सम्पादकीय

अवरुद्ध वैदेशिक व्यापार आयाम

चीनसँगको व्यापार नेपालका निम्ति सामरिक र आर्थिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण छ। चीनले प्रायः विश्व बजारमा आफ्ना वस्तु पठाएर अधिपत्य जमाउँदै गएको छ। नेपालमा पनि खासगरी कपडा, खाद्यान्न, बिजुली लगायतका चिनियाँ वस्तु उपभोग गरिन्छ। भारत हुँदै चिनियाँ वस्तु नेपाल आयात गर्नुभन्दा सिधै उत्तरतिरका नाकाबाट ल्याउने हो भने समय र मूल्य दुवै हिसाबले फाइदा हुने देखिन्छ। सामरिक दृष्टिले उत्तरी सीमा सक्रिय हुनु नेपालका निम्ति अझ बढ्ता महत्त्व राख्ने पक्ष हो। प्रकृतिले नेपाललाई भारत र चीन जस्ता दुई ठूला मुलुकको बीचमा राखेको छ। नेपालको यो अवस्थिति आफैँमा अवसर पनि हो। यसले कुनै एउटा देशमाथिको निर्भरता घटाउँछ। यसले नेपालको आयात र निर्यातको आयामलाई समेत सशक्त तुल्याउँछ।

२०७२ असोज ३ मा मुलुकले संविधान सभामार्फत नयाँ संविधान जारी गरेपछि दक्षिणको छिमेकी भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि चीनसँगका उत्तरी नाकाको महत्त्व झनै महसुस भएको हो। नेपाल–तिब्बत व्यापारको इतिहास सबैले बुझेकै छन्। विगतमा काठमाडौँ–कोदारी जोड्ने ११४ किलोमिटर लामो अरनिको राजमार्ग निर्माण भएपछि चीनसँग नेपालको प्रत्यक्ष सम्पर्क भएको हो। चीन र भारतबीच सन् १९६२ मा युद्ध भएपछि बाँकी संसारसँग जोडिने बाटो अवरुद्ध भयो। दक्षिण एसियासँग जोडिन चीनका निम्ति बाटो आवश्यक परेका बेलामा यो राजमार्ग खुल्ने पृष्ठभूमि तयार भएको थियो। सन् १९६३ मा नेपाल र चीनबीच अरनिको राजमार्ग निर्माणका निम्ति सम्झौता हुनु आफैँमा एउटा उल्लेख्य घटनाक्रम थियो। यसले नेपाललाई चीनसम्मको सहज पहुँच दिएको हो।

भारतले पटक-पटक विभिन्न निहुँमा नाकाबन्दी गरेको परिणाम नेपालले उत्तरतिरका नाका खोल्नुपर्ने आवश्यकता महसुस गरेको हो। भूकम्पको लगत्तै उत्तरी नाकाबारे चासो नदेखाएको तत्कालीन अवस्थामा बल्ल सबैको ध्यान पुगेको हो। उत्तरी सीमाबाट तेल र रेल दुबै ल्याउन सकिने धारणा सार्वजनिक हुँदा मात्रै पनि नेपालीले सशक्त भएको महसुस गरेका हुन्। चीन नेपालको दोस्रो ठूलो व्यापारिक कारोबार हुने देश हो। भारतपछि नेपालले चीनसँग धेरै व्यापार गर्छ। आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ६४ अर्ब रुपियाँ मूल्यका सामान नेपालले चीनबाट आयात गरेको थियो। कोभिड–१९ महामारीभन्दा अघिसम्म नेपालले दैनिक दुई सयदेखि साढे दुई सयसम्म ट्रक सामान चिनियाँ नाकाबाट ल्याउने गरेको थियो।

नेपालले चीनसँगका नाकालाई जति सक्रिय बनाउन सक्यो उति फाइदा हुन्छ। नेपालले त्यहाँबाट सामान मात्र भित्र्याउँदैन, त्यता पठाउन पनि सक्छ। चीनतर्फ नेपालले पठाउन सक्ने सामग्रीको सूची लम्ब्याउन पनि सकिन्छ।

आयात सस्तो पर्दा नेपाली उपभोक्ताले सुपथ मूल्यमा वस्तु उपभोग गर्न पाउँछन्। चीनसँगका दुई नाका तातोपानी र रसुवागढी–केरुङबाट सामान आयात गर्दा २०–२२ दिनमै सामान नेपाल आइपुग्छन्। भारतको कोलकाताबाट सामान ल्याउँदा झण्डै दोब्बर समय लाग्छ। यसरी सामान ल्याउँदा ४०–४२ दिन लाग्नु भनेको उपभोग्य सामग्री महँगो हुने मात्र होइन, अत्यावश्यक वस्तु समयमै आइनपुग्ने हुन्छ र लागत थपिन्छ। उत्तरी नाका हाम्रा लागि महत्त्वको भए पनि लामो समयसम्म बन्द हुँदा व्यापारी वर्गले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। नेपालले सस्तोमा सामग्री पाउनुमा मात्र यसको महत्त्व सीमित छैन। यसले हामीलाई अन्तर्राष्ट्रिय पहुँच पनि दिन्छ। हाम्रोजस्तो भूपरिवेष्ठित मुलुकका निम्ति तेस्रो मुलुकका वस्तु आयातका निम्ति चीन विकल्प हुनु आवश्यक हुन्छ।

