सम्पादकीय

बधाई बालेन

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले सोमबार सपथ लिएपछि औपचारिक रूपमा काम थालनी गर्नेछन्। दिनको झल्को बिहानीले दिन्छ भनेजस्तो उनी काठमाडौँलाई आक्रान्त पारिरहेका समस्या संबोधन गर्न पहिल्यै तत्पर भएका छन्।

शुक्रबार निर्वाचित भएको घोषणा हुनासाथ धन्यवाद र्‍यालीमा सरिक भएका उनी सिसडोल र बन्चरेडाँडास्थित डम्पिङ साइटको भ्रमणमा गए। केही दिनदेखि त्यहाँ फोहर लैजान अवरोध भइरहेको स्थितिबारे जानकारी लिन र समाधानका उपायबारे स्थानीयसँग उनले छलफल समेत गरेका छन्। उनको यो तत्परताले काठमाडौँबासीलाई स्वाभाविक रूपमा खुसी तुल्याएको छ। आफूले निर्वाचित गरेका जनप्रतिनिधिमा यो तहको सक्रियता देखिँदा भरोसा लाग्नु स्वाभाविक हो।

मेयर बालेन यतिबेला घरघरका प्रिय नाम बनेका छन्। काठमाडौँ महानगरपालिकामा चुनौतीका चाङ छन्। तर, समस्याको पहिचान गर्दै समाधानका निम्ति सक्रिय हुन चाहने युवा नेतृत्वका निम्ति असम्भव केही छैन। यसअघिको नेतृत्वले धेरै पक्षलाई कार्पेटमुनि हालेको छ। अर्थात् समस्याका बारेमा जानकारी भएर पनि समाधान गर्न चाहेको देखिएको छैन।

 राजधानीभित्रको महानगर भनेको आफैँमा सर्वाधिक महत्त्वको निकाय हो। विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुखको भ्रमण हुँदा नगरको साँचो हस्तान्तरण गर्ने सांकेतिक कार्यक्रम आयोजना गर्ने अवसर पनि यही महानगर प्रमुखलाई प्राप्त हुन्छ। मर्यादा क्रमका हिसाबले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख नवौँ स्थानमा रहन्छन्, जहाँ सरकारका सहायक मन्त्री, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य आदि हुन्छन्।

काठमाडौँ महानगरपालिकाले गर्ने विकास, निर्माण र सुव्यवस्था अन्यका निम्ति पनि एउटा प्रेरणा बन्छ। तर, आजको दिनमा काठमाडौँमा बस्ने नागरिकले आधुनिक महानगरबासीको हैसियत पाएका छैनन्। वास्तवमा काठमाडौँ भनेको एउटा ‘अव्यवस्थित स्लम (झोपडपट्टी)’ मात्र हो। एउटा व्यवस्थित सहरमा फोहरमैलाको यथोचित व्यवस्थापन हुन्छ। तर काठमाडौँ झण्डै दुई महिनादेखि गनाइरह्यो। बल्ल बालेन निर्वाचित भएपछि फोहर उठ्ने क्रम सुरु भएको छ। फोहरमाथि यहाँ जहिल्यै राजनीति भएको छ। यहाँको फोहरलाई यथोचित व्यवस्थापन गर्ने आधुनिक दृष्टिकोण नहुँदा समस्या भइरहेको छ।

एउटा निश्चित समयमा अहिलेकै तरिकाले फोहोर थन्क्याउन सकिँदैन। अहिले तोकिएका ल्यान्डफिल साइट पनि भरिन्छन्। त्यसपछिको व्यवस्थाबारे सोच बनाएको देखिँदैन। वास्तवमा अहिलेसम्म राजधानी काठमाडौँको फोहर व्यवस्थापन तदर्थवादी ढंगले भएको छ। यही फोहरलाई मोहर बनाउन सक्ने सम्भावना भए पनि त्यसको दिगो समाधान खोज्नेतिर कहिल्यै ध्यान गएन। नवनिर्वाचित प्रमुख बालेनबाट यसको समाधान निस्केला भनी आशा राख्नु स्वाभाविक भएको छ।

त्यसैगरी एउटा व्यवस्थित सहरमा सार्वजनिक यातायातको प्रबन्ध हुन्छ। काठमाडौँ आज अव्यवस्थित यातायातको सहर भएको छ। सार्वजनिक यातायातको व्यवस्था नभएका कारण प्रत्येक नागरिकले सकीनसकी दुई पांग्रे सवारी मोटरसाइकल भए पनि किन्नुपरेको छ। वाग्मती प्रदेशमा मात्र १७ लाख ६ हजार ८ सय ३४ सवारीसाधन दर्ता छन्।

यी सवारीमध्ये करिब ७० प्रतिशत मोटरसाइकल छन्। र, यो संख्यामा काठमाडौँका सवारी साधनको हिस्सा ठूलो छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित तुल्याउन सक्ने हो भने अनाहकमा सवारी संख्या नबढ्ने मात्र होइन, यहाँका कामकाजी व्यक्तिले जतिसुकै बेला आफ्नो गतिविधि बढाउन सक्छन्।

त्यसैगरी काठमाडौँ महानगरपालिकाभित्र सार्वजनिक स्थलको सर्वथा अभाव छ। एउटा व्यवस्थित सहरमा सार्वजनिक पार्क र खेल मैदानको व्यवस्था हुनुपर्छ। भएकै टुँडिखेल आज खुम्चिएको छ। यहाँका सार्वजनिक स्थललाई जसले सक्छ, उसैले दुरूपयोग गरेको छ। जहाँजहाँ स्थानीय सजग भए, त्यहाँत्यहाँ मात्र यस्तो जमिन जोगिएको छ।

काठमाडौँभित्र सार्वजनिक पुस्तकालय, वाचनालय आदिको पनि अभाव छ। पठन संस्कृतिलाई प्रोत्साहन गर्नका निम्ति पनि महानगरपालिकाले भूमिका खेल्नुपर्छ। काठमाडौँ महानगरपालिकाभित्र सबैभन्दा खड्किएको पक्ष ढल निकासको हो। एकझर ठूलो पानी पर्नासाथ यहाँ ठाउँठाउँमा जाम हुन्छ। महानगरपालिका कार्यालय बागदरबार आसपासमै ढल निकास नभएर वर्षौँदेखि स्थानीय पीडित हुँदासमेत यसलाई समाधान गर्न सकिएको छैन। बालेनको आगमनले यो समस्याको पनि हल होला भन्ने अपेक्षामा स्थनीय छन्।

सर्वसाधारण यहाँका सडकमा हिँड्न सक्दैनन्। फुटपाथ मिचिएको छ। राजधानी काठमाडौँमा सबैभन्दा अभागी व्यक्ति तिनै हुन् जसले फुटपाथमा समेत ठेलमठेल गरेर हिँड्नुपर्छ। खासगरी जेब्राक्रसमा सर्वसाधारणलाई बाटो छाड्ने संस्कार र संस्कृति छैन। पैदलयात्रु पहिलो हुन् भन्ने मान्यता यहाँ छैन। यस्ता संस्कृति र संस्कार बसाउनुपर्ने अवस्था छ।

राजधानी काठमाडौँ वरिपरि पहाडले घेरिएको कचौरा आकारमा छ। पानी नपरेका बेला यो प्रदूषणले आक्रान्त हुन्छ। यसको प्रदूषण घटाएर स्वच्छ र सफा बनाउनुपर्ने चुनौती छ। काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०१:२१ सोमबार

सार्वजनिक यातायातको प्रबन्ध नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन समस्याको पहिचान बधाई बालेन