विगत केही समययता नेपालमा बर्दिया राष्ट्रिय निकुञ्जको नजिकका बस्तीहरू लगायत अन्यत्र जे/जसरी बाघबाट हुने आक्रमणका घटना बढ्दै गएको छ, त्यो आफैँमा चिन्ताको विषय हो। बाघको आक्रमणका कारण अहिले निकुञ्ज आसपासका बस्तीमा डर त्रास बढेको छ। त्यस्तै अन्य स्थानमा पनि छिटपुट रूपमा बाघले मानिस माथि आक्रमण गरेको घटना बाहिर आएका छन्।
यो अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा भने स्थानीयले बाघको आक्रमण बाट जोगिनका लागि सडक किनारको झाडी सफा गर्न थालेका छन्। बाघको गतिविधि बढ्न थालेको र सडक भएर आउजाउ गर्ने यात्रुलाई संभावित आक्रमण हुन सक्ने भयकै कारण स्थानीयले सामुदायिक वनको सडक किनारमा रहेको झाडी सफाइ गर्न थालेका हुन्। त्यसै क्रममा उनीहरूले पूर्व–पश्चिम राजमार्ग किनारमा रहेका सामुदायिकवन र हसुलिया क्षेत्र जाने सडक किनारका वन क्षेत्रमा झाडी सफाइ गरिसकेका छन्।
पूर्व–पश्चिम राजमार्गको बढैपुर–राजीपुर क्षेत्रकाचारवटा सामुदायिकवनमा रहेका झाडी सफाइगरिएको हो जसमा गौरी गंगा नगरपालिका–४ स्थित हरियाली वसन्ता सामुदायिक वन, कालिका सामुदायिक वन र वडा नम्बर ८ को गौरी गणेश सामुदायिकवन, शिवशक्तिसामुदायिकवनतथा वडा नम्बर ९ को हरियाली सामुदायिक वन र शिवशंकर सामुदायिक वन छन्। सडक किनारको २५ मिटर र सामुदायिक वन क्षेत्रको २५ मिटर गरी सडक किनारको ५० मिटर क्षेत्रमा झाडी सफाइ गरिएको छ। यति सम्मकि पछिल्लो समय यो सडकखण्डमा बाघ आक्रमणका घटना बढ्न थालेपछि यो सडक भएर आउजाउ गर्न यात्रु नै डराउन थालेका थिए। अहिले सडक किनाराका झाडी सफा गरेपछि यात्रुले बाघको ओहोरदोहोरलाई टाढै बाट देख्न अवस्था बनेको छ जसले गर्दा अहिले त्यस क्षेत्रको मोटर बाटोबाट हुने आवतजावत केही हदसम्म भए पनि सहज भएको छ।
पछिल्लो समय कैलालीका विभिन्न क्षेत्रका जंगलमा बाघ निर्वाध ढंगले घुमफिर गरिरहेको भेटिन्छ। मसुरियाको बढैपुर जंगल क्षेत्रमा होस् वा लम्की चुहा नगरपालिकाको वन क्षेत्र देखि गोदावरी नगरपालिकाको चैतन्यपुर–भगतपुर क्षेत्रका सामुदायिक वनमा बाघ घुमफिर गरिरहेको पाइन्छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट क्यामेरा ट्रयापिङ गर्दा ती क्षेत्रमा बाघ देखिएको हो। त्यसो त कैलाली पुस्तौँ देखि बाघको बासस्थान भएको क्षेत्र हो भने पछिल्ला समय वन अतिक्रमण भएसँगै बाघले सुरक्षित बासस्थानको खोजीगर्ने क्रममा पनि बाघको चहलपहल बढी हुनगएको विज्ञले जनाएका छन्।
त्यतिमात्र होइन, पछिल्लो समय बाघकै संख्यापनि बढ्न गएको उनीहरूको आकलन छ। विज्ञहरूको भनाइमा एउटा क्षेत्रमा एउटा मात्रै बाघ बस्ने र संख्या बढ्दा अर्को वयस्क बाघ आफ्नो बासस्थानको खोजीमा हिँड्ने गर्छ। त्यसैले पनि बाघको आहोरदोहोर बढी भएको मान्न सकिन्छ। बाघको यो ओहोरदोहोर हुन थालेपछि त्यस्ता संभावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्ववन्यजन्तु कोषसँगको समन्वयमा क्यामेरा ट्रयापिङको काम पनि भइरहेको छ।
जे होस्, अहिले जंगली वन्यजन्तुको संभावित आक्रमणबाट जोगिन/जोगाउन स्थानीय समुदायले आ–आफ्नै स्थानबाट विभिन्न प्रयास गर्दै आएका छन्। त्यसो त पछिल्लो समय मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्वका घटनाले दुवैतर्फ क्षतिका घटना नभएका होइनन्। विशेषगरी जंगली क्षेत्रमा पूर्वाधारहरू निर्माण भएसँगै वन्यजन्तुहरू बस्ती र सडकतर्फ आउने क्रममा मानिस र बस्तीमा क्षति पुर्याउने गरेका छन् भने त्यहीकारण वन्यजन्तुहरू पनि मानवीय निशानामा पर्ने गरेका छन्। कतै बाघको आक्रमणका कारण क्षति भएका छन् भने कतिपय स्थानमा जंगली हात्तीले मानवीय बस्तीमा क्षति गराएका दृष्टान्त छन्। यसले गर्दा मुलुकका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वाअन्य स्थानमा मानव र वन्यजन्तु बीचको द्वन्द्वबाट दुवैतर्फ हुने क्षति बर्सेनि बढ्दै गइरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्रेनीदेखि कर्णालीतर्फ जाने झण्डै १४ किलोमिटर पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा बाघको ओहोरदोहोर जे/जसरी बढेको छ, त्यसले त्यस क्षेत्रबाट यात्रागर्ने जोकोहीलाई पनि चिन्तित बनाउन थालेको छ।
२०७७को वैशाख यता बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको तथ्यांकले पनि त्यस क्षेत्रमा बाघको आक्रमण एउटा प्रमुख समस्याका रूपमा रहेको देखिन्छ। अर्कोतिर यो खण्डमा सवारी साधनको ठक्करले बाघको मृत्यु भएका घटना पनि छन्। यसरी मानिस र बाघको जम्का भेट सँगै बाघले आक्रमण गर्न थालेपछि स्थानीयले भने नियन्त्रणका लागि सरकारसँग मागगर्दै आएका छन्। निकुञ्जले पनिविभिन्न सरकारी निकायसँगको समन्वयमा यो कार्य अघि बढाएपनि आक्रमणका घटनामा खासै कमीआएको छैन।
मुख्य कुरा वन्यजन्तुको आक्रमण न्यूनीकरणका लागि निकुञ्ज क्षेत्र भित्र पूर्वाधारहरू निर्माण गर्दा देखि नै ध्यानदिन जरुरी छ। निकुञ्जभित्र पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न सके यो समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ। वन्यजन्तुको बासस्थान र गतिविधिका विषयलाई ध्यान दिँदै वैज्ञानिक तथा प्राविधिक अध्ययनका आधारमा अन्डर पास र ओभर पास जस्ता संरचना निर्माण गर्ने हो भने दुवै तर्फको क्षति कम गर्न सकिन्छ। आगामी दिनमा यो पक्षमा पनि उत्तिकै ध्यान दिन जरुरी छ।
प्रकाशित: २२ चैत्र २०७७ ०३:०९ आइतबार