सम्पादकीय

आन्तरिक लोकतन्त्रको अभ्यास

मुलुकका प्रमुख मात्र होइन, साना राजनीतिक दलसमेत यतिबेला आन्तरिक तयारीमा जुटेका छन्। सबैजसो महाधिवेशन गर्दैछन्। कतिपय साना दलले समेत यहीबेला महाधिवेशन सम्पन्न गरेर आगामी गन्तव्यका निम्ति सक्रिय हुँदैछन्। खासमा राजनीतिक दलहरू आन्तरिक लोकतन्त्रको अभ्यासमा सक्रिय हुनुपर्छ।

आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै मुलुकको बृहत्तर हितका निम्ति तिनले आफूलाई कटिबद्ध तुल्याउनुपर्ने आवश्यकता अहिले छ। प्रमुख दलहरूको अहिले महाधिवेशन गरेर आगामी संघीय संसद्, प्रदेश र स्थानीय निर्वाचनका निम्ति तत्पर भएको देखिन्छ। यसै पनि अहिले यो समयलाई उपयोग गर्नुपर्ने उनीहरूले महसुस गरेका हुन्। योबेला आन्तरिक तयारी गरिसकेपछि आगामी दिनका निम्ति उनीहरूले आफूलाई अग्रसर गराउन सक्नेछन्।

सत्तारुढ नेपाली कांग्रेस, प्रमुख विपक्षी नेकपा (एमाले) मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत यसमा सक्रिय भएका छन्। अन्य सानातिना दलले पनि आफूलाई महाधिवेशन गरेर तयारी अवस्थामा राखेका छन्। दलको महाधिवेशन यसै पनि कानुनी प्रावधान पूरा गर्नका निम्ति पनि गर्नैपर्ने हुन्छ। भोलि निर्वाचनका बेला प्रक्रिया नपुगेका दलको उम्मेदवारी खारेजी हुनेलगायतका परिस्थिति आउन सक्छन्।

हाम्रो लोकतान्त्रिक अभ्यासमा अझै धेरै जटिलता देखिइसकेका छैनन् जुन अन्य मुलुकमा देखिन्छन्। आफ्ना सम्भावित प्रतिस्पर्धीलाई परास्त गर्न अनेकन कानुनी हथकण्डा प्रयोग गरेको देखिन्छ। हामीकहाँ पनि क्रमशः यस्ता तिकडमको प्रयोग हुने दिन टाढा छैन। यसकारण पनि दलहरूले आफूलाई कानुनतः ठीक अवस्थामा राख्नुपर्ने अवस्था छ।

हामीकहाँ प्रमुख दलको महाधिवेशन भन्नेबित्तिकै नेतृत्वमा बढ्ता जोड दिने गरेको देखिन्छ। महाधिवेशनमा दलले आगामी दिनमा लिने नीति मात्र होइन, मुलुकको अग्रगमन र आर्थिक प्रगतिका निम्ति चाल्ने कदमबारे कमैमात्र चर्चा हुन्छ। कुनैबेला दलहरूको बढ्ता ध्यान राजनीतिक दर्शनतर्फ देखिन्थ्यो।

त्यो अति राजनीतीकरणको समय थियो। तिनले कतिपय कम  महत्त्वका विषयमा समेत रौंचिरा व्याख्या र विश्लेषण गर्थे। खासगरी वामपन्थी दलहरूको समय यस्तै विषयमा बढी जाने गरेको हो। भारत, अमेरिकालगायतका मुलुकलाई हेर्ने दृष्टिकोणदेखि नेपाल अर्ध–सामन्ती,अर्ध–औपनिवेसिक हो/होइन भन्नेसम्मका विषयमा तिनले ध्यान दिन्थे।

यस्ता विषयमा भन्दा बढी ध्यान मुलुकको विकासमा अहिलेसम्म गरिएका प्रयास र आगामी दिनमा कस्तो नीति अवलम्बन गरिन्छ भन्ने विषयमा तिनको ध्यान कमै हुने गरेको हो।

वास्तवमा दलको महाधिवेशनको मुख्य केन्द्रमा मुलुकको लोकतान्त्रिक पद्धतिको उन्नयन र आगामी दिनमा गरिने समृद्धि यात्रा हुनुपर्छ। दलहरूले आगामी पाँच वा दश वर्षमा मुलुकमा कति लगानी गरिन्छ र विकासको गन्तव्य के हुन्छ भन्ने खाका महाधिवेशनमा दिन सक्नुपर्छ।

