सम्पादकीय

विकासमा ‘घरबेटी’ राज

नयाँ नेपालमा एकथरी ‘घरबेटी’ हरू तयार भएका छन् जसले नेतालाई बास दिन्छन् र देशलाई विनाश गर्छन्। विकासका नाममा यतिबेला सत्तारुढ नेकपा (माओवादी केन्द्र) का ‘घरबेटी’ शारदाप्रसाद अधिकारीको एकछत्र राज छ। माओवादी आफ्नो दश वर्षे सशस्त्र ‘जनयुद्ध’ सकेर खुला राजनीतिमा आएपछि ‘घरबेटी’ हरूमार्फत ‘धनयुद्ध’ मा सक्रिय छ। नेतालाई बास दिएबापत देशका ठुल्ठूला ठेक्का लिन पाइन्छ। शारदाप्रसादहरूलाई प्रयोग गरेर अहिले देशका सडक लथालिङ्ग बनाइएको छ। कम्तीमा अन्यत्र मुलुकमा ठेकेदार र नेताको यो तहको संलग्नता देखेपछि ‘स्वार्थको द्वन्द्व’ हुन्छ भन्ने ठानिन्छ। तर यहाँ ‘स्वार्थको जमघट’ भइरहेको छ। लाग्छ, सम्पूर्ण राज्य संयन्त्रका विकास निर्माणका काममा यही ढंगको ‘सेटिङ’ अनवरत चलिरहेको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दाहाललाई व्यंग्य गर्दै यो साता एउटा  ट्विटमार्फत ‘घरबेटी’ ले बेथितिमा पारेको सडकको भिडियो सार्वजनिक गरेका छन्। उनले भनेका छन्, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर?’ युवा मेयरले बेथितिका आफ्ना अग्रजहरूलाई यति पनि सम्झना गराउनु निकै ठूलो साहसको पक्ष हो। अन्यथा तैँ चूप मैँ चूपको स्थितिमा मुलुक चलिरहेको छ। यस्तो अवस्था हुँदा अन्य राजनीतिक व्यक्तिहरूले थोरै भए पनि यसमा सम्झाउन सक्नुपर्ने थियो। कहिल्यै यस्तो विषयमा चर्चा हुन सकेको छैन।

सबैजसो ठूला ठेक्का दाहालकै घरबेटीले पाउन सक्ने गरी कस्तो संरचना बनाइएको होला? अनि ठेक्का लिएका सडकको निर्माण नगरी लामो समय बेहाल अवस्थामा छाड्दा पनि राज्यका संयन्त्रले कुनै कदम चाल्ने गरेको देखिएन। धन्य, मेयर बालेनको ट्विट र ललितपुर जिल्ला अदालतको एउटा आदेशका बीचमा भने गजबकै संयोग परेको छ। अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ललितपुर जिल्ला अदालतले सडक विभागले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयनका लागि बाटो खोलिदिएपछि थोरै मात्र भए पनि राहत अनुभव भएको छ। सडकलाई बेहाल अवस्थामा पुर्‍याउँदा पनि कालोसूचीमा राखेर कारबाही अगाडि बढाउन निकै ढिला भएको हो। बल्ल सडक विभागले आँट गर्दा पनि बीचैमा रोकिन गएको हो।

आयोजनाको समय र लागत बढाउँदै वर्षौँसम्म नागरिकलाई दुःख दिइरहने र त्यसबाट प्राप्त हुने लाभबाट ठेकेदार र नेता पालिने अहिलेको परिपाटीलाई किमार्थ पनि स्वीकार गर्न सकिन्न।

शैलुङ कालो सूचीमा परेर साँच्चिकै कारबाही भयो भने सुधारका निम्ति केही कदम चालिएलान्। यस्ता मुद्दामा बेलैमा निर्णय हुन थाल्ने हो भने थोरै भए पनि सुधार हुन सक्ने थियो। मुलुकका सबैभन्दा धेरै र  महत्त्वपूर्ण सडकको जिम्मा ‘घरबेटी’ अधिकारीकै कम्पनीलाई प्राप्त छ। कमल विनायक–नगरकोट, ढोलाहिटी–सुनाकोठी–चापागाउँ, त्रिपुरेश्वर–कलंकी–नागढुंगा, बालाजु–रानीपौवा, सुन्दरबस्ती–आदर्शनगर–चुनीखेल–जगडोल, साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा–बालुवाखानी, आकाशेधारा–राम मन्दिर–कृष्ण मन्दिर, सामाखुसी–रानीबारी, सिद्धार्थमार्ग–बुद्धनगर, रत्नराज्य स्कुल–पाण्डेश्वर मन्दिर लगायतका सडक आयोजना यस कम्पनीले हात पारेको छ।

