सम्पादकीय

बेरोजगारी समस्याको लाम

मुलुकमा रहेका अधिकांश युवाको एउटै चिन्ताको विषय हो– रोजगारी। बेरोजगारीको समस्या मुलुकमा कति छ भनेर जान्न निर्वाचनका निम्ति म्यादी प्रहरी बन्न लाम लागेका युवालाई हेरे पुग्छ। प्रत्येक जिल्लामा उनीहरू लाम लागेका दृश्यले मुलुकमा कामको साँच्चिकै अभाव रहेको देखाउँछ। एकातिर, मुलुकमा उद्योगधन्दाको विकास हुन सकेको छैन। अर्कोतिर देशमै आवश्यक पर्ने सिपयुक्त कामका निम्ति युवा जनशक्तिलाई तयार पारिएको छैन।

देशमा उद्योगधन्दा खुलेका भए कसैले पनि रोजगारीका निम्ति धेरै चिन्ता गर्नुपर्ने थिएन। जता पनि काम पाइन्थ्यो । त्यसले रोजगारी मात्र बढाउने थिएन, बजारमा सकारात्मक प्रभाव पार्ने थियो । अन्य वस्तु तथा सेवाको उत्पादनमा समेत योगदान पुर्‍याउँथ्यो। देशमा उद्योगधन्दा खोल्ने वातावरण बन्नै सकेको छैन । भइरहेका उद्योगले पनि निरुत्साहित हुनुपर्ने अवस्था छ। उद्योगधन्दाबाहेक पनि देशमा दैनिक विकास निर्माणका काम धेरथोर भइरहेका छन्। राजधानी काठमाडौँमै हेर्ने हो भने पनि ठुल्ठूला तारे होटल बनिरहेका छन्। यसका निम्ति आवश्यक सिपालु जनशक्ति हाम्रो बजारबाट आपूर्ति भएको देखिएको छैन।

बजारमा अनेकन काम छन्। उदाहरणका निम्ति हजामको पेसालाई लिने हो भने दक्ष जनशक्तिका निम्ति सहरी क्षेत्र ऊर्बर छ। राम्ररी कपाल काट्न सिकेका युवाका निम्ति कामको यहाँ कमी छैन। यस्ता काम र व्यवसायका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने निकायहरूले राम्ररी काम गरेका छैनन्। त्यही भएर कामको खोजीमा धेरै युवा विदेश जान चाहन्छन्। खासगरी खाडी मुलुकमा गएर उनीहरूले आफूलाई रोजगारीमा लगाउने गरेका छन्। कोभिड–१९ का कारण धेरै युवा विदेश जान पनि पाएका छैनन् । विदेशी मुलुकमा पनि यसको प्रभावका कारण काम घटेको छ।

यो अवस्थामा देशभित्रै रोजगारी खुल्दा स्वाभाविकरूपमा धेरै युवा म्यादी प्रहरी बन्न लामबद्ध हुनुपरेको हो। आगामी वैशाख ३०, २०७९ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनका निम्ति म्यादी प्रहरीले जम्मा ४० दिन रोजगारी पाउने छन्। यस अवधिमा तिनले कमाउने भनेको ४४ हजार रुपैयाँ मात्र हो। यति रकम कमाइका निम्ति पनि युवायुवती सबै इच्छुक देखिनु आफैँमा अनौठो हो । वास्तवमा आम्दानीको स्रोत आमनेपालीले फेला पारेका छैनन्। अहिले एक लाख म्यादी प्रहरीमा भाग लिन छनोट हुनेले मात्र भाग्यमानी ठान्नुपर्ने अवस्था छ।

म्यादी प्रहरीमा भर्ना हुन जाँदा मात्रै पनि दश हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ। यसका निम्ति अवसर पाउनेलाई त केही राहत होला, जसले पाउँदैनन्, तिनका निम्ति यो अनाहकको खर्च मात्र हुन्छ। अर्थात् यो तिनका निम्ति थप ऋण हो। तेस्रो नेपाल श्रम सर्वेक्षण, २०७४–७५ अनुसार ११.४ प्रतिशत बेरोजगारी रहेको छ। उक्त सर्वेक्षणले १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको काम गर्न सक्ने जनशक्ति मध्ये ९ लाख ८ हजार बेरोजगार रहेको देखाएको थियो। वैदेशिक रोजगारीमा जान नपाउने हो भने रोजगारी खोज्नेको चाप धानिनसक्नु हुने देखिन्छ।

