सम्पादकीय

अर्थतन्त्रमा आशा

करिब दुई वर्षदेखि कोभिड–१९ महामारीको चपेटामा मुलुकको अर्थतन्त्र परे पनि यसको तस्बिर साह्रै खराब देखिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अर्थतन्त्रको परिसूचक हेर्दा कोभिड महामारीले सबै क्षेत्रमा धेरै प्रभाव पारेको देखिएको छैन। कोभिड आक्रान्तमा आम सर्वसाधारण जति परेका छन्, त्यसको तुलनामा अर्थतन्त्रमा समस्या कम देखिएको छ। मूल्य वृद्धि, आयात निर्यात व्यापार, रेमिटेन्स आय, शोधनान्तर स्थिति, कुल विदेशी विनिमय सञ्चिति, बैंकमा निक्षेप संकलन र निजी क्षेत्रमा गएको कर्जा लगानी लगायत परिसूचक अघिल्ला वर्षभन्दा केहीमा राम्रा र केहीमा कमजोर देखिएका छन्। कोभिडले केही क्षेत्रमा सकारात्मक प्रभाव पारेको पनि छ।

कोभिडको मारमा परेका सर्वसाधारणलाई गत वर्ष मूल्य वृद्धिले चापेको छैन। गत वर्षभर मूल्यवृद्धि ३.६० प्रतिशत मात्र छ। विगत वर्षहरूमा औसतमा पाँच प्रतिशत हाराहारीमा मूल्यवृद्धि हुने गरेको थियो। यसलाई हेर्दा गत वर्षको मूल्य वृद्धिदर न्यून हो। एकातिर, सरकारले कोभिडमा सर्वसाधारणलाई कुनै राहत नदिएका बेला कम्तीमा न्यून मूल्यवृद्धिले थोरै भए पनि सहयोग पुगेको छ। अर्कोतिर, सरकारले जतिसुकै प्रयास गरे पनि आयात दर रोक्न सकेको छैन। गत वर्ष पनि विदेशी सामानको आयात २८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १५ प्रतिशत हाराहारीले घटेको थियो। मुलुकमा गत वर्ष १५ खर्ब ३९ अर्ब रूपैयाँका वस्तु आयात भएका छन्। अर्कोतिर निर्यातको सवालमा भने गत वर्ष सुखद रहेको छ। अघिल्लो वर्ष एक प्रतिशत हाराहारीमा मात्र बढेको निर्यात यो वर्ष ४४ प्रतिशतले बढेको छ। गत वर्ष एक खर्ब ४१ अर्ब रूपैयाँ बराबरका वस्तु निर्यात गरिएको छ। मुलुकबाट डेढ खर्ब हाराहारीको निर्यात भएको यो पहिलो वर्ष हो।

गत वर्ष पनि मुलुकको कुल व्यापार घाटामा सुधार आउन सकेन। गत वर्ष कुल व्यापार घाटा १३ खर्ब ९० अर्ब रूपैयाँको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशतको वृद्धि हो। कोभिड– १९ महामारी सुरु भएको वर्ष आयात उच्चदरले घटे पनि गत वर्ष फेरि विगत वर्षहरूकै हाराहारीका दरले बढेको छ। वैदेशिक व्यापारमा उच्च घाटा भएकै कारण यसको असर मुलुकको शोधनान्तर स्थिति र चालू खातामा परेको छ। अघिल्लोको तुलनामा गत वर्ष शोधनान्तर बचतमा गिरावट आएको छ भने चालू खाता घाटा पनि बढेको छ। अघिल्लो वर्ष २ खर्ब ८२ अर्बमा रहेको शोधनान्तर बचत गत वर्ष एक अर्ब २३ करोडमा झरेको छ। यस्तै चालू खाता तीन खर्ब ३३ अर्बले घाटामा छ।

मुलुकमा विदेशी विनिमय सञ्चितिको अवस्था नराम्रो नभएकाले व्यापार घाटा बढे पनि तत्कालै कुनै समस्या हुने देखिँदैन। २०७७ असारमा १४ खर्ब १ अर्ब ८४ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेकामा गत वर्षभरि यसमा ०.२ प्रतिशतले मात्र कमी आएको छ। गत असारसम्म मुलुकसँग १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी विनिमय छ। विदेशी विनिमयमा ठूलो चाप नआउँदासम्म उच्च व्यापार घाटा भए पनि बढी समस्या आउने छैन।

