सम्पादकीय

चरा संरक्षणमा चासो

नेपाल चराका विभिन्न प्रजातिको प्यारो बासस्थान हो। क्षेत्रफलका हिसाबले विश्वको शून्य दशमलव एक प्रतिशत स्थान ओगटेको नेपालमा विश्वमा पाइने चराहरूको कुल प्रजातिको झण्डै ९ प्रतिशत पाइन्छन्। नेपालमा हालसम्म ८९१ थरीका चराका प्रजाति अभिलेख भएका छन्। नेपालका लागि यो गर्वको विषय हो।

त्यसो त, जैविक विविधताका हिसाबले नेपाल धनी राष्ट्र मानिन्छ। समुन्द्री  सतहबाट ५७ मिटर (मुसहरनिया, धनुषा) देखि सगरमाथाको चुचुरो ८८४८.८६ मिटरसम्म नेपालको भौगोलिक सतह पर्छ। यस हिसाबले संसारमै सबैभन्दा बढी भौगोलिक विविधता भएको देश नेपाल हो। नेपालमा २ सय भन्दा बढी स्तनधारी जनावर तथा १९० थरीका घस्रने जीव (सरिसृप), माछा २३० पाइन्छन् भने नेपालमा हालसम्म वनस्पतिका करिब १२ हजार प्रजाति सूचीकृत भइसकेका छन्। यो हिसाबले जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले विश्वमा नेपालले अलग्गै पहिचान बनाएको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै छन्। हिमाली भेगको जैविक विविधताबारे यथेष्ट अध्ययन नभए पनि विश्वमै सर्वाेच्च क्षेत्रमा जैविक विविधता नेपालमा रहेको विभिन्न अध्ययनले देखाएका छन्।

सन् १९७० देखि नेपालले जैविक विविधताको संरक्षणमा विभिन्न प्रयास थालेको हो। यो प्रयासले केही राम्रो प्रतिफल पनि दिएको छ। नेपालको वन क्षेत्रले ४५ प्रतिशत भूभाग ओगटेको छ। नेपालमा एकसिंगे गैँडा तथा पाटे बाघ जस्ता दुर्लभ जनावर पाइन्छन्। नेपाल सरकारको पन्ध्रौँ योजनामा नेपालमा ११८ प्रकारका पारिस्थितिकीय प्रणाली, ३५ प्रकारका वन, ११ हजार ९७१ वनस्पति प्रजाति र ११ हजार ८६१ प्राणी प्रजाति रहेका उल्लेख छ।

त्यसैले नेपालको जैविक विविधता विश्वकै निम्ति महत्त्वपूर्ण सम्पदा मान्न सकिन्छ। नेपालमा आउने  विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले संरक्षित क्षेत्र र सामुदायिक वन भ्रमण गर्ने तथ्यले पनि पर्यटकहरू नेपालको जैविक विविधता हेर्न आउने पुष्टि हुन्छ। यस आधारमा जैविक विविधता नेपालको आकर्षण र सौम्य शक्तिका रूपमा स्थापित भइरहेको मान्न सकिन्छ।

तर यसो हुँदाहुँदै पनि जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तारलगायतका कारणले वर्षौँदेखि नेपाललाई घर बनाइरहेका जीवजन्तुलाई बाँच्न चुनौती थपिएको छ। सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेका र घासेमैदान र वनमा आधारित चराहरूलाई संकट बढ्दो क्रममा रहेको पछिल्ला अध्ययनले देखाएका छन्। कृषि बालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनलगायतका कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको विज्ञको ठम्याइ छ। समयमै उचित र ठोस प्रयास नगरेमा नेपालले गर्व गर्ने यी प्रजातिहरू लोप हुन सक्ने देखिन्छ।

गत मंगलबार सार्वजनिक विश्वका चराहरूसम्बन्धी प्रतिवेदनको नतिजा नेपालका लागि पनि सान्दर्भिक देखिन्छ। विश्वका चराहरूका बारेमा हरेक चार वर्षमा प्रकाशित हुने ‘स्टेट अफ वर्ल्डस बर्डस-२०२२’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषि खेतीको विस्तार, जंगली आगो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वन विनाश, आक्रमणकारी प्रजातिलगायतका कारण यति ठूलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नुपरेको हो।

हिमाली भेगको जैविक विविधताबारे यथेष्ट अध्ययन नभए पनि विश्वमै सर्वाेच्च क्षेत्रमा जैविक विविधता नेपालमा रहेको विभिन्न अध्ययनले देखाएका छन्।

