सम्पादकीय

निर्वाचनको सन्देश

स्थानीय तह निर्वाचन २०७९ ले धेरै अर्थमा अद्वितीय सन्देश दिएको छ। एक, विगत निर्वाचनभन्दा मतदाता सहभागिता कम देखिएको छ।

दुई, प्रमुख दलहरूले मतदातालाई आफ्नो जमिनदारी सम्झिने गरेकोमा विद्रोह भएको छ। तीन, तुलनात्मक रूपमा क्षमतावान युवाहरूलाई रुचाएको देखिएको छ। प्रायः सबै निर्वाचनमा आममतदाताले निकै उत्साहका साथ मतदान गरेको देखिन्छ। यसपटक विशेष गरी काठमाडौँ उपत्यका, सुगम र नगरका मतदाताले अति दुर्गमका मतदाताले भन्दा कम सहभागिता देखाएका छन्। यसको अर्थ हो– दलको कार्यशैलीप्रति मतदाता सन्तुष्ट छैनन्।

प्रमुख राजनीतिक दलबीच अहिले सिद्धान्तको भिन्नता छैन। केन्द्रमा आवश्यकताअनुसार प्रमुख दलका नेताले गठबन्धन गर्दै आएका छन्। कहिले कम्युनिस्ट जति एक ठाउँमा आएका छन्। कहिले तिनै कम्युनिस्ट फुटेका पनि छन्।

यतिबेला पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार चलाइरहेको छ। प्रमुख विपक्षमा रहेको नेकपा (एमाले) ले पनि आवश्यकता अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलसँग मिलेर निर्वाचनमा भाग लिएको छ। दलहरूले आपसमा गठबन्धन गरे पनि आममतदाताको रुझान भने नेताहरूले आग्रह गरेअनुसार मत दिने रहेको छैन। उनीहरू यसअघिको कामको मूल्यांकन गर्दै बल्ल नयाँ कार्यकालका निम्ति निर्वाचन गर्न तत्पर भएका देखिएको छ।

वैशाख ३० मा भएको निर्वाचनको परिणाम धमाधम आउन थालेको छ। त्यसमध्ये पनि काठमाडौँ महानगरपालिकाको निर्वाचनप्रति सबैको ध्यान केन्द्रित छ। स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याइरहेको मतले प्रमुख दलहरूलाई स्वाभाविक रूपमा झस्काएको छ। प्रमुख दलहरूको जस्तो राजनीतिक संयन्त्र, प्रचारप्रसार र स्रोत/साधन नभए पनि जसरी मत प्राप्त भइरहेको छ, त्यसले स्वाभाविक रूपमा कार्यशैली बदल्न दबाब परेको छ।

काठमाडौँको निर्वाचन परिणामले विगतमा पनि अनौठा अनौठा राजनीतिक सन्देश दिने गरेको हो। काठमाडौँले जनपक्षीय उम्मेदवारका रूपमा पद्मरत्न तुलाधरलाई विजयी गराउँदा होस् वा नानीमैया दाहाललाई राष्ट्रिय पञ्चायतमा निर्वाचित गर्दा होस्, काठमाडौँले राजनीतिक परिवर्तनको संकेत गरेको छ।

२०३४ सालमा पञ्चायतले गराएको स्थानीय निर्वाचनमा काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्चमा हरिबोल भट्टराई र उपप्रधानपञ्चमा तीर्थमान डंगोललाई उम्मेदवार बनाइएको थियो। उनीहरू दुवैलाई निर्वाचित गर्ने बेलामा पनि काठमाडौँका मतदाताले स्वाभाविक रूपमा तत्कालीन शासनसत्ताप्रतिको आफ्नो असन्तुष्टि जाहेर गरेका थिए। त्यही भएर पञ्चायत विरोधी यी दुई उम्मेदवारलाई विजयी गराएका थिए।

गोल्छे सार्कीजस्ता भुइँ तहका उम्मेदवारलाई समेत काठमाडौँले विजयी गराएको इतिहास छ। जनआन्दोलन २०४६ को सफलतालगत्तै अन्तरिम सरकारका प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई भन्दा भर्खरै भूमिगत जीवन परित्याग गरी खुला राजनीतिमा आएका मदन भण्डारीलाई विजयी गराउनु पनि राजधानी काठमाडौँका मतदाताको एक किसिमको प्रयोग नै थियो।

अतः प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी आदिले आममतदाताको मनस्थितिलाई महसुस गर्नु आवश्यक छ। अहिले दलभन्दा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न उत्सुक देखिएका सर्वसाधारणको असन्तुष्टि बुझ्न खोजिएन भने आगामी दिनमा त्यही नै धोका हुन्छ।

