सम्पादकीय

स्मृतिमा पुष्पलाल र बिपी

नेपाली राजनीतिक आकासमा बिपी कोइराला र पुष्पलाल निरन्तर चम्किरहेका छन्। यस महिनाको ६ र ७ गते क्रमशः बिपी र पुष्पलालको स्मृति दिवस पर्छ। यसकारण पनि साउनमा यी दुईको सम्झना हुन्छ। त्यसमा पनि अहिलेको राजनीतिक निराशामा यस्ता ऐतिहासिक व्यक्तिको सम्झना हुनु स्वाभाविक हुन्छ।

मुलुकमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय दुई दल नेपाली कांग्रेस (२००४ साल) र नेपाल कम्युनिस्ट पार्टी (२००६ साल) लाई यी दुई नेताले जीवनभर नेतृत्व गरेका हुन्। देशमा तत्कालीन राजा महेन्द्रबाट प्रजातान्त्रिक शासनको अन्त्य भएपछि उनीहरू दुवै भारत प्रवासमा रहन बाध्य भएका थिए।

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सरिक हुँदाहुँदै यी दुईको निधन भयो। पुष्पलालको २०३५ साउन ७ र बिपीको २०३८ साउन ६ मा निधन भएको थियो। यी दुई नेतालाई जहिल्यै सम्झना गर्दा विगत आन्दोलन स्मृतिमा आउँछ। त्यतिमात्र होइन, तिनको आदर्श र समाजवादी तथा प्रजातान्त्रिक विचारले आन्दोलन निरन्तर वेष्ठित हुनुपर्छ भन्ने भावना मुखरित हुन्छ।

बिपी र पुष्पलाल एकअर्काका सहयोगी र आलोचक दुवै रहे। तर संयुक्त आन्दोलन गरेर प्रजातन्त्र पुनस्र्थापित गर्नुपर्ने धारणा यदाकदा उठे पनि यथार्थमा अनुदित हुन सकेन। यी दुई एकै ठाउँमा उभिएर प्रजातन्त्र पुनस्र्थापनाका निम्ति लागेका भए निश्चय पनि सफलता प्राप्त हुन्थ्यो। तैपनि राजनीतिमा यी दुई नेताले बोकेको आदर्शले आजपर्यन्त मुलुकको लोकतान्त्रिक आन्दोलनलाई प्रेरणा दिइरहेको छ।

कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मार्गदर्शक मानेको थियो। आज समाजवादलाई कांग्रेसले छाडिसकेको छ। त्यसैगरी वामपन्थीहरू पनि अहिले नाममात्रका हुन्। समाजवादको भजन त गाउँछन् तर त्यसका निम्ति पहल गर्दैनन्। खासमा अहिले कांग्रेस र वापन्थीबीच तात्त्विक अन्तर छैन। राजनीतिक आदर्शभन्दा सत्ता सबै दलका निम्ति प्रधान बनेको छ। यो स्थितिमा राजनीतिक आदर्श केबल खोपाको देउताजस्तो बन्न पुग्छ। त्यसको पूजा हुन्छ तर त्यसलाई जीवन पद्धति बनाउने कोसिस हुँदैन।

कुनैबेला बिपी र पुष्पलालबीच संवाद हुँदा एकअर्कालाई सहयोग गर्न तत्पर भएका प्रसंग पनि छन्। बिपीले एकपटकको वार्तामा पुष्पलाललाई भनेका थिए– ‘मेरो राजनीतिक कार्यक्रममा तपाईँ हस्ताक्षर गर्नुस्, तपाईँको आर्थिक कार्यक्रममा मैले हस्ताक्षर गर्छु।’ बिपी र पुष्पलालबीच खुला ढंगले छलफल हुने गरेको पनि विभिन्न दस्ताबेज र त्यतिबेला यी दुईका बारेमा थाहा पाएका व्यक्तिहरूले लेखेका छन्। पुराना कम्युनिस्ट नेता केशरमणि पोखरेलले यी दुईबीच संयुक्त आन्दोलन गर्ने विषयमा संवाद हुँदाका प्रसंग बाहिर ल्याएका छन्।

बिपीले पुष्पलाललाई भनेका रहेछन्– ‘तर, एउटा अनुरोध तपाईँलाई। आन्दोलनमा जाने अनि मेरो पिठ्युँमा छुराचाहिँ नहान्नुहोला।’ 

स्मृति दिवसमा बिपी र पुष्पलालका सपनाको गीत गाएरमात्र पुग्दैन। तिनले गरेको संघर्षबाट प्रेरणा लिँदै मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन सकेमात्र अपेक्षित प्रतिफल प्राप्त हुन सक्छ। समृद्धि नभई लोकतन्त्र बाँच्दैन। लोकतन्त्र बाँचेन भने समाजवादमा पुग्ने संविधानका अक्षर भावनाअनुसारको काम हुन सक्दैन। 