चराहरूको संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्था वल्र्ड लाइफ इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार तथा सघनताका कारण चराहरूका कुल प्रजातिमध्ये ७३ प्रतिशतलाई बाँच्न चर्काे दबाब सिर्जना भएको छ। विश्वमा चराका ११ हजार विभिन्न प्रजाति रहेका मानिएको छ। अध्ययनले पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधाजसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक ८ प्रजातिमध्ये एक विलुप्त हुने संघारमा रहेको देखाएको छ। यो संकटका लागि मुख्य रूपमा मानवीय क्रियाकलाप र जलवायु परिवर्तनलाई जिम्मेवार मानिएको छ। सन् २०१८ मा सार्वजनिक गरिएको समान प्रकृतिको प्रतिवदेनमा विश्वका ४० प्रतिशत चराका प्रजाति ह्रासोन्मुख रहेको देखिएकामा सन् २०२२ सम्म आइपुग्दा यो बढेर ४९ प्रतिशतमा पुगेको छ। सबैभन्दा चिन्ताको विषय सन् १५०० यता १८७ प्रजातिका चराहरू सदाका लागि विलुप्त भैसकेका छन्।

हाम्रो जीवन, संस्कृति तथा पृथ्वीको पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेका चराहरूको संरक्षणमा हाम्रो  यथेष्ट ध्यान पुग्न जरुरी छ। विश्वको पारिस्थितिकीय प्रणालीमा पराग कण संवाहक, बिउविजन फैलाउने, सिनो खाएर वातावरण सफा राख्ने तथा इकोसिस्टम इन्जिनियरका रूपमा चराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन्। लामो दूरीसम्म यात्रा गर्ने भएकाले एकापसमा लामो दूरीमा रहेका पारिस्थितिकीय प्रणालीको अन्तर्सम्बन्ध राख्न, अन्य जीव तथा पोषक तत्त्वको प्रसारण गर्न चराहरूको महत्त्वपूर्ण भूमिका छ। पछिल्ला वर्षमा विश्वमा चरा अवलोकन (बर्ड वाचिङ) को लोकप्रियता बढ्दो छ भने यसले संरक्षण र आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गरेको छ।

चरासम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था वल्र्ड लाइफ इन्टरनेसनलले प्रकाशन गरेको उक्त प्रतिवेदनमा चरा संरक्षणका लागि  आगामी एक दशक अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गरिएको छ। यो अवधिमा संरक्षणका गंभीर प्रयास नगरिएमा चराहरूका थप प्रजाति सदाका लागि विलुप्त हुने चेतावनी प्रतिवेदनको छ। प्रतिवेदनले यो चुनौतीलाई सामना गर्न केही उपाय पनि सुझाएको छ।

संरक्षित क्षेत्रको संख्या र गुणस्तरमा वृद्धि, चराका बासस्थान संरक्षणका लागि थप प्रयास गर्न प्रतिवेदनले सुझाएको छ। चोरी सिकारी, आक्रमणकारी प्रजातिको व्यवस्थापन, प्राकृतिक संसाधनको दोहनमा नियन्त्रण तथा आमजनचेतनाको विकासले विनाशलाई रोक्न सकिने तर्क प्रतिवेदनको छ। जलवायु परिवर्तनका लागि जिम्मेवार मानिएको खनिज इन्धनको प्रयोगमा कमी गर्न, प्रकृतिमा आधारित संरक्षणका उपाय अवलम्बन गर्न तथा नवीकरणीय ऊर्जाको प्रयोगले चराहरूको संरक्षणमा सहयोग हुने प्रतिवेदनको ठहर छ। नेपालमा रहेका सबै जीव र वनस्पतिको संरक्षणका लागि छुट्टाछुट्टै योजना बनाउन अव्यावहारिक हुन्छ। यसका लागि एकीकृत योजना आवश्यक हुन्छ। एउटा जीव संरक्षण गर्दा अर्का जीवको पनि संरक्षण भैरहेको हुन्छ। तर यसो हुँदाहुँदै पनि संकटोन्मुख प्रजातिका लागि संरक्षणको छुट्टै कार्ययोजना आवश्यक हुन्छ। यो सन्दर्भमा नेपालमा रहेका दुर्लभ  र लोपोन्मुख चराहरूको संरक्षणमा विशेष ध्यान दिन अब ढिलाइ गर्नु हुँदैन। यो कामका लागि सबैभन्दा उपयुक्त समय अहिले नै हो।  

प्रकाशित: १४ आश्विन २०७९ ००:१५ शुक्रबार

चरा संरक्षणमा चासो हाम्रो जीवन संस्कृति तथा पृथ्वीको पारिस्थितिकीय प्रणाली