सम्पादकीय

नातावादको दलदलमा नेताहरू

नातावादलाई पटक्कै मन नपराउने नेताका रूपमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको जहिल्यै सम्झना हुन्छ। उनी प्रधानमन्त्री रहेकै बेला आफ्ना परिवारका एक सदस्य त्रिभुवन विश्वविद्यालयको उपकूलपति बन्न चाहन्थे। तर अधिकारीले आफू प्रधानमन्त्री बनेको बेला यस्तो नियुक्ति उपयुक्त नहुने भन्दै अस्वीकार गरे।

निकट नाता सम्बन्धका ती व्यक्ति उनीसँग रिसाएनन् मात्र, पछि उनको दल नेकपा (एमाले) विभाजित भई नेकपा (माले) बन्दा उनी पनि त्यतै लागेका थिए। आफू सरकार प्रमुख हुँदा वा दलको प्रमुख बन्दा पारिवारिक स्वार्थ त्याग गर्ने हो भने अन्य व्यक्तिले त्यो दलमा आफ्नो भविष्य रहेकामा विश्वस्त हुन सक्छन्।

अहिले स्थिति स्वर्गीय अधिकारीको पालामा जस्तो रहेन। अहिले नेताले आफ्ना परिवार र नातेदारका पक्षमा लिएका निर्णयले लोकतन्त्रभित्रको एउटा आदर्श अवस्थालाई गिज्याएको छ। आफूले सक्दा परिवार र नातालाई मद्दत नगर्ने हो भने अरू कसले सहयोग गर्छ भन्ने सोच देखिन थालेको छ। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएयता क्रमशः नातावाद मौलाउँदै आएको छ।

आफ्नो क्षमताका आधारमा भन्दा परिवार सदस्यले सहयोग गरेका भरमा नेतृत्वमा पुग्ने प्रवृत्ति विकास हुँदै आएको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई नेतृत्वमा स्थापित गर्न कोसिस गरे। उनको त्यो कोसिसले कैयन मेहनती राजनीतिक व्यक्तिहरूको अवसर गुम्यो। छोरीलाई आफैँ राजनीतिमा तलदेखि उठ्दै आउन प्रोत्साहित गरेका भए शायद सुजाता क्रमशः नेतृत्वमा स्थापित हुने थिइन्।

अहिले त्यसैको सिलसिलाजस्तै गरी नेताकै परिवार सदस्यहरू निर्वाचनमा उम्मेदवार भएको पनि देखियो। तर मतदाताले त्यसलाई स्वीकार गरेको देखिएन। परिवर्तनपछि आएका नेतामा पनि परिवारवाद र नातावाद हावी देखेर आमनागरिक दिक्क छन्। आफ्नो परिवारको सदस्य सरकार वा पार्टीको माथिल्लो स्थानमा नभएका व्यक्तिले मौका नपाउने हो भने कैयन् प्रतिभाशाली व्यक्तिहरू राजनीतिबाटै पलायन हुने खतरा हुन्छ।

राजदूतको नियुक्ति होस् वा निर्वाचन, जहाँ पनि परिवारकै सदस्य वा नातेदार चाहिने भएपछि अहिलेको राजनीतिक प्रणालीमा विकृतिबाहेक अरू केही उपलब्धि हुने देखिँदैन। अहिले निर्वाचनमा देखिएका धेरै बागी उम्मेदवारको कारण पनि यही हो। नेताले राजनीति गर्दा हिजोका दिनमा पूरै परिवारले समस्या भोगेको छ। पञ्चायतका बेला इतर राजनीतिमा लाग्ने परिवारले दुःख पाएका थिए। यसको अर्थ लोकतन्त्र आएपछि हिजोको दुःखको हिसाब सबै परिवार सदस्य र नातेदारलाई पुरस्कृत गरेर असुल गर्नुपर्छ भन्ने होइन।

देश परिवर्तन गर्न हिँडेका व्यक्तिहरूले भोगेको हिजोको दुःखको पुरस्कार भनेकै आजको दिनमा हासिल भएको समृद्धि हो। बिडम्वना, हामीकहाँ त्यस्तो उच्च भावना भएन। मेरा परिवारका सदस्यले हिजोको पुरस्कार पाउनुपर्छ भन्ने भावनाले बढ्ता काम गरेको छ।