पुष्पलालको जवाफ थियो– ‘होइन, तपाईँ र मेरोबीच क्राइसिस अफ कन्फिडेन्स (विश्वासको संकट) हुनुहुँदैन। तपाईँले पनि मलाई धोका दिनुहुँदैन, मैले पनि तपाईँलाई धोका दिनुहुँदैन।’

यो हो राजनीतिक संस्कार भनेको। आफूलाई लागेका कुरा प्रष्ट भन्ने र राजनीतिकरूपमा व्यवहार गर्ने प्रवृत्ति बिपी र पुष्पलालमा रहेको देखिन्छ। आजको दिनमा विश्वको राजनीति झनै संकटमा परेको छ। जसले सक्छ उसले धोका दिन्छ। झुक्याउन, ढाँट्न र मनोमानीपूर्ण व्यवहार गर्न जान्ने नेता अहिले सफल रहेको ठान्छन्। राजनीतिक चरित्रको अभावमा लोकतन्त्रले यथोचित प्रतिफल पनि दिन सकेको छैन।

लोकतन्त्रका आधारभूत पक्ष र कूटनीतिक विषयमा प्रमुख दलले समान धारणा राखेर मुलुकलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने सफलता अवश्यम्भावी छ। लोकतन्त्रले प्रतिफल पनि दिन सक्छ। वास्तवमा अहिले लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो लोकतान्त्रिक नेता आफैँबाट छ। पहिलेजस्तो लोकतन्त्र असफल बनाउन चाहने तत्व मुलुकमा कमजोर भइसकेका छन्। आफैँ सक्षम भएर अगाडि बढ्ने हो भने विदेशीले पनि केही गर्न सक्दैनन्।

मुलुकमा प्रजातान्त्रिक र वामपन्थी शक्ति एक हुँदा २०४६ साल, २०६२ु०६३ सालका जनआन्दोलन सफल भएका हुन्। यी दुई शक्ति मिलेर परिवर्तन र विकासलाई अगाडि बढाउन सक्छन्। आन्दोलन गर्दा एक भए पनि पछि उनीहरू सहयात्रा गर्न नसक्ने अवस्थामा पुग्छन्। आफैँमात्र मुलुकको राजनीतिमा प्रभावकारी हुने ठान्दा झन् विघटनकारी समस्याहरू उत्पन्न हुन्छन्।

एक वर्षदेखि फेरि प्रजातान्त्रिक र वामपन्थी शक्ति सरकार सञ्चालनमा सरिक भएका छन्। वामपन्थी धारकै नेकपा (एमाले) भने सत्ताबाट बाहिरिएर अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छ। लोकतान्त्रिक शासन व्यवस्थामा विपक्षीको भूमिकामा रहने दलको पनि उत्तिकै ठूलो योगदान हुन्छ। दलले जिम्मेवारी बोध गर्न सके भने अनावश्यक विवाद र अप्ठ्यारो भन्दा पनि मुलुकलाई अग्रगमनतर्फ लैजान सक्छन्।

स्मृति दिवसमा बिपी र पुष्पलालका सपनाको गीत गाएरमात्र पुग्दैन। तिनले गरेको संघर्षबाट प्रेरणा लिँदै मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन सकेमात्र अपेक्षित प्रतिफल प्राप्त हुन सक्छ। समृद्धि नभई लोकतन्त्र बाँच्दैन। लोकतन्त्र बाँचेन भने समाजवादमा पुग्ने संविधानका अक्षर भावनाअनुसारको काम हुन सक्दैन। हाम्रो मुलुकमा समृद्धि सम्भव छ।

त्यसका निम्ति दलका नेताहरूले आफूलाई सुधार्नुपर्छ। अनियमितताबाट आफूलाई जोगाउन नसक्ने नेताहरूले बिपी र पुष्पलालका सपनाको चर्चा नगरेकै ठीक हुन्छ। गर्ने नै हो भने यी दुईबाट प्रेरणा लिएर लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा विकास गर्दै देशलाई बसौँ बसौँ लाग्ने बनाउनुपर्छ। विदेशीले पनि एकपटक नेपाल पुग्ने सपना देखून्, अनि हुन्छ देशको प्रगति। बिपी र पुष्पलालको स्मृतिका अवसरमा सबैलाई सद्बुद्धि प्राप्त होस् भन्ने कामना गरौँ।

प्रकाशित: ६ श्रावण २०७९ ००:४५ शुक्रबार

Download Nagarik App
Download Nagarik App