आममतदाताको अहिले प्रमुख दलप्रति तीव्र असन्तुष्टि देखिएको छ। त्यसैले सुधारका निम्ति अहिल्यैदेखि थालनी गर्नु आवश्यक छ। त्यो सुधार भनेको आगामी निर्वाचनमा उठाइने उम्मेदवारको चयनमा पनि निर्भर गर्छ। सरकारमा जान जस्तोसुकै सम्झौता गर्नेभन्दा पनि काममा ध्यान दिने प्रवृत्ति आवश्यक छ।

सिद्धान्तहीन गठबन्धनले कहिल्यै लक्ष्यमा पुर्‍याउन सक्दैन। उम्मेदवार चयन गर्दा किनबेच हुने, नातावाद र कृपावाद उन्मुख हुने अहिलेको प्रवृत्तिले धेरै असर पारेको देखिएको छ। त्यसैले कुन व्यक्ति आफ्नो वा पराइ भनेर छुट्याउने भन्दा पनि आम मतदातासँग भिजेका र भोलिका दिनमा काम गर्न सक्ने व्यक्तिलाई छान्नु आवश्यक छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई आदिप्रति आममतदाताबाट अभिव्यक्त प्रतिक्रिया मननयोग्य छन्। समयको संकेत बुझेर आफूलाई तदनुकूल ढाल्नु आवश्यक छ।

आममतदाताबाट अहिलेको व्यवस्थाप्रति असन्तुष्टिभन्दा पनि यसमा सुधारका निम्ति आग्रह अभिव्यक्त भएको छ। तर, अहिलेकै पस्थिति रहिरह्यो भने त्यसले समग्रमा पद्धतिप्रति नै असन्तुष्टि प्रकट हुने ठाउँमा मुलुकलाई पुर्‍याउँछ। त्यसैले समयानुकूल सुधार आवश्यक भएको हो। दलदेखि मुलुक सञ्चालनसम्ममा आममतदाताले परिवर्तन चाहेका छन्। सार्वजनिकरूपमा जथाभावी बोल्नेभन्दा पनि शालीन प्रस्तुति आम रूपमा मन पराइएको देखिन्छ।

हिजो पञ्चायती निरंकुशताको समयमा गरिएका संघर्ष वा त्यो बेला गएको जेलनेलको प्रसंग अहिले नयाँ पुस्ताका निम्ति खासै चासोको विषय होइन। अब हिजोको पुस्ताले के संघर्ष गरेर यो व्यवस्था ल्यायो भन्ने कुराले पनि केही अर्थ राख्दैन। अर्थ त्यसले राख्छ, जब यो व्यवस्थाले आमनागरिकको जीवन रूपान्तरण गर्न थाल्छ। आम नागरिकको जीवन रूपान्तरण नभएकै कारण सहरी क्षेत्रका मतदाताले मतदान केन्द्रसम्म जानुपर्ने आवश्यकतासमेत महसुस नगरेको देखिएको छ। यस्तो वितृष्णाको अवस्था सिर्जना हुन नदिनु बुद्धिमानी हुन्छ।

यसपटक आम मतदाताले घरदैलोको सरकारका निम्ति मतदान गरेका हुन्। यसको महत्त्व प्रदेश र संघीय निर्वाचनमा भन्दा बढी छ। त्यसमा पनि राजधानी काठमाडौँ लगायत ठूला छ महानगरपालिकामा अभिव्यक्त हुने मतले दिने सन्देश बुझ्न ढिलाइ गर्नु हुँदैन। त्यसमा पनि काठमाडौँ महानगरपालिकाको निर्वाचनमा आएको मतपरिणामले हाम्रो राजनीतिक व्यवस्थाप्रतिको प्रतिक्रियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समेत गम्भीरतापूर्वक मनन् गर्नेछ।

दलहरूले आफूलाई सान्दर्भिक बनाएनन् भने स्वाभाविक रूपमा वैकल्पिक शक्तिहरूको जन्म हुनेछ। अहिले स्वतन्त्र व्यक्तिका रूपमा अगाडि आएका उम्मेदवारप्रति मतदाताले दर्शाएको प्रेम त्यही वैकल्पिक शक्तिप्रतिको उत्कट चाहना हो। व्यवस्थित ढंगले आममतदातालाई विश्वस्त गराउने गरी नयाँ शक्तिहरू आए भने तिनले हाम्रा परम्परागत शक्तिहरूलाई परिदृश्यबाट हटाउन सक्छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०१:०४ सोमबार

निर्वाचनको सन्देश प्रमुख दलप्रति तीव्र असन्तुष्टि सिद्धान्तहीन गठबन्धन