सम्पादकीय

खोपको खोजी

कोभिड–१९ विरुद्धको खोपको महत्व कति छ भन्ने कुरा बुझ्न सबै नागरिकलाई यो उपलब्ध गराइसकेका मुलुकलाई हेरे पुग्छ। समयमै खोप लगाएका व्यक्तिमा कोरोना विषाणुबाट सिर्जित महामारीबाट जीवन जोगिएको छ। खोप लगाइसकेका व्यक्तिको जीवन रक्षा भएका कारण पनि यो अत्यावश्यक वस्तु बनेको छ। बिरामी हुँदा पनि गम्भीर अवस्थामा पुग्नबाट यसले जोगाएको छ। पछिल्लो पटक चर्चामा रहेका स्वरूप डेल्टाका निम्तिसमेत खोप बढ्ता प्रभावकारी भएको जानकारी सार्वजनिक भइरहेको छ। यसै विषयमा जानकार व्यक्तिहरूले विभिन्न माध्यम प्रयोग गरी बताइरहेका छन्। हाम्रो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि खोपको महत्व राम्ररी बुझेको महसुस गर्न सकिन्छ। उनले सरकारको प्राथमिकताबारे बताउँदा खोपलाई नै अघि सारेका कारण यसको आवश्यकता बुझेको बुझ्न सकिन्छ।  

कोरोना महामारी सिर्जित संक्रमणको व्यवस्थामा पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको सरकार निकै कमजोर देखिएको हो। पछिल्लो दिनमा आएरमात्र खोप केही हदसम्म सहज भएको छ। अहिले सरकारले लगाइरहेको खोपको जोहो भने त्यही सरकारले गरेको थियो। खोप व्यवस्थापनमा पनि ओली सरकार कमजोर रहेको हो। अहिलेसम्म कुल जनसंख्याको चार प्रतिशतले मात्र खोप लगाउन पाएका छन्। बेलैमा खोप लगाउन पाएको भए दोस्रो लहरबाट धेरै आक्रान्त हुने संख्या घट्ने थियो। त्यसैगरी तेस्रो र चौथो लहरको चर्चा भइरहेको यो बेलामा खोपलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यात्मक अवस्था अहिले छ।  

वास्तवमा खोपको खोजी त्यतिबेलै सुरु हुनुपथ्र्यो जतिबेला अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरू त्यसलाई जम्मा गर्न लागिरहेका थिए। हामीले पनि मुलुकको आवश्यकता महसुस गरी पहिल्यै तयारी गर्न सकिन्थ्यो। हाम्रो जस्तै हैसियत भएका कतिपय मुलुकले यसको तयारी पहिल्यै गरेका हुन्। त्यसैले उनीहरू सामान्य अवस्थामा पुगिसकेका छन्। हामीकहाँ आइसकेको खोपसमेत व्यवस्थित ढंगले नलगाएको तथ्य यतिबेला सार्वजनिक हुन थालेको छ। हामीलाई प्राप्त खोपमध्ये केही दुरुपयोग भएको र केहीलाई भने समयमै प्रयोग नगरी म्याद गुजारेको हुन सक्ने अवस्था पनि अहिले सतहमा देखिएको छ। विशेष गरी कोरोनाविरुद्ध भारतमा उत्पादित कोभिसिल्ड नाम दिइएको अक्स्फोर्ड अस्ट्राजेनेका खोपको झण्डै तीन लाख मात्रा कसलाई प्रयोग गरियो भन्ने विवरण सरकारले सार्वजनिक गर्न सकेको छैन। यो दुरुपयोग भएको हो वा बेलैमा नलगाएका कारण म्याद गुज्रिएका कारण समावेश नगरिएको हो ? प्रष्ट पार्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दायित्व हो।  

खोप यतिबेला जीवनदायिनी तत्व बनेर आएको छ। यसको प्रत्येक मात्राको सदुपयोगको सुनिश्चितता अहिलेको आवश्यकता हो। कोभिसिल्ड मात्रै मुलुकमा २५ लाख ८२ हजार ८ सय मात्रा आएको देखिन्छ। त्यसमध्येको तीन लाख मात्राको हिसाब नदेखिनु आफैँमा चिन्ता लाग्ने विषय हो। त्यसमा पनि यस्तो दुर्लभ स्थितिमा रहेको खोप म्याद नाघेर खेर फालिएको हो भने यो अक्षम्य अपराध हो। खोप नपाएर मानिसले अनाहकमा जीवन गुमाउनुपरेको छ। भइरहेको खोपको व्यवस्थापन ठीक नहुनु आफैँमा चिन्ता लाग्ने विषय हो। यसमा सरकारको ध्यान जानु आवश्यक छ। यस विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्नु जरुरी छ।  

