सम्पादकीय

न्याय ननिमोठियोस्

बाँकेका युवा सुन्दर हरिजनको मृत्युले ‘चोरलाई चौतारो साधुलाई सुली’ को उपमा चरितार्थ गरेको छ। एकातिर किशोरावस्थामा रहेका व्यक्तिले अपराध गरे पनि सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ। अर्कोतिर, अपराधअनुसारको सजाय हुनुपर्ने हो। यसमा किशोरलाई जेल सजाय गरिएको छ।

त्यति मात्र होइन, अर्कै व्यक्तिको अपराधमा थुनामा राखिएको छ। किशोरको भन्दा ठूलो अपराध गर्ने व्यक्तिलाई पहिल्यै थुनामुक्त गरेर उसको सजायको भागीदार समेत बनाइएको छ। फिल्मी कथाजस्तो यो घटना हेर्दा प्रष्ट हुन्छ, यहाँको संरचनाले सजिलै कमजोरलाई जेलमा हाल्छ र बलियालाई बाहिर निकाल्छ। अन्यथा सुर्खेतका विजयविक्रम शाह बनाएर सुन्दरलाई थुनामा राखिरहने स्थिति हुँदैनथ्यो। सुन्दर बनेर विजयविक्रम पहिल्यै निस्कन सम्भव थिएन।

सामान्य मोबाइल चोरीको आरोपमा समातिएका किशोरलाई जिल्ला न्यायाधीशले जुन तहको सजाय गरेका छन्, त्यसमा उनको न्यायिक मन देखिएको छैन। त्यसैगरी ती किशोरलाई बाल सुधार गृहमा नपठाइ जेलमै पुर्‍याउने प्रपञ्च गरिएको छ। थुनाबाट किशोर छुट्ने बेलामा विजयविक्रमलाई निकाल्ने गरी योजना बनाएको देख्दा पनि आश्चर्य लाग्छ।

सुन्दरको मृत्यु रोल्पा कारागारमा नभएको भए यो घटना एउटा रहस्यका रूपमा रहने रहेछ। आफूले गर्दै नगरेको सजाय काटेर उनी बाहिर निस्किएपछि पनि यो विषय चर्चामै नहुन पनि सक्थ्यो। जस्तो संरचना र संयन्त्रले यति ठूलो व्यवस्थापन गरेको थियो, त्योअनुसार विषय बाहिर आउन सक्ने स्थिति थिएन।

पहुँच नभएका सामान्य व्यक्तिलाई फसाएर अरूको अपराध कबुल गराउने चलन यहाँ छ। वास्तवमा बेलाबेलामा भुक्तभोगीहरूले भन्ने गरेका छन्, जेल सजाय तोकिएका कैयन् व्यक्ति यहाँ निर्दोष छ। तिनलाई जबर्जस्ती अपराधी बनाएर थुनामा राखिएको छ। यी व्यक्तिका बारेमा स्वतन्त्र ढंगले छानबिन हुने हो भने न्याय नपरेको थाहा पाउन सकिन्छ। कतिपय व्यक्ति आफ्नो नियति सम्झेर यसलाई स्वीकार गरिरहेका छन्।

कैयन् व्यक्ति ठगीमा परेर पनि सजाय भोगिरहेको अवस्थामा छन्। थुनामा परिसकेपछि तिनले जतिसुकै अनुनय/विनय गरे पनि बाहिर निस्कने अवस्था हुँदैन। कैयन्को जीवन यस्तै नगरेको अपराधका निम्ति थुनामा बसेर सकिन्छ। सुन्दर हरिजन यस अर्थमा एक प्रतिनिधि पात्र हुन्। जो नगरेको अपराधमा थुनामा बस्न वाध्य मात्र भएनन् इहलीलासमेत समाप्त भयो।

आज सुन्दरको पक्षमा आवाज उठाउने बलियो संयन्त्र हुँदो हो त छानबिन पनि अलि ढंग पुर्‍याएर हुने थियो। यस्तो छानबिनले यसमा संलग्न गिरोहबारे जानकारी गराउन सहयोगी हुन्थ्यो। तिनीहरू सजायको भागी पनि हुने थिए। उनको मृत्युपछि छानबिन गर्न गठित समितिले दोषी उम्काउने गरी प्रतिवेदन दिएको गुनासो भइरहेको छ। छानबिन गर्दा उनको आत्महत्या वा हत्या भन्ने सीमित विषयमा ध्यान दिइएको छ। उनको मृत्युमा कर्मचारीको संलग्नता नभएको भन्ने प्रतिवेदन दिइएको छ। यसले कर्मचारीलाई उन्मुक्ति दिने मात्र काम गरेको छ।