यसरी महाधिवेशनबाट पारित नीतिकै आधारमा आगामी निर्वाचनका बेला घोषणापत्र बनाइ निर्वाचनमा विजयी भएपछि त्यसको कार्यान्वयनमा ध्यान पुग्न सक्नुपर्छ। अहिलेसम्मको अभ्यास हेर्दा विरलै यस्तो भएको छ। यसपटकको महाधिवेशनमा विशेषगरी कांग्रेस र एमालेले यस्तो अभ्यास गरेर अरूलाई समेत बाटो देखाउन सक्नुपर्छ।

प्रमुख दलहरूको आन्तरिक लोकतन्त्रको अभ्यास अहिलेसम्म उम्दा देखिन सकेको छैन। सकेसम्म युवा नेतृत्वलाई आगामी दिनमा दलमा स्थापित गर्दै आगामी दिनमा सरकार बनाउँदा पनि युवाहरू पुग्ने गरी अभ्यास भएको देखिँदैन। तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा विद्यार्थी जीवनमा हुँदा हाम्रा अहिलेका कतिपय नेता राजनीति गर्दै थिए।

अहिले ओबामा राष्ट्रपतिका दुई कार्यकाल पूरा गरी अवकास जीवनमा छन् तर हाम्रा नेताहरूले अवकास लिने कल्पनासमेत गरेका छैनन्। आगामी नेतृत्व स्थापित गर्न नसक्ने अहिलेको नेतृत्व यथार्थमै असफल हो।

सफल नेतृत्व त्यही हो जसले आगामी नेतृत्वका निम्ति मार्गप्रशस्त गर्न सक्छ। त्यसैले दलहरूको ध्यान युवा नेतृत्व स्थापित गर्नेतर्फ जान सक्नुपर्छ। यसले मात्र मुलुकलाई अग्रगमनको बाटोमा लैजान सक्छ। अहिलेसम्मको राजनीतिक नेतृत्वले समयका क्षय गर्नेबाहेक कुनै उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

दलहरूले राजनीतिक शुद्धीकरणका निम्ति आफ्नो आर्थिक पारदर्शितामा ध्यान दिन सक्नुपर्छ। महाधिवेशनका निम्ति जसरी खर्च भइरहेको छ। त्यसको स्रोत प्रष्ट पार्न सक्नुपर्छ। त्यसैगरी आगामी निर्वाचनमा पनि तिनले त्यसैगरी खर्च गर्नुपर्ने हुन्छ। यसरी आउने खर्चको निम्ति जुन स्रोत प्रयोग हुन्छ, त्यसले नै गलत काम गर्न दल र नेताहरूलाई बाध्य पार्छ।

दलको आन्तरिक खर्चका निम्ति राज्यबाटै कोषको व्यवस्था गर्ने, त्यसका निम्ति निर्वाचनमा पाएको मतको अनुपातलाई प्रयोग गर्न सकिन्छ। यसो भयो भने आर्थिक पारदर्शिता कायम गर्न सहज हुन्छ। आर्थिक पारदर्शिता नभएका कारण मुलुक अहिले ‘दलाल अर्थतन्त्र’ को चपेटामा पर्न थालेको छ। मेहनत नगरी प्राप्त हुने रकम र दलालीबाटै सबै काम हुने अहिलेको व्यवस्थाले सिंगो मुलुकलाई छायाँ अर्थतन्त्रमुनि राख्न थालेको देखिन्छ। यो अवस्थामा सुधार ल्याउनु अहिलेको आवश्यकता हो।

लोकतन्त्र त्यतिबेला मात्र शुद्ध हुन्छ जतिबेला यसलाई पारदर्शी हिसाबले चलाइन्छ। त्यति मात्र होइन, नेतृत्व निर्माणमा पनि त्यत्तिकै सजग हुनुपर्छ। आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै देशलाई एउटा उम्दा लोकतान्त्रिक राज्यका रूपमा रूपान्तरित गर्नुपर्ने हुन्छ। त्यसका निम्ति दलहरू प्रमुख कर्ता हुन्छन्। दलहरूको पारदर्शी व्यवहार, त्यसका नेताहरूको निस्वार्थ सेवा, आमनागरिकको मेहनती स्वाभावबाट मात्र देशलाई अगाडि बढाउन सहज हुन्छ।

त्यसैले अहिले महाधिवेशनको तयारीमा रहेका दलहरूले आगामी दशकका निम्ति आफ्नो ‘भिजन’ प्रष्ट पार्नु आवश्यक छ। देशका निम्ति तत्पर नेतृत्व निर्माण गर्न पनि सबैको ध्यान जान सक्नुपर्छ। यसो भयो भनेमात्र मुलुकको लोकतन्त्र सक्षम भई अगाडि बढ्न सक्ने देखिन्छ।

प्रकाशित: ८ मंसिर २०७८ ०१:३८ बुधबार

सत्तारुढ नेपाली कांग्रेस प्रमुख दलहरू