स्थानीय तह निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गर्न निर्धारित आइतबार र सोमबार दुई दिन प्रमुख दलहरूको भद्रगोल स्थिति देखिएको छ।
यी दलको आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर भएका कारण यस्तो अवस्था आएको हो। तुलनात्मकरूपमा साना दलको स्थिति यसमा देश चलाइरहेका ठूला दलको भन्दा राम्रो छ। उनीहरूले आफ्नो संस्था सञ्चालनलाई प्रभावकारी मात्र बनाएका छैनन्, उम्मेदवार चयनमा समेत तिनले सकारात्मक हस्तक्षेप गरेका छन्।
समाजमा प्रभाव पारेका व्यक्तिलाई खोजीखोजी उम्मेदवार बनाउन यी दल लागेका छन्। प्रमुख दलहरूको यो कमजोर अवस्था आउनुमा तिनले संस्थालाई प्रतिस्पर्धात्मक र व्यवसायिक ढंगले चलाएका छैनन् भन्ने हो। दललाई आफ्नो खल्तीको गैर सरकारी संस्थाजस्तो गरी चलाएका कारण अहिले बिकृतिको चाङ लागेको हो।
पहिले उम्मेदवार बनाउने क्रममा दलको मूल्यांकन प्रणाली सशक्त देखिन्थ्यो। आफ्नो सही मूल्यांकन हुने विश्वासले नेता तथा कार्यकर्ताले सहजै निर्णयको पालना गर्थे। अहिले आएर निर्वाचनमा आफूले खोजे अनुसार उम्मेदवारीको अवसर नपाएपछि दल त्याय गर्ने प्रचलन समेत आएको छ। कैयन स्थानीय नेता तथा कायकर्ताले आफूमाथि अन्याय भएको गुनासो गरेका छन्। कैयन सामाजिक सञ्जालमा अश्रुधारा बगाउँदै रोइरहेका पनि देखिएका छन्। आफ्नो दल र नेतृत्वले अन्याय गरेको भन्दै ती विरोधी दलमा सरिक हुन गएका छन्। अघिका निर्वाचनमा यस्तो अवस्था देखिएको थिएन। थोरै व्यक्तिले विद्रोह गरेर बागी उम्मेदवार बने पनि व्यापकरूपमा यस्तो देखिँदैनथ्यो।
यसपटक भने उम्मेदवार बन्न चाहने व्यक्तिमाथि आक्रमण समेत भएका छन्। तिनलाई उम्मेदवार बन्न नदिन तिकडम समेत गरेको देखिएको छ। यी घटनाक्रमले भद्रगोल अवस्था सिर्जना गरेको हो। उम्मेदवार बनाउने क्रममा पार्टीमा गरेको योगदानभन्दा तिनले तिर्ने मूल्य महत्त्वपूर्ण भएको छ। टिकट किनेर उम्मेदवार बन्न सक्ने अवस्थामा एकथरी व्यक्ति पुगेका छन्।
विगतमा दलका निम्ति योगदान गर्ने कैयन व्यक्ति उम्मेदवार बन्न नसक्ने अवस्थामा पुगेका छ्न्। जसले नेतृत्वलाई खुसी पार्न सक्छ वा उम्मेदवारी किन्न सक्त, ऊ मात्र यसका निम्ति योग्य हुन सक्ने अवस्था छ। आम मानिसलाई खुल्लखुला टिकट खरिदबिक्रीको जानकारी छ। पुराना कार्यकर्तालाई नदिइ यस्ता पैसावाललाई उम्मेदवार बनाउनु पछाडिको उद्देश्य सबैले बुझेकै छन्।
