सम्पादकीय

जलवायु परिवर्तनको पिरलो

जलवायु परिवर्तनले विश्वका हरेक कुनामा प्रभाव पारेको छ। मानवीय गतिविधिका कारण जलवायु परिवर्तनजन्य विपद् बढेको र पृथ्वीको वायुमण्डल, समुन्द्र तथा जमिन तातेको तथ्यलाई विभिन्न वैज्ञानिक प्रतिवेदनले पुष्टि गरिसकेका छन्। आममानिसले पनि आफ्नो जीवन र जीवन यापनमा जलवायु परिवर्तनका प्रभावको प्रत्यक्ष अनुभव गर्न थालिसकेका छन्।

विश्व जनसंख्याको सबैेभन्दा ठूलो हिस्सा रहेको भारतीय उपमहाद्वीपमा जलवायुजन्य विपद्का प्रभाव झन बढी प्रखर बनेका छन्। गत अप्रिलमा भारत र पाकिस्तानका कतिपय स्थानमा तापक्रमले रेकर्ड तोड्दा लाखौँ मानिसको जीवन जोखिममा परेको छ। भारतको मौसम विभागका अनुसार गत अप्रिलमा उत्तर पश्चिम र मध्य भारतमा सरदर उच्चतम तापक्रम क्रमशः ३५.९ र ३७.८ डिग्री सेन्टिग्रेड पुगेको छ। 

भारतमा १२२ वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयता यो नै सबैभन्दा बढी सरदर तापक्रम हो। यसैगरी गत महिना भारतको राजधानी सहर नयाँ दिल्लीमा लगातार ७ दिनसम्म ४० डिग्री सेन्टिग्रेड माथि उक्लेको थियो। भारतका कतिपय राज्यमा गर्मीका कारण विद्यालय बन्द भएका छन् भने बालीनालीसमेत नराम्ररी प्रभावित भएको समाचार सार्वजनिक भएका छन्। भारतका सर्वसाधारणले गर्मीबाट बच्न अधिक ऊर्जा खपत गर्दा विद्युत् आपूर्तिमा थप दबाब सिर्जना भएको र भारतीय सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न र पानी पिइरहन अपिल गरेको छ।

तातो हावाको यो कहरले छिमेकी पाकिस्तानलाई समेत प्रभाव पारेको छ। पाकिस्तानको मौसम विभागका अनुसार सिन्ध प्रान्तका जाकोबाबाद र सिबी सहरमा गत शुक्रबार तापक्रम ४७ डिग्री सेन्टिग्रेड पुगेको छ। कैयन् दशकयता सर्वाधिक बढेको गर्मीका कारण सर्वसाधारणले यो वर्षलाई ‘वसन्त ऋतुविहीन’ वर्षको संज्ञा दिएका छन्।

भारतको उत्तर राज्य पन्जाबमा तापक्रम बढ्दा त्यहाँका लाखौँ कृषि कामदारमात्र होइन, गहुँ बालीसमेत प्रभावित भएको छ। विशेषगरी भारतमा यसअघि मे र जुनमा तातो हावाको प्रभाव तीव्र हुने गरेकामा यो वर्ष मार्च र अप्रिलमा तापक्रम उकालो लाग्नु विषम मौसमी घटना मान्न सकिन्छ। पृथ्वी तातो हुँदै जाँदा वनमा डँढेलोको प्रकोप बढेको छ, समुद्री सतह वृद्धि भएको छ भने वर्षा तथा परम्परागत मौसमका आधारभूत चरित्र बदलिएको छ।

जलवायु विज्ञले जलवायु संकटका कारण भारतीय उपमहाद्वीपमा लामो समयसम्म र बारम्बार तातो हावा चल्ने चेतावनी दिएका छन्। त्यसो त, भारतीय उपमहाद्वीप जलवायु संकटले सबैभन्दा बढी प्रभावित हुने क्षेत्र मानिन्छ। हिन्दकुश हिमालय क्षेत्रमा हिउँको तहमा ह्रास आएको तथा हिमताल विष्फोट हुने जोखिम बढेको विभिन्न अध्ययनले देखाएका छन्। यो क्षेत्रमा विश्वका अन्य भागमा देखिएझैँ विषम वर्षा, खडेरी, अनिकाल, बाढी/पहिरोका घटना बढ्दो क्रममा देखिएका छन्।

