सम्पादकीय

विदेशको विकल्प

वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेशमै रोजगारी अवसरको प्रतीक्षामा छन्। कोरोना महामारीका कारण देश फर्कन नपाएका कैयन् युवा स्थिति सहज हुनासाथ स्वदेश फर्कने छन्।

विदेश गएर फर्केपछि देशमै केही गरौँ भन्ने चाहना भएका कैयन् युवा पनि अवसरको खोजीमा छन्।युवाहरूलाई वैदेशिक रोजगारीको विकल्प दिन अब ढिला भइसकेको छ।उनीहरूले देशमै बसेर रोजगारी पाउने हुन् भने त्यो अवसरलाई बढ्ता उपयोग गर्ने चाहना युवामा देखिन्छ।

घरकै ढिँडो/रोटो खाएर यतै काम गर्न पाउनुको महत्त्व धेरै छ। वैदेशिक रोजगारीका कारण मुलुकले विप्रेषण पाउने गरे पनि यसको सामाजिक मूल्य धेरै छ। वैदेशिक रोजगारीमा गएका परिवार सदस्यबीचको विछोड धेरै पीडादायी छ। त्यो पीडाबाट जोगाउन पनि यहीँ रोजगारीको अवसर खुल्नुपर्छ।

देशमै कुनै विकल्प नपाउँदा विदेश जानु स्वाभाविक हो। यो बाध्यताको छनोट हो।देशमै काम नपाएपछि युवाले गरून् पनि के?अहिले जस्तो कामका निम्ति युवाहरू विदेश जान बाध्य छन्, त्यो यथार्थमा सहज छैन। तिनले कठिन काम गर्दा पनि आकर्षक रकम आर्जन गर्न सक्दैनन्। रोजगारीमा जाने तयारीदेखि कामबाट फर्केसम्म तिनले गरेको अनुभव अत्यन्तै कठिन छ।

वास्तवमा देशमै उद्यमशीलताको विकास हुने वा तिनले यहीँ बसेर काम गर्ने हो भने विदेशमा कमाएभन्दा बढी आम्दानी गर्न सक्छन्। वैदेशिक रोजगारीमै जाने हो भने पनि छनोट गरेर जानु उचित हुन्छ।

जुन मुलुकमा बढी सुविधा छ र जहाँ काम गर्दा बढी कमाइ हुन्छ,त्यहाँ जान सकिन्छ। अझ सिप सिकेर त्यहीअनुसारको काम पाउने हो भने त्यसको कमाइ पनि बढी हुन्छ। अचेल चिकित्सक,नर्स,पाइलट आदि पेसाका व्यक्ति पनि यस्तो रोजगारीमा जान पाउँछन्।सिप सिकेर वैदेशिक रोजगारीमा जानुको अर्थ बेग्लै हुन्छ।

सरकारले देशभित्र रोजगारी सिर्जना गर्ने आश्वासन दिन थालेको निकै भइसकेको छ। सरकारले कोरोना महामारीलगायतका कारण स्वदेश फर्केका नागरिकलाई लक्षित गरी पुनर्एकीकरण योजना अघि सारेको भए पनि यो कार्यान्वयनमा आउन सकेन। यो कार्यक्रम कार्यान्वयनमा नआएपछि तिनले फेरि वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यात्मक कदम उठाउन सुरु गरेका छन्।

वैदेशिक रोजगारीमा भनेअनुसारको कमाइ गर्न नसकेका वा असमयमै फर्कनुपरेका व्यक्तिमा देशभित्रै उद्यम गर्ने तीव्र आकांक्षा रहेको देखिन्छ। त्यसका निम्ति सरकारले उचित कार्यक्रम अघि सार्नु आवश्यक छ। सरकारको काममा भएको ढिलाइले युवाहरूमा धैर्य गर्न सक्ने अवस्था रहँदैन।

वास्तवमा युवाहरू देशमै रहनुपर्ने अवस्था छ। अहिले देशभित्रै गर्न सकिने कैयन् काम छन्। तर बलियो पाखुरा भएका व्यक्ति जति सबै विदेश गएपछि यहाँका खेतबारी बाँझा भएका छन्।