उम्मेदवारीकै क्रममा यसपटक मतदाताले आफ्नो ध्यान तिनको योग्यतामा केन्द्रित गर्न थाल्नु सुखीको कुरा हो। अहिले स्थानीय तहका कुनै पनि पदका निम्ति उम्मेदवार हुने बेलामा तिनले विगतमा गरेका कामकारवाहीबारे जानकारी लिन र दिन सर्वसाधारण सक्रिय भएका छन्। पोखरा पृथ्वीचेकको सुन पसलबाट गहना चोरेको सिसी फुटेजका कारण मेयर पदका उम्मेदवारको नाम परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। प्रमुख विपक्ष नेकपा (एमाले)ले मेयरका निम्ति उम्मेदवार बनाएका दीपक पौडेलको सट्टामा उम्मेदवार परिवर्तन गर्नु परेको छ। अहिले एमालेले कृष्णबहादुर थापालाई उम्मेदवार बनाएको छ। उनको बारेमा पनि विवाद भइरहेको छ। उनले विगतमा दलितका बारेमा व्यक्त गरेको प्रतिक्रियालाई लिएर यस्तो विवाद भएको हो।
यो घटनाले दुई संकेत गरेको छ– एक, विस्तारै सामाजिक सञ्जाल सक्रिय हुँदेछ। यसका कारण कैयन व्यक्तिका बारेमा विगतमा भएको कमजोरी सजिलै सार्वजनिक हुने गरेको छ। दुई, विगतमा गरेका कुनै पनि कमजोरीलाई अब उछाल्न सजिलो भएको छ। र, आफूले मतदान गर्ने उम्मेदवारको विगत, व्यवहार र भावी स्थितिलाई ध्यानमा राखेर प्रतिक्रिया व्यक्त गर्नु स्वाभाविक हो। भविश्यमा राजनीति गर्न चाहने कसैले पनि गलत काम गर्नु हुँदैन। यस्ता उम्मेदवारले विजयी भएरु गएपछि झन् खराब गर्लान् भन्ने डर मान्नु स्वाभाविक हो। त्यसैले उच्च नैतिक चरित्र भएका व्यक्तिलाई उम्मेदवार बनाउनेतिर ध्यान जानु आवश्यक छ।
राजनीतिमा आउन चाहने व्यक्तिले वाल्यकालदेखि सजग हुनु आवश्यक छ। अभिभावकले पनि यस्तो विषयमा आफ्ना नानीहरूलाई जानकार बनाउनु पर्छ। त्यसो भयो भने भविश्यमा राजनीतिमा आउँदा पनि धोका हुँदैन। प्रत्येक नागरिक अहिले सूचन प्रविधिका कारण सशक्त बनेका छन्। तिनीहरूसँग अहिलेका उम्मेदवारबारे जानकारी पनि छ।
असल उम्मेदवार चयन र निर्वाचन शुद्धिकरणका निम्ति यस्ता नागरिकको योगदान महत्त्वपूण हुन्छ। त्यसले उम्मेदवारका बारेमा चर्चा/परिचर्चा गर्ने र तिनले विगतमा गल्ती गरे÷नगरेको बताउने काम गर्दा राम्रा उम्मेदवारलाई मौका प्राप्त हुन्छ। प्रमुख दलले आफ्ना उम्मेदवार बनाउँदा रकममा बिक्री गर्ने वा नातावाद कृपावादमा बढ्ता जोड दिने भएका कारण पनि यस्तो शुद्धिकरण आवश्यक भएको हो।
स्थानीय तह सरकारको पाँच वर्ष अवधि पूरा भइसकेको छ। यसबीच दल र तिनका नेता तथा कार्यकर्ताको प्रवृत्तिबारे पनि राम्रो जानकारी भइसकेको छ। त्यसैले यही वैशाख ३० मा हुने निर्वाचनका उम्मेदवारका बारेमा आम मतदाताले बुद्धिमत्तापूर्ण निर्णय अपेक्षित छ।
अहिले राजनीतिमा देखिएको विकृति अन्त्यका निम्ति पनि शुद्धिकरण आवश्यक भइसकेको छ। त्यसैले दल मात्र हेर्ने होइन उम्मेदवार हेर्ने प्रवृत्तिको विकास अपरिहार्य भइसकेको छ। दलले जथाभावी व्यक्तिलाई उम्मेदवार बनाउने र मतदाताले दलीय आधारमै मतदान गर्दा राम्रो परिणाम आएको छैन। असल उम्मेदवार नभए मत प्राप्त हुँदैन भन्ने दलहरूलाई लाग्नु आवश्यक छ। त्यो स्थिति मतदाताको भूमिकाबाटै प्राप्त हुन सक्छ।
प्रकाशित: १३ वैशाख २०७९ ००:५१ मंगलबार