कोरोना महामारीका कारण चौपट भएको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधारको अवस्था देखिएको छ। नेपालको अर्थतन्त्र धान्ने मुख्य स्रोतमध्ये एक रहेको पर्यटन क्षेत्रमा समस्या देखिएकै कारण मुलुकको अर्थतन्त्रमा पनि केही हदसम्म समस्या देखिएको हो।
कोभिड–१९ ले विश्वव्यापीरूपमा समस्या ल्याए पनि नेपालको पर्यटन क्षेत्रलाई चाहिं नराम्ररी आक्रान्त पार्यो। होटल, लज, ट्रेकिङ क्षेत्र, पथप्रदर्शक आदि नराम्ररी थला परे। जसमा अझै पनि महत्वपूर्ण सुधारको अवस्था नदेखिनु आफैँमा विडम्बनापूर्ण अवस्था हो।
त्यसो त पर्यटनका धेरै आयाम छन्। यसले एकातिर नागरिकलाई रोजगारी प्रदान गर्छ भने अर्कोतिर स्थानीयताको प्रचारप्रसारमा सघाउ पुर्याउँछ। पर्यटकबाट हुने खर्चले धेरै होटल, लज तथा पर्यटककेन्द्रित व्यवसाय फस्टाउँछ।
गाउँठाउँमा पैसा आदान–प्रदान हुने हुँदा स्थानीयको आर्थिक अवस्था मजबुत हुन्छ। स्थानीय स्तरमा उत्पादित कला र सामग्रीले बजार पाउँछन्। यो आम्दानी स्थानीयले आफ्ना सन्तानको शिक्षा, स्वास्थ्य, मनोरञ्जन आदि क्षेत्रमा खर्चन पाउँछन्। यसरी पर्यटन व्यवसायले मुलुकको सिंगो अर्थतन्त्रमाथि सकरात्मक प्रभाव पारिरहेको हुन्छ।
युरोपका कतिपय देशमात्र हैन, नेपालबाट वरैको सिंगापुर जस्ता देश पनि पर्यटनलाई अर्थतन्त्रको मेरुदण्ड बनाएर आजको अवस्थामा आइपुगेका हुन्। घुमफिरकै लागि बर्सेनि करोडौँ मानिसको आवत्जावत् हुने कारण यो विश्वभर ठूलो उद्योगका रूपमा स्थापित छ। त्यसैले बाह्यमात्र नभई आन्तरिक पर्यटन वृद्धिका लागिसमेत यो क्षेत्रमा लगानी आकर्षित गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ।
सरकारले २ वर्षअघि नै २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेको थियो। जसका लागि भिजिट नेपाल २०२० घोषणा गरेर तयारी पनि गरिएको थियो। एकातिर पर्यटकमार्फत यहाँका सांग्रिलालाई विश्वभर थप प्रचारप्रसार गर्ने उद्देश्य यसको थियो भने अर्कोतर्फ नेपाली अर्थतन्त्रमा थोरै नै भए पनि योगदान पुग्ने अपेक्षा थियो। तर कोभिडले यो योजनामाथि नराम्रोसँग प्रहार गरेपछि लत्रिएको पर्यटन आजका मितिसम्म पनि शिर उठाउन सक्ने अवस्थामा छैन। यो सिंगै मुलुकका लागि चिन्ताको विषय हो।
कोरोना महामारीका कारण सन् २०२० मा नेपालमा साबिकको तुलनामा ८० प्रतिशत पर्यटक घटेका तथ्यांक नेपाल राष्ट्र बैंकसँग छ। जसअनुसार सन् २०२० मा पर्यटन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत कमाइ घट्यो। विदेशी विनिमयबाट २४ करोड ९५ लाख ९५ हजार अर्थात् २ लाख १७ हजार अमेरिकी डलर आम्दानी भएको थियो।
