नेपाली राजनीतिक आकासको एउटा नक्षत्र शनिबार रातिबाट बिलिन भएको छ। तर तिनले नेपाली समाजको चेतना अभिवृद्धिका निम्ति गरेको योगदान कहिल्यै विस्मृतिमा जाने छैन। समाजवादी चिन्तक प्रदीप गिरी सत्तारुढ नेपाली कांग्रेसका सांसदसमेत थिए। उनको महाप्रस्थानपछि उनलाई सम्झना गर्नेहरू कुनै एउटा दलविशेषसँग मात्र सीमित रहेनन्। राति ढिलो गरी उनको निधनको खबर सार्वजनिक भए पनि आइतबार बिहानका प्रत्येक अखबारमा उनको निधनको खबर छापिएको थियो। त्यति मात्र होइन, सामाजिक सञ्जाल फेसबुक, ट्विटरदेखि अहिलेको लोकप्रिय माध्यम टिकटकमा समेत उनका विचार निरन्तर प्रसारित भइरहेका छन्। राजनीतिक नेता एवं चिन्तक गिरीको नेपाली समाजमा अमिट छाप परेको यसबाट प्रष्ट हुन्छ।
आज मुलुकले फेरि नेता खोजिरहेको छ। गिरी आफ्नो जीवनमा व्यावहारिक राजनीतिको दलदलबाट मुक्त रहे। उनले जहिल्यै आफूलाई समाजवादी चिन्तनबाट समाजलाई चेतना प्रवाह गरिरहे। उनलाई पनि मन्त्री बन्ने, सुखसुविधा लिने र अहिलेका विकृतिको दलदलमा पर्ने अवसर थियो। तर उनी कहिल्यै त्यसमा तानिएनन्। मन्त्री नबनेर पनि आफ्नो कर्मकै माध्यमबाट सबैतिर उनी प्रकाशित हुन सफल रहे। एउटा फकिरको जस्तो जिन्दगी बाँचेर उनी गए। बाँचुन्जेल उनले अन्तस्करणले देखेको कुरा लेखिरहे, बोलिरहे। उनको विचारका ती जाज्वल्यमान फिलिङ्गाहरू जहाँसुकै फैलिएका छन्। उनको निधनपछि मानिसले उनीप्रति दर्शाएको सद्भाव र जीवनप्रतिको सम्झना नै यथार्थमा सफल मानिसका पुँजी हुन्। मानिसको जीउ मर्छ, उसका कीर्ति मर्दैनन्। समाजवादी चिन्तक गिरीका कीर्ति मुलुकको भावी सामाजिक–आर्थिक र राजनीतिक क्षेत्रले बिर्सने छैन।
समकालीन नेपाली राजनीतिमा उनले छाडेको विरासत अग्रज नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईकै हाराहारीमा छ। नेताहरूमा हुनुपर्ने त्याग, चिन्तन र वचन कस्तो हुनुपर्ने हो भन्ने बुझ्न गिरीलाई सम्झिए हुन्छ। विचारले नै मानिसलाई युगौँयुगसम्म चिनाउँछ। जन्मदेखि मृत्युको बीचमा प्राप्त हुने वैभव क्षणिक हुन्छ। वास्तविक कमाइ मानिसको मृत्युपछि थाहा हुन्छ। यस हिसाबले पनि गिरी एक वैभवशाली नेता हुन्। उनले आमनेपाली समाजमा एउटा उचो उपस्थिति हासिल गरेका छन्। यस्तै व्यक्तिको मृत्युपछि पनि जीवन हुन्छ। अन्य व्यक्ति त बाँचेकै बेला पनि मरिरहेका हुन्छन्।