वैज्ञानिक अध्ययनले पृथ्वीको वायुमण्डलको औसत तापक्रम औद्योगिक क्रान्तिका बेलाको भन्दा १.१ डिग्रीले बढिसकेको देखाएकोे छ। जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्योगिकीकरण हुनुअघिको तुलनामा यो शताव्दीको अन्तसम्म सम्भव भएसम्म १.५ डिग्रीमा सीमित गर्ने र नसके २ डिग्रीमाथि बढ्न नदिने लक्ष्य लिएकामा तापमानमा देखिएको यो द्रुततम बढोत्तरी चिन्ताको विषय बनेको छ।

जलवायु परिवर्तनले खाद्य तथा पानीको सुरक्षामा कमी आएको, मानिसको भौतिक तथा मानसिक स्वास्थ्यका समस्या बढेको तथा विषम मौसमी घटनाका कारण जीवन यापन प्रभावित भएको अध्ययनले देखाएका छन्। अर्काेतिर विषम मौसम र जलवायुका कारण मानिस आफ्नो थातथलो छाड्न बाध्य हुँदा मानवीय संकट सिर्जना हुन सक्ने देखिएको छ।

विज्ञले भारत र पाकिस्तानमा इतिहासमै पहिलोपटक तातो हावाकोे कहर सर्वाधिक देखिएको र यसले मानव स्वास्थ्य तथा जीवन यापनलाई समेत प्रभावित पारेको बताएका छन्। कृषि बालीनालीकोे उत्पादनमा हा्स आउँदा यो क्षेत्रका करोडौँ मानिसको जीवन यापनका आधार भत्कने देखिएको छ। विपन्न किसान र जोखिममा रहेका समुदाय यस्ता विपद्बाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। कृषि क्षेत्रमा काम गर्ने कामदार तथा घरबाहिर काम गर्न बाध्य अन्य कामदार चर्काे गर्मीको सिकार हुने गर्छन्।

नेपालको सन्दर्भमा पनि पछिल्ला वर्षमा जलवायुजन्य विपद्का घटना बढ्दो क्रममा छन्। यसपटक सर्वसाधारणले छिटो गर्मी महसुस गरेका छन्। बाढी/पहिरो, डुबान, जंगली आगोलगायतका प्राकृतिक विपद्का घटना बढ्दो क्रममा देखिएको छ।  समग्रमा भन्नुपर्दा नेपाललगायत समग्र भारतीय उपमहाद्वीप जलवायु परिवर्तनको कहरबाट प्रभावित भएको छ। प्रकृति र मानवताका लागि चुनौती बनेको यो विषयलाई सम्बोधन गर्न उपमहाद्वीपको राजनीतिक नेतृत्वले गंभीरतापूर्वक लिन आवश्यक छ। जलवायु परिवर्तनका प्रभावहरू राजनीतिक सीमासँग सम्बन्धित छैनन्।

त्यसैले सम्बन्धित देशले यो समस्याको समाधान गर्न थप तयारी गर्न आवश्यक छ भने क्षेत्रीयरूपमा पनि यसका लागि सहकार्य हुनुपर्ने देखिन्छ। जलवायुजन्य विपद्ले निम्ताउने हानि/नोक्सानी न्यून गर्न र विषम परिस्थितिमा अनुकूलन हुन सक्ने क्षमता अभिवृद्धि गर्न आवश्यक छ।

यो प्रसंगमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यस्ता अनपेक्षित परिवर्तनका लागि मानवीय गतिविधि नै सबैभन्दा बढी जिम्मेवार रहेका कारण यसलाई सम्बोधन गर्न पनि हाम्रै भूमिका अहं रहन्छ। त्यसैले यो समस्या समाधानार्थ अल्पकालीन तथा दीर्घकालीन हिसाबले लक्ष्य नै तोकेर अगाडि बढ्न आवश्यक देखिएको छ।

विशेषगरी पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार मानिएको हरितगृह ग्यास उत्सर्जन घटाउन र स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न विश्व समुदाय सँगसँगै क्षेत्रीय प्रयासहरू आवश्यक छन्। मानव कल्याण र पृथ्वीको स्वास्थ्यसँग जोडिएको यो विषयलाई सम्बोधन गर्न ढिलो भएमा दिगो भविष्य र बाँच्न लायक पृथ्वी बनाउने दिशामा हामीलाई उपलब्ध अन्तिम अवसर पनि गुम्नेछ।

प्रकाशित: २१ वैशाख २०७९ ००:२३ बुधबार

जलवायु परिवर्तन