सन् २०२० मा प्रतिपर्यटक जम्मा ६५ डलर आम्दानी भएको देखिन्छ। त्यसो त कुनैबेला निकै चहलपहल हुने पर्यटकीय क्षेत्र पोखराका होटलहरू लामो समय ताला लाग्नु र केहीले होटलका कोठामा बाख्रा तथा पन्छी पालन गर्नु अनि केहीले चाहिँ होटल परिसरमै तरकारी खेती लगाउन बाध्य हुनुले नेपालको पर्यटन क्षेत्र कति थिल्थिलो भएको होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। ठूलो लगानीमा बाख्रा र पन्छी पाल्दा त्यसले मुनाफा दिन सक्दैन। यो केबल बाध्यता थियो। जसले नेपालको पर्यटन क्षेत्रको हालत बुझ्नमात्र सघाउ पुग्ने हो।
कोभिडका कारण पर्यटन व्यवसाय यति प्रभावित भयो कि ७०/८० प्रतिशत कामदार कामबाट बिदा लिन बाध्य भए। बाँकी २० प्रतिशत पनि मासिक ५–७ हजार रुपियाँ लिएर काम गर्न बाध्य छन्। न उनीहरू विकल्पका रूपमा कतै समेटिन सकेका छन् न त सरकारले नै केही व्यवस्था गरिदिन सकेको छ।
जसले गर्दा लगानीकर्ता त मारमा पर्ने नै भए, ठूला संख्याका कामदारसमेत विचल्लीको अवस्थामा छन्। सबैभन्दा बढी प्रभावित ती लगानीकर्ता भए जसले २०२० को भ्रमण वर्षलाई केन्द्रित गरेर आफ्नो व्यवसायमा लगानी थपेका थिए।
कतिले नयाँ होटलसमेत खोलेका थिए। यस क्रममा करिब १० खर्ब रुपियाँ लगानीको लक्ष्य राखिएको थियो। होटलमा ३ हजार १४३ बेड थपिएको थियो। सन् २०१८ मा १२९ वटा स्टार होटल रहेकामा सन् २०१९ मा त्यस्ता होटल १३८ वटा पुगेका थिए। त्यसैगरी टुरिस्ट स्टान्डर्ड होटल ११५१ वटामा ४ लाख ३९ हजार ९९२ बेड थिए।
एकातिर पर्यटक नआउने अर्कोतिर बैंकबाट साँवा/ब्याजको ताकेता भने भइरहने अवस्थाको सिकार लगानीकर्ता अझै पनि भइरहेका छन्। तर विडम्बना त यो छ कि सरकारीतवरबाट भने यस्तो समस्यामाथि नजरअन्दाज गरिएको छ। पर्यटकका लागि बनाइएका सुन्दर र आकर्षक कोठामा बाख्रा, कुखुरा पाल्नुपर्ने अवस्था यसैको उपज हो।
कोभिडको समयमा होटल एसोसिएसनको पहलमा सरकारले सम्बन्धित महानगरपालिका, नगरपालिकामा तिर्दै आएको सम्पत्ति करमा ३ वर्षका लागि क्रमशः ६५, ८०, ९० प्रतिशतसम्म छूट दिएको छ।
यसलाई व्यवसायीले सकारात्मकरूपमा लिएका छन्। त्यसैगरी उनीहरूले हाल माग गरिरहेका पुनर्कर्जा उपलब्ध गराउने र होटलका लागि चाहिने सामानमा कम कर लगाउने तथा छूट दिने व्यवस्थाबारे पनि सरकारीतवरबाट सोचिनु उचित हुन्छ।
लगानीकर्तामात्र हैन, यो क्षेत्रमा आश्रित जनशक्ति अहिलेसम्म ‘घर न घाट’ को अवस्थामा छन्। त्यस्ता कामदार/कर्मचारीका बारेमा पनि सरकारले सम्बन्धित व्यवसायीसँग समन्वय गरेर वैकल्पिक आय आर्जनको व्यवस्था गर्नुपर्छ। आखिर फेरि पनि मुलुकलाई दक्ष र अनुभवी कामदार/कर्मचारी चाहिन्छ नै। यही वास्तविकतालाई ध्यानमा राखेर सरकारले थला परेको पर्यटन क्षेत्रलाई उकास्ने नीति तथा योजना तत्काल ल्याउनु उपयुक्त हुन्छ।
प्रकाशित: १७ फाल्गुन २०७८ ०२:५३ मंगलबार