२००२ सालमा सप्तरीमा जन्मिएका गिरीको विगत पनि गौरवशाली छ। उनले आफ्नो राजनीतिक दल मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत आश्चर्यमा पर्ने गरी गरेका प्रवचन र प्रशिक्षणको सम्झना धेरैले गरेका छन्। निस्वार्थभावले बाँचेकै कारण उनले कहिल्यै पनि शिर निहुराउनु पर्ने अवस्था रहेन। राज्य दोहनबाट व्यक्तिगत आर्जन गर्न चाहने अहिलेको राजनीतिका बीचमा गिरी नै यस्ता नेता हुन् जसले आफ्नो सम्पत्ति सार्वजनिक सेवामा प्रयोग गर्न सके। सम्पन्न परिवारका व्यक्ति पनि आज दिन नसक्ने अवस्थामा छन्। उनले समाज सेवाका निम्ति यसलाई प्रयोग गरेका छन्। सामाजिक परिवर्तनका निम्ति पनि उनले आफैँ उदाहरण बनेर देखाएका छन्। समाजमा रहेको छुवाछूत र भेदभाव हटाउन उनले घरैबाट प्रयास गरेका छन्।
२०१७ सालदेखि राजनीतिमा सक्रिय रहेका उनी २०२५ सालमा राजा महेन्द्रको सक्रिय शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीका लागि क्रियाशील भएका थिए। त्यसो गर्दा उनलाई १८ महिनासम्म जेल राखिएको थियो। नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहका क्रममा पनि उनी जेल परेका थिए। उनी २०२४ सालमा भारतको वनारसमा गठित नेपाल छात्र संघको उपाध्यक्ष पनि भएका थिए। पार्टीको १०औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनका करिब दुई दर्जन पुस्तकसमेत छन्। जननेता बिपी कोइरालाको सान्निध्यमा रहेर काम गर्ने थोरै नेतामध्येमा उनी पनि एक हुन्।
सिरहालाई आफ्नो राजनीतिक क्षेत्र बनाउँदै आएका उनले त्यहीँबाट प्रतिनिधिसभालाई प्रतिनिधित्व गरेका थिए। संसद्मा जब जब उनी बोल्न उभिन्थे, त्यतिबेला त्यहाँ मात्र होइन, सिंगो मुलुकले उनलाई सुन्थ्यो। उनी के भन्छन् भनेर ध्यानपूर्वक सुन्न सबै तत्पर हुनु भनेको आमनागरिकका तर्फबाट ठूलो विश्वास आर्जन गर्नु हो। ठूला पद र प्रतिष्ठा पाएर पनि कैयन् व्यक्ति त्यसका निम्ति योग्य हुँदैनन्। तिनले त्यसको सदुपयोग पनि गर्न सक्दैनन्। जसले मन्त्री वा अन्य यस्तै पद प्राप्तिबाट आफूलाई जहिल्यै टाढा राख्न चाहे, उनले हासिल गरेको सम्मान अन्य जीवित नेताले बिरलै प्राप्त गर्न सक्छन्। उनले जगाएको यो आस्थाको दियो निभ्ने छैन। बरु यसले भविष्यमा धेरैलाई प्रेरणा दिइरहने छ।
जीवन अनित्य छ। जुन व्यक्तिले बाँचेकै बेला मृत्युलाई चिनेर अगाडि बढ्छ, उसले पहिल्यै मृत्यु मात्र जितिसकेको हुँदेन, जीवनलाई पनि वास्तविक अर्थमा बुझिसकेको हुन्छ। समाजवादी चिन्तक गिरीले मृत्युलाई नपढी नहुने जीवनकै एक अन्तिम पृष्ठका रूपमा चित्रण गर्दै दिएका अभिव्यक्ति यतिबेला समाजिक सञ्जालमा व्यापकरूपमा फैलिइरहेका छन्। उनले भनेका छन्– ‘मृत्यु अनिवार्य नियति हो। त्यसका लागि सधैँ घोडामा चढिराख्न आवश्यक छैन, यसो घोडाबाट उत्रिएर विश्राम गर्दा पनि केही बिग्रँदैन भन्ने मान्यता राख्नुपर्छ।’
हार्दिक श्रद्धाञ्जली प्रिय नेता एवं विचारक प्रदीप गिरी !
प्रकाशित: ६ भाद्र २०७९ ००:३१ सोमबार