सम्पादकीय

शताब्दी उपलब्धि

चिनियाँ कम्युनिस्ट पार्टी यही जुलाइ १ अर्थात् असार १७ देखि सय वर्ष पुगेको छ। विगत ७२ वर्षदेखि जनवादी गणतन्त्र चीनको शासनसत्ता अविच्छिन्नरूपमा सञ्चालन गर्दै आएको यो पार्टीले आफ्नो शताब्दी यात्रालाई विभिन्नरूपमा मनाउँदै आएको छ। यसै क्रममा मंगलबार नेपाललगायत विश्वका विभिन्न मुलुकका १ सय ६० राजनीतिक दलका नेतासँग चिनियाँ राष्ट्रपति सि चिनफिङले भर्चुअल राजनीतिक सम्मेलन गरेका छन्। कम्युनिस्ट पार्टी सत्तामा आएपछि यसले गरेका प्रगतिबारे विश्वलाई जानकारी गराउनु यसको उद्देश्य रहेको छ। यस पटकको सम्मेलनमार्फत् चिनियाँ नेताले जनताको आवाज सुन्न आग्रह गरेका छन्। जनताको आवाज सुन्ने र त्यो आवाजलाई सम्बोधन गर्ने हो भने जस्तोसुकै शासनसत्ताले प्रगति गर्न सक्छ भन्ने सन्देश पनि हो यो।

चिनियाँ कम्युनिस्ट पार्टीको सफलताले विश्वलाई राजनीतिक मार्ग साध्य होइन साधन मात्र हो भन्ने सन्देश दिएको छ। जुनसुकै वाद वा सिद्धान्त अपनाए पनि अन्ततः त्यसले विकास, निर्माण र जनसन्तुष्टिमा ध्यान दिन सक्यो भने निःसन्देह देशको गति उकालो लाग्छ। चीन निरन्तर आफ्नो प्रयासबाट विश्वमा आफ्नो वर्चस्व कायम गर्न सक्ने अवस्थामा आइपुगेको छ। चिनियाँ नेताले चाहँदैमा विश्वभरिका राजनीतिक दलका नेता बैठकमा त्यत्तिकै आएका होइनन्। आफूलाई प्रमाणित गरिसकेका र विश्वमा विकसित मुलुकका रूपमा आफूलाई स्थापित गर्न सफल भएपछि स्वाभाविकरूपमा चीनका सफलता अन्य मुलुकका निम्ति पनि प्रेरक हुन्छन्।  

हरेक मुलुकले आफ्नो देशको आवश्यकता र परिवेशलाई ध्यानमा राखेर राजनीतिक प्रणाली अपनाउँछन्। कसैको जस्तो राजनीतिक सिद्धान्त अपनाएकै भरमा विकास हुने पनि होइन। कुनैबेला संसारका करिब ३५ मुलुकमा कम्युनिस्ट पार्टीले आफ्नो शासनसत्ता सञ्चालन गर्दै आएको थियो। तर धेरै ठाउँमा ती असफल भए। कम्युनिस्ट पार्टीले आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा, भ्रष्टाचारमा चुर्लुम्म डुब्दा र जनतासँग गरेका प्रतिबद्धता पूरा नगरेपछि स्वतः समाप्त भएका छन्। चीनको मामलामा पनि पश्चिमा संसारले त्यही अपेक्षा गरेको हो। कुनै पनि बेला त्यहाँका जनताले विद्रोह गर्छन् र सत्ता ढल्छ भन्ने तिनको प्रतीक्षालाई यथार्थमा परिणत हुन चिनियाँ नेतृत्वले दिएन। तिनले निरन्तर आफूलाई समृद्धि यात्रामा अग्रसर गराए। जनताको आवाज सुन्न गरिएको सिको आग्रह पनि त्यही हो।  

सिले २०७६ असोजमा नेपाल भ्रमणका क्रममा आफ्नो मुलुकमा काम सुरु गरेपछि पूरा गर्ने गरेको अनुभव सुनाएका थिए। हामीकहाँ योजना/आयोजनाको थालनीका क्रममा रहेको उत्साह त्यसलाई पूरा गर्ने क्रममा देखिँदैन। त्यसै कारण आयोजना सुरु गरेपछि कैयन् वर्ष ढिला भइ त्यसको लागत बढ्ने गर्छ। राष्ट्र निर्माणको कामलाई गम्भीरतापूर्वक लिइ त्यसलाई पूरा गरिछाड्ने चिनियाँ अनुभव आफैँमा हाम्रा निम्ति प्रेरणाको स्रोत बन्न सक्छ। सन् १९४९ मा राज्यसत्तामा पुगेयता चिनियाँ कम्युनिस्ट पार्टीले पछाडि हेर्नुपरेको छैन। ७२ वर्षसम्म शासनमा रहेर पार्टीले मुलुकलाई कायाकल्प गर्न सकेको छ। हामीकहाँ पनि लोकतान्त्रिक मार्गमा हिँडेको पनि ७० वर्ष पुगिसकेको छ। बीचमा ३० वर्ष पञ्चायती शासन व्यवस्थालाई छाड्ने हो भने बाँकी वर्षमा यहाँ लोकतान्त्रिक प्रकृतिकै शासन व्यवस्था सञ्चालनमा छ।  

चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलतालाई लिएर यसपटक धेरैले नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा समेत तुलनात्मक चर्चा गरेका छन्। हाम्रा कम्युनिस्ट दलले किन अपेक्षित परिणाम दिन सकेनन् भन्ने चर्चा÷परिचर्चा हुनु स्वाभाविक हो। हामीकहाँ कम्युनिस्ट पार्टीको इतिहास भनेको गुट र फुटका घटनाले बढ्ता प्रेरित भएको छ। यसले मौका पाउँदा पनि काम गर्न सकेको छैन। चिनियाँ कम्युनिस्ट पार्टीकै प्रेरणाले नेपाल कम्युनिस्ट पार्टी बन्न सफल भए पनि त्यो एकता कायम हुन सकेन। यतिबेला एमाले र नेकपा (माओवादी केन्द्र) का रूपमा त्यो शक्ति विभाजित भइसकेको छ। एमालेमै पनि अहिले त्यो एकता बाँकी छैन।  

वास्तवमा राजनीतिक प्रणाली जस्तोसुकै भए पनि त्यसलाई कामकाजी बनाउन सकिन्छ। हामीले अपनाएको पद्धति भने उदारवादी लोकतान्त्रिक हो। यही प्रणालीबाट पनि सफलता प्राप्त हुन सक्छ। वैयक्तिक स्वतन्त्रता नभए पनि समग्र मुलुकको प्रगतिका निम्ति चिनियाँ अभ्यासले पनि सफलता प्राप्त भएकै छ। यसको अर्थ हामीले चिनियाँ अभ्यास अपनाउनुपर्छ भन्ने होइन। सबै मुलुकका आफ्ना विशेषता हुन्छन्। ती विशेषता, परम्परा र जनमतका आधारमा मुलुकलाई अगाडि बढाउन सकिन्छ। त्यसका निम्ति नेतृत्वको इमान्दार प्रयास महत्वपूर्ण हुन्छ। हामीले अपनाएको राजनीतिक प्रणाली विकास, निर्माण र समृद्धिका निम्ति झनै परिस्कृत छ। यसैको सही प्रयोगबाट अपेक्षित परिणाम हासिल हुन सक्छ।  

चिनियाँ अनुभवले राजनीतिक प्रणाली भनेको समृद्धिका निम्ति सापेक्षित पक्षमात्र रहेछ भन्ने पुष्टि भएको छ। कम्युनिस्ट राजनीतिक प्रणाली अपनाएर पनि अन्य कैयन् मुलुकले आफूलाई उठाउन सकेनन्। भारतकै पश्चिम बंगाल राज्यमा कम्युनिस्ट पार्टीको चार दशक भन्दा लामो शासन हुँदा त्यो सबैभन्दा पछि प¥यो। त्यसैले कम्युनिस्ट पार्टी हुँदैमा विकास हुने भन्ने पनि छैन। त्यसैगरी उदार लोकतान्त्रिक शासन व्यवस्था अपनाउने कैयन् मुलुकको अवस्था पनि उत्तिकै कमजोर छ। सबै अमेरिका वा बेलायत बन्न सक्दैनन्। उदार शासन व्यवस्था, सबैको सहभागिता र सम्मानले युरोपका मुलुकलाई प्राप्त भएको सफलतालाई भने यसमा उल्लेख गर्न सकिन्छ। मुख्य कुरा सम्बन्धित देशको राजनीतिक नेतृत्व अग्रगमनका निम्ति कति प्रतिबद्ध छ र त्यसले क्रान्ति वा आन्दोलनमा गरेका प्रतिज्ञालाई कसरी आत्मसात गरेको छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ।  

चीनले अहिले आफूलाई शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा समेत अग्रणी बनाएको छ। कोरोना विषाणु संक्रमणले संसारलाई थिल्थिलो पारेको छ। यस्तो बेलामा पनि चीनले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउँदै अघि बढेको छ। विज्ञान र प्रविधिलाई आत्मसात गर्ने र त्यसैमा आधारित भएर अघि बढ्न तत्पर भएकै कारण यो सफलता प्राप्त भएको हो। कोरोना संक्रमण नियन्त्रणमा चीनले संसारलाई चमत्कृत तुल्याएको छ। यस्तो सफलता ज्ञान र अनुशासन दुवैविना सम्भव छैन। माओत्से तुङलगायत एक दर्जन भन्दा कम युवाले सन् १९२१ जुलाई १ मा सुरु गरेको पार्टीले एक शताब्दीमा गरेको यो चमत्कार विश्वका सबै राजनीतिक शक्तिका निम्ति प्रेरक बनेको छ। त्यसमा पनि नेपालका निम्ति यो एउटा गम्भीर शिक्षा बन्न पुगेको छ। चीन र भारत दुई मुलुक अग्रगामी बाटोमा लागेका छन्, हामीले पनि त्यो गति समात्न ढिला गर्नु उचित होइन।  

प्रकाशित: २४ असार २०७८ ०२:३७ बिहीबार

सम्पादकीय