मुलुकले बर्सेनि खाद्यान्न, तरकारी र अन्य अत्यावश्यक वस्तु विदेशबाट आयात गर्नुपरेको छ। देशभित्र खेतबारी भने बाँझा भएका छन्। यिनै युवालाई कृषिमा आकर्षित गर्न नसकिने होइन। तिनका उत्पादनले सहजै बजार पाउने हो भने देशमै बसेर तिनले मनग्गे आम्दानी गर्न सक्छन्।

देशमै उद्योगधन्दा खुल्ने र कृषि उब्जनी पनि बढ्ने हो भने चाँडै समृद्धि आउन सक्छ। अहिले देशमा विद्युत् उत्पादन पनि बढिरहेको छ। काम गर्ने जागर भएका युवा पनि छन्। तुलनात्मकरूपमा युवा जनसंख्या रहेको हाम्रो जस्तो मुलुकले उत्पादनका साधनका रूपमा रहेका युवा र देशको ऊर्जालाई उपयोग गर्न सकिन्छ।

देशको युवा शक्ति र बढ्दो विद्युत् दुवै देशमा उत्पादन बढाउनका निम्ति कच्चा पदार्थ हुन्। कच्चा पदार्थ विदेशमा निर्यात गरेर ठूलो आम्दानी गर्न सकिँदैन। यहाँको युवा शक्ति र विद्युत् शक्तिको सदुपयोग गर्न सक्ने नीति सरकारले बनाउन सक्नुपर्छ। तर अहिलेसम्मको व्यवहार हेर्दा सरकारको ध्यान युवालाई विदेश पठाउनेमा बढी देखिन्छ।

खासमा युवाहरू विदेश जान थालेपछि यहाँ कतिपय चित्त नबुझ्ने काम हुँदासमेत विरोध गर्नेको कमी देखिएको छ। युवाहरू देशमा नभएपछि सबैलाई हाइसञ्चो भएको छ। हरेक युवाले आफ्नो योग्यता र क्षमताअनुसार काम पाउने हुन् भने अहिलेजस्तो सडकमा मानिसको भीड पनि कम हुन्छ।

सबैजना कमाइ गर्नमै व्यस्त हुन्छन्। आज हामीकहाँ विशेषगरी भारतबाट रोजगारी गर्न आउने व्यक्तिको बाहुल्य देखिन्छ। ती व्यक्तिले यहाँ जे रोजगारी पाएका छन्, त्यही काम यहीँका युवाले गर्ने हो भने पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुन्छ।

वैदेशिक रोजगारीमा गएका युवाहरू अब चाँडै स्वदेश फर्कने छन्। कतिपय देशले रोजगारीका निम्ति अवसर दिन नसक्ने अवस्था आउन लागिसकेको छ। त्यो स्थितिलाई मनन् गर्दै विकल्पबारे सोच्न ढिला भइरहेको छ।

देशभित्र अहिले पनि विकास निर्माणका काममा समेत युवा जनशक्ति चाहिने अवस्था देखिइसकेको छ। यहाँ जुन स्तरमा भवनहरू निर्माण भइरहेका छन्,त्यसमा काम गर्ने सिपालु जनशक्तिको सर्वथा अभाव छ। यस्ता काममा समेत युवाले आफूलाई सिपालु बनाएर अघि बढ्न सक्छन्। व्यापार,व्यवसाय, उद्यम, ससाना कुटिर उद्योगका अनेकन सम्भावना छन्।

देशले अहिले जस्ता सामग्रीका निम्ति आफ्नो सञ्चित रकम खर्च गरेर आयात गर्नुपरेको छ, त्यसमा मात्रै पनि आत्मनिर्भर हुन सक्ने हो भने देशले प्रगति गर्न धेरै समय लाग्दैन। अतः वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी अघि सारेको पुनर्एकीकरण योजना कार्यान्वयन चाँडो हुनु आवश्यक छ। अन्य युवाका निम्ति पनि विकल्पको खोजी हुनुपर्छ।

प्रकाशित: २३ कार्तिक २०७८ ०१:१५ मंगलबार

कोरोना महामारी विप्रेषणप वैदेशिक रोजगारी विदेशको विकल्प बाध्यात्मक कदम