एउटै मात्र देशसँगको निर्भरताबाट सिर्जित समस्या हामीले महसुस गरिसकेका छौँ। यसकारण पनि सम्बन्धको विविधता आवश्यक छ। तर चीनसँगका दुई मुख्य नाका लामो समयसम्म रोकिँदा पनि मुलुकले ध्यान पुर्‍याउन सकेको छैन। कोभिड–१९ को निहुँमा चीनले नेपालसँगका नाका बन्द गरिरहँदा पनि आवश्यक पहल भएको देखिएन। चीनको कुनै चासो भए त्यसलाई सम्बोधन गर्न नसकिने थिएन। यी नाकामा लामो समयसम्म गाडी रोकिएर बस्दासमेत ध्यानाकर्षण भएन। पछिल्ला दिनमा यससम्बन्धी समाचार आएपछि मात्र चीनले रोकिएका गाडीको विवरण माग गरेको छ। यसबाट बुझ्न सकिन्छ, चीनलाई नेपालबाट यथेष्ट सूचना गएन कि?

चीनसँगका यी दुई नाका मात्र होइन, अन्यको समेत विस्तार आवश्यक छ। कोरोला नाकाको चर्चा नाकाबन्दी पछि निकै भयो। त्यसलाई खुलाउन दुई देशले पहल पनि गरेका हुन्। चीनले आफ्नो तर्फ संरचना पनि तयार पारिसकेको छ। नेपालले भने आवश्यक तयारी गर्न सकेको छैन। चीनको तिब्बततर्फ सहर निर्माण भइसक्दा पनि नेपालले आवश्यक पूर्वाधार तयार नगरेपछि स्वाभाविकरूपमा यस क्षेत्रमा क्रियाशील व्यक्तिहरू चिन्तित भएका छन्। नेपालले चीनसँगका नाकालाई जति सक्रिय बनाउन सक्यो उति फाइदा हुन्छ। नेपालले त्यहाँबाट सामान मात्र भित्र्याउँदैन, त्यता पठाउन पनि सक्छ। चीनतर्फ नेपालले पठाउन सक्ने सामग्रीको सूची लम्ब्याउन पनि सकिन्छ।

नेपालका निम्ति भारत र चीन दुबैको महत्त्व छ। ३ तिरबाट भारतसँग जोडिएको छ। यतापट्टि हुने सम्बन्ध र सम्पर्कको जति महत्त्व छ, त्यत्तिकै महत्त्व चीनतर्फ पनि छ। त्यसैले त्यतापट्टि खुला गर्नतिर लाग्नुपर्छ। चीनसँगको सम्पर्क बढ्न थालेपछि भारतले पनि नेपाललाई बढ्ता दबाब दिन सक्दैन। यही कुरा चीनको पक्षमा पनि लागु हुन्छ। आजको समय भनेको व्यापार, व्यवसाय र सम्बन्धको हो। जति धेरै सम्बन्ध बढाउन सक्यो, उति फाइदा हुन्छ। नेपालमा पनि बढीभन्दा बढी वस्तु निर्यात गर्ने भोक जाग्नु आवश्यक छ। त्यसो भयो भने मात्र आजको प्रतिस्पर्धात्मक वातावरणमा टिक्न सहज हुन्छ। नेपालले बाह्य जगत्सँगको सम्पर्क र व्यापारका निम्ति नाकाहरूको पूर्वाधार विकासमा ध्यान दिनुको विकल्प छैन। खासगरी तिब्बतसँगैको हाम्रो व्यापारिक इतिहास गौरवमय छ। हाम्रा पुर्खाले तिब्बती बजारमा नेपाली मुद्रा प्रचलनमा ल्याउन सकेका थिए। तिब्बतको कुल व्यापारमा नेपाली नेवार व्यवसायीहरूको हिस्सा सबैभन्दा धेरै थियो। यस्तो गौरवमय इतिहास भए पनि अहिले हामी निकै पछि परेका छौँ। प्रमुख दुई नाकाहरू समेत सञ्चालनमा ल्याउन नसक्नु र त्यसबाट राज्यले फाइदा लिन नसक्नु आफैँमा लाजमर्दो हो। त्यसैले अबका दिनमा सरकारले चीनसँगका व्यापारिक नाकाहरूलाई सहजरूपमा सञ्चालन गर्ने गरी काम गर्न सक्नुपर्छ। अन्यथा चीनसँगको व्यापारबाट फाइदा लिने कुरामा मुलुक चुक्नेछ। 

प्रकाशित: २३ भाद्र २०७९ २३:४८ बिहीबार

अवरुद्ध वैदेशिक व्यापार आयाम दुई नाका तातोपानी र रसुवागढी–केरुङ