सम्पादकीय

शारदीय शुभकामना

शरद ऋतुको यो सुन्दर बेला वर्षभरिका उहापोहपछिको एउटा विश्राम हो। यो मौसममा पर्ने प्रमुख चाडले वर्षभरिको थकाइ मेटाउँछ। आगामी वर्षका निम्ति आशा र उत्साहको समय हो यो। मानो रोपेर फलाएको मुरी उठाउने समय पनि हो यो। कृषि जीवनमा सदैव मेहनत गर्नुपर्छ। यो समय आफन्त भेट्ने, मीठोमसिनो खाने र आराम गर्नका निम्ति निर्धारित भएको हो। दसैँ, तिहार, छठजस्ता प्रमुख चाडपर्व यही बेला पर्ने भएकाले समाजमा हार्दिकताको उभार आउने गर्छ। यी चाडलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि लिइन्छ। यस अर्थमा पनि हामीकहाँ जसरी अँध्यारो पक्ष बलवान हुन खोजिरहेको छ, यसलाई निर्मूल पार्न पनि चाडपर्वले हामीलाई प्रेरणा दिन सकून्।  

यस वर्ष विगतको भन्दा अलि बढी उत्साह समाजमा देखिएको छ। गत वर्ष कोरोना विषाणु महामारीले हामीलाई उन्मुक्त हुन दिए। यसपालि केही सहज अवस्था देखिएको छ। विशेष गरी खोपका कारण हामीलाई केही हिम्मत प्राप्त भएको छ। खोपले जनजीवनलाई सहज बनाउन धेरै भूमिका खेलेको छ। कोरोना विषाणुको प्रकृति र यसको सम्भावित असरबारे सबैले धेरथोर जान्ने अवसर पाएका छन्। त्यसै कारण धेरै लापरबाही नगरी स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउने हो भने सुरक्षित रहन सकिन्छ। यो पक्षलाई सबैले महसुस गरे भने चाडपर्वको उत्साह पछि पीडामा अनुदित हुन पाउँदैन। त्यसैले बढीभन्दा बढी व्यक्तिलाई चाडपर्व लक्षित खोप कार्यक्रम ल्याएर लाभान्वित गराउन सक्ने हो भने आगामी दिन थप सहज हुन पुग्छन्।

गएको वर्ष हाम्रा निम्ति सुखद हुन सकेन। गत वर्षका चाडपर्व हामीले एउटा त्रासको स्थितिमा बिताएका थियौँ। यो वर्ष पनि पूरै सहज स्थिति छैन। कोभिड–१९ संक्रमणका बिरामी धेरै छैनन् तर जति छन् ती सबै चाँडै निको हुन आवश्यक छ। यसले आफ्नो स्वरूप फेरिरहने र एकै जनालाई भए पनि फेरि यो फैलिने खतरा रहिरहन्छ। अतः सकेसम्म यसलाई निर्मूल पार्नेतिर हामी सबैको ध्यान जानुपर्छ। संक्रमित व्यक्ति सबैले आफू जोगिने र अरूलाई पनि जोगाउने हो भने स्थिति धेरै सहज हुन्छ। एकपटक सबैतिरबाट यो निमिट्यान्न हुने हो भने आगामी दिन हामीलाई सहज हुन्छ।  

कोरोना विषाणुका कारण धेरै परिवारले आफन्तजन गुमाएका छन्। ती परिवारको दुःख वर्षौँ वर्षसम्म रहिरहनेछ। त्यसैगरी व्यापार÷व्यवसाय बिग्रेका छन्। धेरै मानिसले आफ्नो आम्दानी गुमाएका छन्। यसले जीवन धेरै कठिन भएको छ। यो स्थितिलाई महसुस गरी आगामी दिनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने चिन्तन सरकारबाट हुन आवश्यक छ। प्रत्येक नागरिकले यो स्थितिबाट आफूलाई निकाल्न उत्तिकै प्रयास गर्नुपर्छ। यी विषम परिस्थितिबाट गुज्रिएका हाम्रा निम्ति यो पर्वको समय प्रेरक बन्न सकोस् भन्ने कामना गर्नु उत्तिकै जरुरी छ।

एउटा संक्रमण आउँदा कसरी सिंगो समाज, देश र विश्व आक्रान्त बन्दोरहेछ भन्ने चेत पनि हामीलाई आएको छ। विश्व यसरी जोडिएको रहेछ कि अलग गर्नै सकिँदैन। विश्वको एक कुनामा आएको समस्याले अर्को कुनालाई पनि उत्तिकै ग्रस्त पार्छ। कोरोना महामारीबाट विश्वकीकरणलाई बुझ्न पनि मद्दत गरेको छ। यसले कसरी धनी मुलुकहरू आफ्नै स्वार्थबाट प्रेरित छन् भन्ने बुझ्न पनि मद्दत गरेको छ। धेरै धनी व्यक्तिहरू योबीच अरू धनी भएका छन्। तर गरिब झन् गरिब भएका छन्। विश्व परिस्थिति यसरी अगाडि बढिरहेको हुँदा यसलाई कसरी कमजोर वर्गको पक्षमा गराउने भन्ने चिन्तन पनि उत्तिकै आवश्यक छ।  

भूकम्प आउँदा कुनै एक क्षेत्र प्रभावित हुन्छ। तर महामारीले विश्वलाई एकसाथ प्रभावित गर्न सक्ने भएकाले आफूलाई मात्र होइन, संसारलाई एक ठान्ने प्रवृत्ति विकास आवश्यक छ। त्यसै हाम्रा पुर्खाले वशुधैव कुटुम्बकम् भनेका होइनन्। आज विश्व एउटा परिवार भएको सबैले बुझिसकेका छन्। यस्ता चाडपर्व आफू, परिवार, समाज, राष्ट्र र विश्वलाई एकताको आँखाले हेर्ने समय हुन्। आज महामारीका नयाँ स्वरूपले हामीलाई समस्यामा पार्दै गएको छ। यही स्थिति वातावरणमा आएका समस्याले पनि ल्याइरहेको छ। वातावरण संरक्षणका क्षेत्रमा पनि यस्तो चाडपर्वले सोच्न बाध्य पार्ने बेला भएको छ। जलवायु संकटका रूपमा आइरहेका भावी समस्यालाई कसरी समाधान गर्ने भन्ने सोच जरुरी छ।  

‘या देवी सर्वभुतेषु शक्ति रूपेण संस्थिता’ भन्दै आराधना गर्ने यो समयले सबैलाई सद्बुद्धि प्रदान गर्न सकोस्। समाजका सीमान्त वर्गको उत्थानतिर ध्यान पुग्न सक्यो भनेमात्र यस्ता चाडको सार्थकता महसुस हुन्छ। सिंगो समाजमा खुसियाली छाउने काम गर्न यसले प्रेरणा दिन सकोस्। मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ। संविधानले यसलाई ‘समाजवाद उन्मुख’ भनेको छ। समाजवाद त्यतिबेला मात्र सम्भव छ जतिबेला सबैले बाँच्न पाउने अधिकार सुनिश्चित हुन्छ। बाँच र बाँच्न देऊको मूल मर्मलाई आत्मसात गर्ने समय पनि हो यो। बडादसैँ २०७८ को उपलक्ष्यमा सबैमा स्वास्थ्य, समृद्धि र सुखको कामना गर्छौँ।

प्रकाशित: २६ आश्विन २०७८ ०३:१० मंगलबार

सम्पादकीय शारदीय शुभकामना