खोपको हिसाबमा नेपाल निकै पछि पर्नु पर्‍यो। यसै कारण कोरोनाबाट हुने मृत्यु र संक्रमणको चपेटामा पनि हामी नराम्ररी पर्‍यौँ। भारतबाट खोप ल्याउने क्रममा त्यहाँको अदालतले रोक लगाउँदा पनि दुई देशबीच खुला सीमा रहेको तथ्यसहित कूटनीतिक तहबाट प्रयास गर्न नसकिने थिएन। नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको धारणा राखेर नथाक्ने राजनीतिक नेतृत्वले यति भए पनि गर्न नसकिने थिएन। बल्ल देउवाले विश्वासको मत लिएपछि बधाई सन्देश दिन टेलिफोन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले भुक्तानी गरिसकेको १० लाख मात्रा खोप दिन आश्वासन दिएका छन्।

चीन र भारत दुई मुलुकबीचको नेपालले खोपमा पछि पर्नुपर्ने अवस्था कूटनीतिक कमजोरीकै कारण सिर्जना भएको हो। ओली सरकारले आफूलाई ‘देखिने र सुनिने’ भएको बताउने गरे पनि वास्तवमा नेपाल नदेखिने र नसुनिने अवस्थामा पुगेको छ। भारतसँगकै सम्बन्धमा पनि राजनीतिक तहबाट ओर्लिएर जासुसीको तहमा झरेको छ। ओलीले मध्यरातमा भारतीय जासुसी संयन्त्र ‘रअ्’ प्रमुखलाई भेटेर सेटिङ गरेपछिको स्थिति मुलुकले महसुस गरेकै छ। खोपको गर्नैपर्ने व्यवस्थापन हुन नसकेको र अनाहकको राजनीतिक खिचातानीमा मुलुक प्रवेश गरेका कारण खोपको आवश्यक व्यवस्था हुन सकेन। पछिल्लो चरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको छवि सुधार गर्न खोपका निम्ति विभिन्न राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई पत्र लेखे पनि त्यसले खासै फरक पारेन। नेपाल खोप किन्न तयार भएपछि मात्र बल्ल चीनबाट खोप आउन थालेको हो। त्यसैगरी अमेरिकाले अहिले दिएको खोपका कारण मात्र अभियान सुरु भएको छ।  

प्रधानमन्त्री देउवा अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगै खोप केन्द्रको भ्रमणमा पनि गएका छन्। यसले खोपको आवश्यकता महसुस गर्ने र यसलाई व्यवस्थित ढंगले लगाउने काम सुरु हुने अपेक्षा भइरहेको छ। तैपनि अहिले खोप लगाउने केन्द्रहरूमा व्यवस्थापन राम्ररी हुन सकेको छैन। खोप केन्द्रको भीडकै कारण संक्रमण फैलिएला कि भन्ने डर भइरहेको छ। यसलाई व्यवस्थित बनाउन केन्द्र बढी बनाउने वा अनलाइन वा अन्य तरिकाले रजिस्ट्रेसन गराइ अभियान अगाडि बढाउन सकिन्छ। अहिलेको आवश्यकता सबैजसो नागरिकलाई खोप लगाउने नै हो। त्यसो भयो भने सहजै हामीले स्थितिबाट पार पाउन सक्छौँ। अहिले देखिएको अन्योलको अवस्था पनि कम हुन्छ। सरकारले धमाधम खरिद गर्ने वा अन्य आवश्यक व्यवस्था मिलाउनुपर्छ। अब राजनीतिक झमेला पनि धेरै नहुने हुँदा खोपमै सरकारको ध्यान जानु उचित हुन्छ।

प्रकाशित: ६ श्रावण २०७८ ०२:२१ बुधबार

सम्पादकीय खोपको खोजी