परिवारकै स्वार्थमा अल्झेका भए दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला पत्नी बिन्नी मन्डेलाको जुनसुकै गल्तीमा पनि आँखा चिम्लन बाध्य हुन्थे। उनले मुलुकलाई पहिलो सर्त बनाएका कारण बिन्नीसँग पारपाचुके गर्नसमेत पछि परेनन्। हामीकहाँ कहिले पति कहिले पत्नीको नाम अनियमितता र विभिन्न काण्डमा जोडिन्छ। तर त्यसमा एकअर्कालाई तिनले भरथेग गर्छन्। कहिल्यै यसो नगर्नू भन्न सक्दैनन्।

नेकपा (माओवादी अध्यक्ष) पुष्पकमल दाहाल पुत्री रेणु दाहालले फेरि पनि चितवनमा मेयरको उम्मेदवार बन्ने मौका पाएकी छन्। उनलाई दुई कार्यकाल मेयर बनाउँदा नेपाली कांग्रेसको स्थानीय आधार समाप्त हुने स्थिति आइसकेको छ। अध्यक्ष दाहालका निम्ति कांग्रेसले आफ्नो स्थानीय राजनीतिलाई समेत तिलाञ्जली दिएको छ।

निश्चय नै दाहाल परिवारले हिजोका दिनमा संघर्ष गरेको छ। यसको अर्थ त्यही परिवारले मात्र मौका पाउनुपर्छ भन्ने छैन। माओवादीमा लागेर आफ्नो जीवन, परिवार र सम्पत्ति समाप्त गर्ने कैयन् अन्य व्यक्ति छन्। त्यति मात्र होइन, त्यो १० वर्षे सशस्त्र द्वन्द्व अवधिमा दुःख पाउने सर्वसाधारण बेहिसाब छन्। देशले नै दुःख पाएको छ। आज मौका पाउँदा देशलाई उठाउने गरी काम गर्नुपर्छ। परिवार मात्र हेरेर के गर्नु ?

नेताका परिवार सदस्य हुनेबित्तिकै निर्वाचनमा उम्मेदवार बन्न योग्य ठान्ने स्थिति आउनु उचित होइन। काठमाडौँ महानगरपालिकाकै हकमा पनि कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जनाले मौका पाएकी छन्। लौहपुरुष गणेशमान सिंहको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान छ। तर यसको अर्थ उनको परिवारका सदस्यले मात्र मौका पाउँदा आमकार्यकर्ताको तहमा अविश्वास बढ्छ।

नेताको परिवार सदस्य नभई मौका पाइँदैन भन्ने विश्वास बढ्न थाल्यो भने त्यसले कालान्तरमा नकारात्मक प्रभाव पर्छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, मधेस प्रदेश मुख्य मन्त्री लालबहादुर राउत पत्नी जलेखा खातुन लगायतको उम्मेदवारीलाई लिएर आलोचनाका स्वर सुनिएका छन्। आखिर नेताले परिवारलाई नै किन प्राथमिकतामा राखे ? प्रश्न गम्भीर छ।

नेताहरूले सम्भव भएसम्म यस्तो परिस्थिति आउन दिनुहुँदैन। नेताका परिवारको संघर्षलाई अवसरमा साट्दा परिस्थिति नकारात्मक बन्छ। नेताको परिवारमा नपर्ने बित्तिकै अवसरबाट वञ्चित भइन्छ भन्ने अवस्थामा कसैलाई पुर्‍याउनु हुँदैन। नातावाद मात्र होइन, अन्य दलबाट आउने बित्तिकै ठूलो अवसर पाउने अवस्थाले पनि पहिलेदेखि संघर्ष गरिरहेका नेता तथा कार्यकर्तालाई विरक्त बनाउन सक्छ।

यो अवस्था विशेष गरी अहिले नेकपा (एमाले) मा देखिएको छ। अहिले अन्य दल छाडेर आउने व्यक्तिलाई सबैजसो दलले मौका दिइरहेका छन्। वास्तवमा दलभित्रको मूल्यांकन पद्धतिलाई बलियो बनाउँदै नेतृत्व विकासलाई प्रोत्साहन गर्न सक्नुपर्छ।

प्रत्येक एकाइमा काम गर्ने व्यक्तिको क्षमताका आधारमा विकास गर्दै राष्ट्रिय जिम्मेवारीसम्म पुग्ने बाटो खोल्नुपर्छ। यसो भयो भने मात्र कडा परिश्रम गरेर जिम्मेवारीमा पुग्ने बानी लाग्छ। अहिलेको जस्तो नेता खुसी पारेर जिम्मेवारी पाउने अवस्था आउनु भनेको कतै नपुगिने बाटो हो। नातावादको दलदलबाट नेताहरू जोगिनु उचित हुन्छ। 

प्रकाशित: १५ वैशाख २०७९ ००:४९ बिहीबार

Download Nagarik App
Download Nagarik App