सम्पादकीय

बलात्कारको भयाबह स्थिति

केहीयता सार्वजनिक भएका बलात्कारका घटनाले थप चिन्ता बढाएको छ। विशेषगरी बालिका र किशोरीमाथि भइरहेका बलात्कार र हत्याका घटनाले समाजमा बढ्दो क्रूरता उजागर गरिरहेको छ।

एकातिर, मुलुकले अत्याधुनिक कानुनी व्यवस्था अवलम्बन गरेको छ अर्कोतिर बालिका, किशोरी र महिलामाथि हुने दुर्व्यवहारका घटनामा कमी पनि आएको छैन। कानुन जतिसुकै सशक्त बनाए पनि यस्ता घटनामा कमी नआउनु भनेको चिन्ताको विषय हो। नेपालमा दैनिक बलात्कारका सातवटा घटना हुने गरेको एक अनुमान छ। यसले स्थिति भयाबह हुँदै गरेको संकेत गर्छ। यसले महिला तथा बालिका असुरक्षित हुँदै गएको सन्देश दिएको छ।

बलात्कारका घटना बढ्दै जानु भनेको समाजमा भयको वातावरण बन्नु पनि हो। यसले महिला, बालिका तथा किशोरीमाथि मानसिक दबाब मात्र हुँदैन, समाजमा प्रगति गर्दै अगाडि बढ्ने बाटो पनि अवरुद्ध हुन्छ। त्यसैले सबैले सहजरूपमा काममा जान र इज्जतको जीवन जिउन सक्ने बनाउन बलात्कारजस्ता मानव समाजलाई कलुषित तुल्याउने घटनामा कमी आउनुपर्छ।

त्यसका निम्ति अब कुनै एउटा पक्षले मात्र काम गरेर नपुग्ने अवस्था आएको छ। बलात्कारका घटना प्रत्येक दिन सार्वजनिक हुँदा पनि त्यसका विरुद्ध ठोस अभियान नचलाउने हो भने स्थिति अरू गम्भीर हुन सक्छ।

अचेल बलात्कारसम्बन्धी घटनाको समाचार पढ्न वा हेर्न पनि नसकिने स्थिति आइरहेको छ। यी घटना अत्यन्त अमानवीय किसिमका छन्। हालै मोरङको सुन्दरहरैँचा–७ का २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीले १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घटना मुटु कमाउने गरी डरलाग्दो छ।

परिपक्व उमेरमा पुगिसकेका युवा यस्तो अपराध गर्न नडराउनु आफैँमा भयाबह स्थिति हो। तिनले बालिकालाई फकाएर लगी सामूहिक बलात्कार गरेका हुन्। यो एउटा उदाहरण हो। बलात्कारीहरूको निशानामा अबोध बालिकाहरू पर्न थाल्नु आफैँमा डरलाग्दो अवस्था हो।

बलात्कारका घटना बढिरहेको स्थिति हेर्दा कोही पनि सुरक्षित नरहेको प्रष्ट हुन्छ। प्रायः बलात्कारका घटनामा आफ्नै निकटका व्यक्ति, नातेदार आदिसमेत संलग्न देखिएका छन्। कुनै अपरिचित वा पराइ व्यक्तिबाट मात्र होइन, आफ्नै निकट व्यक्तिबाट समेत जोगिनुपर्ने अवस्था आउनु भनेको अकल्पनीय अवस्था हो।

यस्तो अवस्था बढ्दै जाने हो भने भविष्यमा यसले हाम्रो मुलुकको बदनामी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत हुन्छ। केहीअघि भारतमा भएका लगातारका बलात्कार काण्डले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुनुपरेको हो। निर्भया बलात्कार काण्डपछि अहिले महिला तथा बालिकाको सुरक्षाका निम्ति निर्भया स्क्वाड नै सक्रिय बनाइएको छ।

हामीकहाँ तुलनात्मकरूपमा महिलालाई सार्वजनिक स्थानमा कम समस्या पर्ने गरेको हो। यहाँ रात÷साँझ काममा जाँदा पनि सहज वातावरण रहेको ठान्ने गरिएकामा अहिले धेरै असजिलो अवस्था आउन थालेको छ। राजधानी काठमाडौँमै भएका केही व्यापक चर्चाका बलात्कार काण्डले पनि यही तथ्य उजागर गरेको हो। अझ यस्ता काण्ड मिलाउन प्रहरी, प्रशासन र प्रभावशाली व्यक्तिहरू सक्रिय हुने गरेका पनि देखिएको हो। यस्ता अपराधका घटनामा प्रहरीले उच्च संवेदनशीलताका साथ अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने आवश्यकता छ। त्यसो हुने हो भने दोषी उम्कन पाउँदैन। यस्तो अपराध गर्नुअघि डर मान्ने पनि बढ्छन्।