कारागारका कर्मचारीको दोष नहुन सक्छ। तर, एउटा निर्दोष व्यक्तिलाई कसरी कारागार पुर्‍याइयो भन्ने प्रश्नको निक्र्योल नहुने हो भने यस्तो घटना भविश्यमा पनि हुने निश्चित छ। यस्तो छानबिन सीमित क्षेत्रलाई मात्र समेटेर गर्ने होइन। एउटा व्यक्तिको सजाय अर्को व्यक्तिले भोग्ने गरी ‘सेटिङ’ भएको छ भने यसमा प्रयोग भएको संयन्त्र आफैँमा बलियो छ।

कुनै व्यक्तिलाई सजायबाट जोगाउने गरी अर्कै कैदी खडा गर्न कुनै एक व्यक्तिबाट मात्र सम्भव छैन। त्यसमा निकै ठूलो शक्तिशाली संयन्त्र लागेको हुन सक्छ। त्यसकारण पनि यसको गम्भीर छानबिन आवश्यक छ। यस्तो छानबिन न्यायिक आयोगबाट मात्र सम्भव छ। यस्तो छानबिन भयो भने मात्र भविश्यमा यस्ता घटना दोहोरिँदैनन्।

विगतमा पनि केही शक्तिशाली व्यक्तिको अपराधमा अर्कै व्यक्तिलाई त्यसको जिम्मेवार बनाएर कारवाही भएका घटना छन्। २२ वर्ष अगाडि तत्कालीन युवराजले चलाएको गाडीले किचेर कलाकार प्रवीण गुरुङको मृत्यु भयो। त्यो मुद्दामा सवारी चालक बनेर अर्कै व्यक्तिले जेल सजाय भोगेका थिए।

अहिले पनि कैयन् धनी व्यक्तिले यस्ता सेटिङ गराउने गरेका छन्। त्यसैले सुन्दर हरिजन जस्ता किशोरलाई फसाएर विजयविक्रम शाहलाई कारागार बाहिर निकाल्ने काम भएको छ। तिनको दुर्भाग्य त्यतिबेला मात्र भयो, जतिबेला सुन्दरको मृत्यु भयो। अन्यथा, यो विषय तैँ चूप मै चूप भएर जान सक्थ्यो। सिधासादा परिवारलाई फसाउन र जेलमा हाल्न यहाँको कानुन पनि उत्तिकै दुरूपयोग हुन सक्छ भन्ने यो दृष्टान्त हो।

अतः यो मुद्दालाई यत्तिकै थामथुप पार्ने भन्दा पनि वास्तविक दोषी पत्ता लगाउन शक्तिशाली आयोग बन्नु आवश्यक छ। एउटाको अपराधमा अर्कैलाई थुनामा राख्न सकिने अहिलेको अवस्थाबाट कारागार व्यवस्थालाई नसुधार्ने हो भने भोलि अर्को सुन्दर हरिजनलाई फसाउन सहज हुन्छ।

त्यति मात्र होइन, पैसा भएका मानिसले अरूलाई भाडामा जेलमा हाल्न सक्ने र आफू निष्फिक्री घुमफिर गर्न सक्ने अवस्था आउँछ। यसै पनि कैयन् गम्भीर अपराध गरेका व्यक्तिहरू गणतन्त्र दिवस वा अन्य यस्तै समय पारेर राष्ट्रपतिबाट माफी पाउने अवस्थामा पनि छन्।

राजनीतिक पहुँच र प्रभाव भएको खण्डमा कैयन् गम्भीर अपराधी समेत सहजै छुट्न सक्ने परिपाटी विकास गरिएको छ। सुन्दर हरिजन काण्डबाट सिकेर यस्तो प्रवृत्तिमा रोक लगाउने गरी प्रणालीगत सुधार अहिलेको आवश्यकता हो। यो काण्डमा वास्तविक दोषी पत्ता नलगाउने हो भने त्यसले भविश्यमा थप समस्या ल्याउन सक्छ। 

प्रकाशित: २० जेष्ठ २०७९ ०१:२६ शुक्रबार

न्याय ननिमोठियोस् बाँकेका युवा सुन्दर हरिजनको मृत्यु जबर्जस्ती अपराधी बनाएर थुनामा