाहरण पनि छन्। त्यसैले यस्तो झुक्याउने खालको रवैया भन्दा खेलाडीलाई प्रोत्साहित गर्ने इमान्दार इच्छाशक्ति नित्तान्त आवश्यक छ।

सबै क्षेत्रमा अति राजनीतीकरण भइसकेको छ। त्यसैले खेल क्षेत्रलाई अगाडि बढाउने दृष्टिकोण बनाउनु आवश्यक छ। खेलाडीले राम्रो प्रदर्शन गरेको केही दिन उच्च कदर गरेको जस्तो व्यवहार देखाउने र पछि बिर्सने गरेको देखिन्छ। खेल क्षेत्रलाई साँच्चिकै विकास गर्ने दृढ अठोट आवश्यक छ। राष्ट्रिय खेलकुद प्रतियोगिताको नियमित आयोजनाको प्रतिबद्धता पहिलो सर्त हो। अहिले उम्दा प्रदर्शन गरेका खेलाडीलाई भविष्यमा चिन्तित हुनु नपर्ने गरी खेल क्षेत्रमै लाग्ने वातावरण बनाउन सरकारको तत्परता आवश्यक छ। देशभरिबाट खेलाडी स्थानीय तहदेखि नै छनोट भएर आउने यस्तो प्रतियोगिताले प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकियोस्। 

प्रकाशित: ३० आश्विन २०७९ ००:०८ आइतबार

राष्ट्रिय खेलकुद प्रतियोगिता ख्यालख्याल होइन खेल