अपराधमा अज्ञानताको मात्र भूमिका हुँदैन। कारबाही प्रक्रिया सशक्त र छिटो भयो भने यसले समाजमा चेतना फैलाउँछ। यस्तो अपराध गरेको खण्डमा कसैले बचाउन सक्दैन भन्ने भावना फैलिनु आवश्यक छ। त्यसैले बलात्कार काण्डमा कारबाही प्रक्रिया छिटो हुनुपर्छ। अहिले पनि बलात्कारीले भन्दा पीडितले बढ्ता चिन्ता गर्नुपर्ने अवस्था विद्यमान छ। इज्जत बलात्कारीको जान्छ, पीडितको होइन भन्ने मान्यता विकास गर्ने र कडाइका साथ यस्ता मुद्दालाई निक्र्योलमा पुर्‍याउने परिपाटी अहिले आवश्यक भइसकेको छ।

पहिलेभन्दा अहिले बलात्कारका घटना बढ्नुमा उजुरी गर्ने बढेका पनि हुन सक्छन्। पहिलेजस्तो चूप लागेर बस्ने वा मिलाउने भन्ने कुरा केही कम भएका हुन सक्छन्। तैपनि निर्मला पन्त हत्या तथा बलात्कारजस्ता मुद्दाका दोषी अझै फेला नपर्दा अपराधीहरूको मनोबल बढ्न सक्छ। तर, अपराध कुनै न कुनै रूपमा एक दिन सार्वजनिक हुन्छ नै।

हालै एक किशोरी कलाकारको बलात्कार मुद्दाले जागरणको अर्को पाटो थपेको छ। कम उमेरका बालिकालाई कानुनले संरक्षण दिएको र तिनीसँग सहमतिको सम्बन्ध पनि बलात्कार मानिन्छ भन्ने धेरैलाई जानकारी गराउन सफल भएको छ।

कानुनी अज्ञानता क्षम्य हुन सक्दैन। महिला दुर्व्यवहार र बलात्कारका घटनालाई सशक्त ढंगले कारबाही गर्ने परिपाटी विकास गर्नु आवश्यक छ। त्यसका निम्ति प्रहरी र अनुसन्धान अधिकारीहरूलाई निपूर्ण तुल्याउनु उचित हुन्छ। त्यसैगरी उजुरी प्रक्रियालाई सहज तुल्याउनुपर्छ। बलात्कारको उजुरी गर्न जाने पीडितले पटक–पटक त्यही घटनालाई सम्झाउँदै झन् पीडित हुने अवस्था कम हुनुपर्छ।

कुनै पनि घटनामा कारबाही गराउन सक्नु भनेको भोलि अर्को त्यस्तै घटना हुन नदिनु पनि हो। कतिपय घटनामा पटके अपराधी सरिक भएका देखिन्छ। सुन्दरहरैचामा भएको बलात्कार काण्डमा संलग्न एउटा अभियुक्त २ वर्षे बालिका अपहरण तथा बन्धक आरोपमा पक्राउ गरी मुद्दा चलिरहेको व्यक्ति हो।

अपराधमा संलग्न यस्ता व्यक्तिले फेरि पनि अपराध गर्न सक्छन् भनेर वरिपरिका बासिन्दालाई सजग गराउने परिपाटी हुनु आवश्यक छ। यस्ता अपराधी बस्ने ठाउँमा संकेत वा चिह्न राख्ने चलन कतिपय ठाउँमा हुन्छ। उनीहरू सजाय भोगिसकेर आए पनि समाज सतर्क हुने व्यवस्था गर्नुपर्छ। समाजमा अपराधका घटना कम गराउन कानुनी सचेततामात्र होइन, बालिका तथा किशोरीको रक्षा गर्ने सावधानीका उपायबारे पनि जानकार गराउनु आवश्यक छ।

प्रकाशित: १ चैत्र २०७८ ०१:१९ मंगलबार

बलात्कारका घटना