सरकारले दुई दुईपटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि त्यसको प्रभाव वैदेशिक लगानी वृद्धिमा देखिएको छैन। गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ। अघिल्लो वर्ष १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। गत वर्ष यसमा तीन करोड रूपैयाँ मात्र थपिएको छ। यो तथ्यांकले वैदेशिक लगानी ल्याउन सरकार चुकेको प्रस्टै देखाउँछ।  

कोभिडका कारण धेरै क्षेत्रमा असर परे पनि केही क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। त्यसमध्ये एउटा इ–कमर्स बढ्नु हो। आम जनता बाहिर निस्कने वातावरण कम भएपछि गत वर्ष एक्कासि डिजिटल कारोबार बढेको छ। सरकार र वित्तीय संस्थाले लामो समयदेखि डिजिटल कारोबारमा जोड दिँदै आएका थिए। तर, कारोबार खासै बढन सकेको थिएन। गत वर्षको वृद्धिले आगामी सम्भावनालाई झनै बढाएको छ। गत एक वर्षमा नै इ–कमर्समार्फत आठ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको देखिएको छ। यस्तो कारोबारले सेवा छिटो हुने मात्र नभएर आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै सहयोग पु¥याउँछ। कोभिड कालमा सानासाना घरायसी सामानदेखि खाद्यान्न लगायत विद्युतीय सामान खरिद समेत अनलाइन कारोबारबाट गरिएको छ।  

कोभिडका कारण सकारात्मक प्रभाव परेको अर्को क्षेत्र हो, रेमिटेन्स। रेमिटेन्स आय अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले बढेको छ। अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढेर गत आवमा नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटेन्स आयमा बढोत्तरी हुनुमा विगतको अवैध बाटो अहिले वैध भएर आएको विश्वास लिइएको छ। वास्तवमा देशमा भित्रिएको रेमिटेन्स बढेको छैन। तर वैध बाटो भएर आएको तथ्यांक मात्र बढेको हो। विगतमा कुल रेमिटेन्सको ३० प्रतिशत हाराहारी हुन्डीमार्फत आउने अनुमान गरिएको थियो। कोभिडका कारण विदेशमा रहेका हुन्डी कारोबारीका प्रतिनिधि नेपाली कामदार कार्यरत ठाउँमा सजिलै जान सक्ने वातावरण छैन। यस्तोमा अधिकांश कामदार बैंकिङ प्रणालीमार्फत मात्र रेमिटेन्स पठाउन बाध्य छन्।

कोभिड महामारीले अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदरलाई ऋणात्मक बनाएको थियो। गत वर्ष भने आर्थिक वृद्धिदरमा झिनो भए पनि सुधार आउने देखिन्छ। सरकारले पछिल्लोपटक करिब ४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ। तर, यो हाराहारीमा नभए पनि ऋणात्मक हुने वातावरण भने देखिँदैन। अहिले राष्ट्र बैंकले गत आर्थिक वर्षको अर्थतन्त्रको बाह्य क्षेत्रसहित एउटा पाटोको तस्बिर बाहिर ल्याएको छ। अबका केही महिनामा सरकारले पनि गत वर्षको यथार्थ तथ्यांक सार्वजनिक गर्नेछ। गत वर्ष सरकारले पुँजीगत खर्च समयमा गर्न सकेको छैन। कोभिड प्रभावित पर्यटन, घरेलु तथा साना उद्योग व्यवसाय लगायत धेरै क्षेत्रलाई चलायमान गराउन सकेको छैन। बेरोजगारीको समस्या जस्ताको तस्तै छ। यिनै कारणले गत वर्ष पनि अर्थतन्त्रमा कोभिडको प्रभाव कायमै देखिने निश्चित छ। 

प्रकाशित: १३ भाद्र २०७८ ०२:५८ आइतबार

सम्पादकीय अर्थतन्त्रमा आशा