हाम्रोजस्तो मुलुक जहाँ अहिले पनि युवा जनसंख्या उल्लेख्य छ। १६ देखि ४० वर्ष उमेरको जनसंख्या ४० प्रतिशतभन्दा बढी हुनु आफैँमा सकारात्मक पक्ष हो। यस्तो जनसंख्या भएका ठाउँमा उद्योगधन्दा र विकास निर्माणका निम्ति काम गर्ने जनशक्तिको अभाव हुँदैन। यो स्थिति सधैँ कायम रहँदैन। कालान्तरमा वृद्ध उमेरका व्यक्ति युवाभन्दा बढी हुनेबित्तिकै त्यो अर्थतन्त्रमा दबाब हुन थाल्छ। त्यसकारण पनि अहिले युवा जनसंख्या अनुपात राम्रो भएका बेलामा रोजगारी बढाउन सक्नुपर्छ।

अहिलेसम्म देशमा राजनीतिक परिवर्तनकै निम्ति बढ्ता छलफल हुने गरेको हो। झण्डै सात दशकको समय नेपालले राजनीतिक परिवर्तनकै निम्ति खर्चिएको छ। तर, अब देशलाई विकासको रणनीतिक मार्गमा अग्रसर गराउने हो भने रोजगारीमा बढ्ता ध्यान दिन सक्नुपर्छ।

कुन राजनीतिक दलको सरकार देशमा रहेका बेला कति रोजगारी सिर्जना भयो भन्ने बहस गर्ने वातावरण बन्नुपर्छ। त्यसैका आधारमा राजनीति अगाडि बढाउने परिपाटी हुनुपर्छ। त्यसो भयो भनेमात्र देश लाभको स्थितिमा हुन्छ। अन्यथा, फोस्रा भाषणमै रमाउने गर्दा राजनीतिक व्यक्तिहरूलाई सहज हुन्छ। खासै काम गर्नुपर्दैन।

धेरै भन्दा धेरै व्यक्ति रोजगार हुने हो भने क्रमशः गरिबीको रेखाबाट सर्वसाधारणलाई उकाल्न सजिलो हुन्छ। प्रत्येक वर्गको माथिल्लो आर्थिक स्थितिमा स्तरोन्नति हुने अपेक्षा हुन्छ। सबैभन्दा छिटो स्तरोन्नति हुने माध्यम भनेको शिक्षा हो। राम्रो शैक्षिक वातावरण हुने र सिपयुक्त जनशक्ति बनाउने हो भने आजको दुनियाँमा वैदेशिक रोजगारीका पनि सिपयुक्त काममा जान सकिन्छ। सकेसम्म देशभित्रै पनि रोजगारी सिर्जना हुने र विदेशमा जानु परे पनि सिपको काम सिकेरमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने वातावरण देशमा तयार हुनु उचित हुन्छ।

सरकारले प्रत्येक घटनाबाट प्रेरणा लिने र अगाडि बढ्ने रणनीति अख्तियार गर्नुपर्छ। बेरोजगारीको अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न अहिलेको म्यादी प्रहरीको लामबाट पनि प्रेरणा लिन सकिन्छ। देशमा उद्योगधन्दाको विकास नगर्ने हो भने वैदेशिक रोजगारीबाट मात्र बेरोजगारीको समस्या अनन्तकालसम्म हल गर्न सकिँदैन। त्यसैले आफ्नै मुलुकभित्र काम सिर्जना गर्नतिर सरकार लाग्नुपर्छ। त्यसका निम्ति उद्योगधन्दाको वातावरण तयार गर्नुपर्छ। आजको जस्तो उद्योगका नाममा व्यापार गर्ने र विदेशी सामान आयात गरेर बिक्री गर्ने परिपाटीले मात्र अपेक्षित उद्देश्य हासिल हुन सक्दैन।

प्रकाशित: १० चैत्र २०७८ ०१:४५ बिहीबार

बेरोजगारीको समस्या