यी सडकको अवस्थाका कारण कैयन् ठाउँमा स्थानीयले आन्दोलनसमेत गरेका छन्। तर तिनले पूर्णता पाउन सकेका छैनन्। एकपटक सडकको ठेक्का लिने, त्यसको परिचालनबापतको रकम पनि सरकारबाट बुझ्ने र पटक–पटक सडकको लागत बढाउँदै जाने प्रवृत्ति देखिएको छ। उदाहरणका लागि कमल विनायक–नगरकोट सडकको ठेक्का ३१ करोडबाट बढाएर ३६ करोड पुर्‍याइसकिएको छ। यसमा शैलुङले २९ करोड रुपियाँ भुक्तानी लिइसकेको छ। त्यसैगरी ढोलाहिटी–सुनाकोठी–थापागाउँ सडकको ठेक्का २३ करोडबाट बढाएर ३७ करोड पुर्‍याइएको छ। आयोजनाको समय र लागत बढाउँदै वर्षौसम्म नागरिकलाई दुःख दिइरहने र त्यसबाट प्राप्त हुने लाभबाट ठेकेदार र नेता पालिने अहिलेको परिपाटीलाई किमार्थ पनि स्वीकार गर्न सकिन्न।

यस्तो खुलेआम लुट देख्दा पनि राज्यका निकायहरूले आँट गरेर कारबाही गर्न सकेका देखिएन। राजधानीका कैयन् ठाउँको अवस्था नरकजस्तो हुनुमा यी आयोजनाको भूमिका छ। वर्षौसम्म काम नहुँदा पनि कसैले यिनलाई ठेगान लगाउन सक्दैनन्। राजधानीको कपन क्षेत्रको बेथितिमा ठेकेदारले समयमा काम सम्पन्न नगर्नु पनि कारण रहेको छ। पहिले बाटोघाटो ठीकै अवस्थामा हुँदा नआएको बाढीको बेथिति केही वर्षयता देख्न पाइएको छ। यसको कारण पनि काममा ढिलाइ हो। हालै भैँसेपाटी, सुनाकोठी र चापागाउँ क्षेत्रका बासिन्दाले सडक निर्माणको माग गर्दै आन्दोलन समेत गर्नुपरेको थियो। नेताका नजिक रहेका ठेकेदारले जस्तोसुकै बेथिति गरे पनि तिनलाई कारबाही गर्ने आँट कर्मचारीतन्त्रमा देखिएको छैन। अन्यथा, तिनलाई विद्यमान कानुन र प्रणालीले ठीक गर्न सक्ने हो।

जबसम्म राजनीतिक नेतृत्वले आफूलाई यस्ता बेथितिबाट अलग गर्न सक्दैन तबसम्म नेपालमा सुधारको सम्भावना कम हुन्छ। माथिबाटै यस्ता गलत प्रवृत्तिमा रोक लाग्ने हो भने विकास निर्माणको काम पनि अघि बढ्ने थियो र त्यो निर्माण सस्तो पनि हुने थियो। सबैजसो ठूला विकास आयोजना आफैँ जिम्मा लिने र त्यसलाई अल्झाइराखेर वर्षौ दुहुनो गाई बनाउने प्रवृत्ति देखिएको छ। यहाँ जिम्मा लिएका सडक बनाउँदाभन्दा नबनाउँदा फाइदा छ। जति लामो समयसम्म यो लम्ब्याउन सक्यो उति नै लागत बढाउँदै फाइदा उठाउन पाइन्छ। नयाँ नेपाल सुरु भएपछि यो ढंगको विकास भइरहेको छ। यसले नेताहरूले विगतमा गरेको आन्दोलनलाई समेत गिज्याइरहेको छ। 

प्रकाशित: २ भाद्र २०७९ २३:५१ बिहीबार

विकासमा ‘घरबेटी’ राज ‘सेटिङ’ अनवरत